११५६ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र १३ , ०७:२० बजे

‘भाषाको कम प्रयोगले नै विद्यार्थी अंग्रेजीमा कमजोर हुन्छन्’

Image

– विष्णुदत्त बडु (प्रधानाध्यापक)
निङ्गलाशैनी माध्यमिक विद्यालय गोवरैया, कञ्चनपुर
शिक्षा प्रणालीमा समयानुकूल सुधार नआउँदा सामुदायिक विद्यालयको नतिजा कमजोर आउने गरेको छ । केही सामुदायिक विद्यालयले आफ्नै स्रोतसाधन प्रयोग गरेर आधुनिक ढंगबाट शिक्षण पद्दति अवलम्बन गरेपनि बाँकी सामुदायिक विद्यालय निजी विद्यालयको तुलनामा कमजोर देखिन्छन् । सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्कँदो अवस्थामा रहेको देखिन्छ । सामुदायिक विद्यालयमा प्रायः न्यून आर्थिक स्तर भएका अभिभावकका छोराछोरी पढ्ने गर्छन् ।

सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धी राम्रो नहुनुको कारण र समाधानका उपाय लगायत विषयमा भीमदत्त नगरपालिकाको गोवरैयास्थित निङ्गलाशैनी माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुदत्त बडूसँग पत्रकार मदन गिरीले गरेको कुराकानीको सम्पादित अंश :

निङ्गलाशैनी माध्यमिक विद्यालयको शैक्षिक अवस्था कस्तो छ ?
– पछिल्लो समय निङ्गलाशैनी माध्यमिक विद्यालयको शैक्षिक अवस्थामा हेर्ने हो भने खासै राम्रो प्रगति हुन सकेको छैन । माथिल्लो कक्षामा केही सुधारोन्मुख रहेपनि तल्लो कक्षामा खस्कँदो अवस्थामा नै छ । विद्यालयले जति शैक्षिक प्रगति गर्नुपर्ने हो त्यति हुन सकेको छैन, यसमा म पनि सन्तुष्ट हुन सकेको छैन ।

तपाईको विद्यालयमा शैक्षिक गुणस्तर कमजोर हुनुको कारण के हुन् त ?
– सबभन्दा पहिलो कुरा त के छ भने विद्यार्थीको आधार नै कमजोर छ । प्राथमिक तहमा पढेर आएका विद्यार्थीको आधार ज्यादै कमजोर भएकाले पढाउन समस्या भइरहेको छ । केही कमजोरी शिक्षकको पनि होला । यसमा सुधारका लागि सरोपकारवाला पक्ष र समुदायको पनि ध्यान जानु जरुरी छ ।

प्राथमिक तहबाटै शैक्षिक अवस्था सुधार गर्न सकिँदैन ?
– प्राथमिक तहबाटै शैक्षिक अवस्था सुधार गर्न त सकिन्छ, तर त्यसका के छ भने हाम्रो शिक्षाको परिपाटी अनुसार बच्चा १ कक्षामा भर्ना भयो भने १ वर्षमै २ कक्षा पढ्न पाउँछ । अर्कोतिर, के छ भने सामुदायिक विद्यालयमा विद्यार्थीको मूल्याङ्कनको पाटो निकै कमजोर छ । विद्यार्थीको शैक्षिक अवस्था जस्तो भएपनि माथिल्लो कक्षामा पठाइहाल्ने प्रवृत्ति रहेकाले पनि यसमा खासै सुधार हुन सकिरहेको छैन ।

विद्यालयको शैक्षिक गुणस्तर सुधारमा निङ्गलाशैनी माध्यमिक विद्यालयले सामुदायको सहयोग कत्तिको पाएको छ ?
– भौतिक कुरामा हामीले समुदायबाट सहयोग पाई नै राखेका छौं । विद्यार्थीका कुरा गर्दा बढीजसो निम्न तथा गरीब परिवारका बच्चाहरू मात्र सामुदायिक विद्यालयमा आउने गरेको पाइन्छ । अभिभावकले पनि विद्यार्थीलाई घरमा पढ्न त्यति प्रेरित गरेको पाइँदैन । जसले गर्दाखेरि ती विद्यार्थीलाई विद्यालयमा पढाउन पनि केही समस्या हुने गरेको छ ।

तपाईले विद्यालय र सामुदायबीचको सम्बन्ध राम्रो बनाउन के कस्तो पहल गरिरहनुभएको छ ?
– समुदायसँगको नजिकको सम्बन्धका लागि समय–समयमा अभिभावक भेला बोलाउने गरिएको छ । र, समय–समयका विभिन्न किसिमका कार्यक्रम विद्यायलले आयोजना गरिरहेको हुन्छ । अभिभावकसँग पनि विद्यार्थी विद्यालयभन्दा पनि घरमा बढी समय बिताउने भएकाले घरमा पढाइको वातावरण मिलाइदिने र पढ्न प्रेरित गराइदिन अग्रह गरेपनि त्यो प्रभावकारी हुन सकेको छैन ।

सामुदायिक विद्यालयमा पढाउने शिक्षकले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउने गरेका छन्, के आफूले पढाउने शिक्षाप्रति नै अविश्वास हो ?
– यसमा सामुदायिक विद्यालयका शिक्षकहरू नभएर अन्य सरकारी कर्मचारीले पनि निजी विद्यालयमा पढाउने गरेका छन् । यसमा म के भन्छु भने सामुदायिक विद्यालयमा पढाउने शिक्षकका छोराछोरी मात्र नभएर राज्य कोषबाट तलब खाने तथा सेवासुविधा लिने सम्पूर्ण राष्ट्रसेवक कर्मचारीले सामुदायिक विद्यालयमा नै आफ्ना छोराछोरीलाई पढाउनुपर्छ । यसले विद्यालयप्रतिको आकर्षणलाई पनि बढाउँछ ।

निङ्गलाशैनी माध्यमिक विद्यालयले कस्तो किसिमको शिक्षण पद्दति अवलम्बन गरिरहेको छ ?
– अहिले हाम्रो विद्यालयले १ देखि १२ कक्षासम्म सामान्य किसिमको शिक्षा नै दिइरहेको छ । प्राविधिक शिक्षाको विद्यालयको आफ्नै स्रोतसाधनबाट सञ्चालन गर्न सकिने अवस्था छैन । प्राविधिक शिक्षा एउटा अपरिहार्य भइसकेकाले त्यसको पहल भइरहेको छ ।

सामुदायिक विद्यालयका शिक्षकमा गैरजिम्मेवारीपन बढी देखिन्छ, के विद्यालय प्रशासन कमजोर भएर हो ?
– विद्यालय प्रशासन कमजोर वा मजबुद भन्ने कुरा विद्यालयका सम्पूर्ण शिक्षकमा भर पर्छ, विद्यालय भनेको एउटा टीमवर्क हो । टीमका सबै सदस्यको आ–आफ्नो जिम्मेवारी हुन्छ, त्यो जिम्मेवारी सबै शिक्षकले इमान्दारी साथ बहन गरिदिने हो भने विद्यालय प्रशासनले त्यसको लागि बढी मेहनत गर्नुपर्छ जस्तो मलाई लाग्दैन ।

सामुदायिक विद्यालयका मुख्य समस्या तथा चुनौती के–के छन् ?
– सामुदायिक विद्यालयका विभिन्न किसिमका समस्या छन् । शिक्षक व्यवस्थापन, भौतिक संरचनाको अभाव र सामुदायिक विद्यालयप्रतिको घट्दो आकर्षण लगातयका थुपैै्र समस्या तथा चुनौति छन् । हामै्र विद्यालयको कुरा गर्ने हो भने पनि २०३९ सालदेखि विद्यालय स्थापना भएको छ । तर, विद्यालयको नाममा अहिलेसम्म एक घुर जमिन पनि आफ्नो नाममा छैन । र, विद्यालय ओगटी राखेको सार्वजनिक जमिन पनि विद्यालय नजिकका केही स्थानीयले अतिक्रमण गरेर उपभोग गरिरहेको अवस्था छ ।

विद्यार्थीको पढाइको आधार नै कमजोर भएको हुनाले माथिल्लो कक्षामा शिक्षकले जति मेहनत गरेपनि खासै प्रगति हुन सकिरहेको छैन । भौतिक स्रोतसाधन तथा विद्यालयको विकास र विस्तारका लागि आउने विभिन्न किसिमका योजनाहरू पनि भनसुन र पावरका भरमा पहुँचवालाले पाउने परिपाटी रहेको छ । यसका लागि सरकारी पक्षले पनि अनुगमन गरेर विद्यालयका त्यसको आवश्यकता हेरेर योजनाको बाँडफाँट गरिनुपर्छ । यसमा समुदायको कुनै किसिमको ध्यान गएको छैन ।

तपाई अंग्रेजी पढाउने शिक्षक हुनुहन्छ, विद्यार्थी बढीजसो अंग्रेजीमा नै कमजोर पाइन्छन्, किन ?
– अंग्रेजी विषय भनेको एउटा अन्तर्राष्ट्रिय भाषा हो । यसको विकास गर्नका लागि हामीले बढी समय अंग्रेजी भाषाको प्रयोग गर्नुपर्ने हुन्छ । तर, हाम्रो विद्यालयमा ४५ मिनटको मात्र एउटा पिरीयड हुन्छ । त्यसमा पनि विद्यार्थीलाई ‘इङ्गलिस् टू इङ्गलिस’ पढाउँदा बुझदैनन् र नेपालीमा नै सम्झाउनुपर्ने हुन्छ । अर्कोतिर, अंग्रेजी भाषाको प्रयोेग न त घरमा हुन्छ, न विद्यालय र समुदायमा नै । अंग्रेजी भाषाको कम प्रयोगले नै विद्यार्थी अंग्रेजी विषयमा कमजोर हुन्छन् ।

विद्यालयमा राजनीतिकको प्रभाव कत्तिको हुन्छ ?
– विद्यालयमा राजनीतिक प्रभाव त एकदमै परिरहेको हुन्छ । विभिन्न राजनीतिक दलका भातृ संगठन विद्यालयमा गएर आफ्नो संगठनको कमिटी गठन गर्ने र विद्यालयमा नै आफ्नो प्रभाव जमाउन खोज्ने गरेको पाइन्छ । मलाई त के लाग्छ भने कक्षा १२ सम्मका विद्यार्थीलाई राजनीतिक संगठनमा सामेल गराउनु हुँदैन । राजनीतिक प्रभावले गर्दा शिक्षकले कुनै पार्टीलाई भोट दिँदाखेरी फलानो पार्टीको मान्छे हो भनेर हेरेको पाइन्छ । र, राजनीतिक प्रभावले पनि विद्यालयको शैक्षिक अवस्था अस्तव्यस्त छ ।

निङ्गलाशैनी माध्यमिक विद्यालयको भौतिक अवस्था कस्तो छ ?
– विद्यार्थी संख्याको कुरा गर्दा ५ कक्षासम्म न्यून विद्यार्थी रहेका छन् । माथिल्लो कक्षामा विद्यार्थीको चाप बढी र विद्यालयको भौतिक स्रोतसाधन कम भएकाले व्यवस्थापनमा पनि केही समस्या रहेको छ । कक्षाकोठाको अभावका कारणले २ समयमा विद्यालय सञ्चालन गर्नुपरेको छ । सबभन्दा ठूलो समस्या भनेको अहिलेसम्म विद्यालयको नामका जग्गा नै छैन । त्यस्तै, विद्यालयले ओगेटेको जमिन पनि नजिकका केही व्यक्तिले कब्जा गरेका छन् । यसका लागि प्रशासनसँग पनि समय–समयमा जमिनको व्यवस्थाका लागि पहल गरेपनि वेवास्ता गरेको पाइन्छ । यसलाई समाधान गर्न समुदाय र प्रशासनले जिम्मेवार भइदिनुपर्छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
– विद्यालयको शैक्षिक प्रगतिका लागि सम्पूर्ण अभिभावकबाट सहयोगको अपेक्षा गर्दछौं । आगामी दिनमा निङ्गलाशैनी माध्यमिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्दै लैजाने हाम्रो लक्ष्य रहेको छ । २०३९ सालमा स्थापना भएको विद्यालयको अहिलेसम्म आफ्नो नाममा जमिन नहुनु एउटा दुःखद पक्ष पनि हो । यसको व्यवस्थापनमा सरोकारवाला निकाय लागि प्रशासन र समुदायको महत्वपूर्ण भूमिका रहन्छ । विद्यालयको आफ्नै जग्गा उपलब्ध भएमा भौतिक संरचनाका साथै पढाइको गुणस्तर सुधारमा निकै सहयोग हुनेछ ।