७४४ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र १२ , ०८:१४ बजे

बुङ्गलका पर्यटकीय स्थल ओझेलमा

Image

बझाङ । बझाङको बुङ्गल क्षेत्रका पर्यटकीय स्थल प्रचारप्रसारको अभावले ओझेलमा परेका छन् ।

जिल्ला सदरमुकामबाट टाढा र यातायातको पहुँच नहुँदा पर्यटकीय स्थलहरू ओझेलमा परेका हुन् । बुङ्गल क्षेत्रको साविकको पिपलकोट गाविसमा पर्ने धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल बड्डी ज्यावन, दहबगर गाविसको थानपाटन क्षेत्र, धौलाढुङ्गा गुफा, चुफीताल, बाइसधारा क्षेत्र, डोलारी देवताको मन्दिर र चिउरीगाडको झरना लगायत दर्जनभन्दा बढी पर्यटकीय स्थलको प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको स्थानीयले बताएका छन् ।

पर्यटन विकासका लागि नगरपालिकाले छुट्टै योजना बनाएर प्रचारप्रसार गर्ने बुङ्गल नगरपालिकाका नवनिर्वाचित मेयर धनबहादुर विष्टले बताए । ‘पर्यटन व्यवसाय प्रचुर सम्भावना बोकेको धार्मिक तथा पर्यटकीय स्थलको पहिचान गरी प्याकेज बनाएर प्रचारप्रसारमा लाग्नुपर्छ,’ उनले भने, ‘पहिले गाविसमा कम बजेट आउने, गाउँघरका समस्या हल गर्दैमा ठिक्क हुने र राजनीतिक पहुँच जिल्लादेखि केन्द्रसम्म नपुग्ने गरेका कारण पर्यटकीयस्थल ओझेलमा परेका हुन् ।

हामी अब त्यसो हुन दिँदैनौं ।’ अबको ३ वर्षभित्र नगरपालिकाभित्रका पर्यटकीयस्थलको अध्ययन गरेर जिल्लामा छुट्टै पहिचान बनाउनतिर लाग्ने उनले प्रतिवद्धता जनाए । प्रचारप्रसारको अभावले बुङ्गल क्षेत्रका पर्यटकीय स्थल अझैं पनि प्राकृतिक नै रहेका छन् ।

धौलाढुङ्गा गुफाभित्रको अद्भूत दृश्य
बझाङ सदरमुकाम चैनपुरबाट झण्डै २२ कोस टाढा रहेको बुङ्गल नगरपालिका–२ (साविकको दहबगर गाविस–६) गिरौबाट १ दिनको पैदल यात्रापछि धौलाढुङ्गा पुगिन्छ । समुन्द्री सतहबाट करिब ३ हजार ५ सय मिटरको उचाईमा रहेको गुफाभित्र एउटा अद्भूत दृश्य देख्न सकिन्छ । चट्टानभित्रबाट छिनमा आउने र छिनमा रोकिने पानीले मानिसहरू अचम्मित हुने गर्दछन् ।
किम्वदन्ती अनुसार धौलपुर देवता र लाङो २ भाई साईपाल हिमाल हुँदै तिब्बतको मानससरोवर जाने बेलामा धौलपुर देवतालाई थकाई लागेकाले सोही गुफामा बास बसेका थिए । यताउता खोज्दा पनि पानी नपाउँदा धौलपुरले आफूसँग भएको त्रिशुलले चट्टान खोपे पानी निस्केको भनाई छ । चट्टानमा झट्ट हेर्दा त्रिशुलले खोपेकोजस्तो देखिन्छ ।

धार्मिक तथा पर्यटकीयस्थलको पहिचान गरेर प्रचारप्रसार गर्न सके उत्तम हुने दहबगर–६ लौनेका दले धामीले बताए । भेडाच्याङ्ग्रा चराउन जाँदा र छिमेकी राष्ट्र चीनको तिव्वत जाँदा कयौ रात सो गुफामा बिताएको उनको अनुभव छ । ‘अरुको ठाँउमा सानासाना स्थलहरू पनि पर्यटकीय सम्भावना भनि बजेट विनियोजन भई प्रचारप्रसार भइरहेको हुन्छन्,’ धामीले भने, ‘हाम्रो ठाँउको प्रचार नगरेका कारण ओझेलमा परेको हो ।’ धौलाढुङ्गा गुफाबाट २ घण्टाको पैदल यात्रापछि जिल्लाको सबैभन्दा उचाईमा रहेको चुफीतालमा पुग्न सकिन्छ । बिहानीपख सुर्योदयको बेला र हावा चलेको बेला तालको मनमोहक दृश्य देखिन्छ ।

भिडेगाड र चिउरीगाड झरना
धौलाढुङ्गा जाने क्रममा बाटोमा झरनाको रमाइलो दृश्य पनि देख्न सकिन्छ । दहबगरको सबैभन्दा टाढाको गाउँ लौने पुग्दा चिउरीगाड झरना देख्न सकिन्छ । गाउँभन्दा माथि भिडेगाड झरनाको रमाइलो दृश्य देख्न सकिन्छ ।

थानपाटन क्षेत्र
दहबगरको गिरौबाट ५ घण्टाको पैदल यात्रापछि पुगिने थानपाटन क्षेत्र सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तडका पाटनभन्दा कम छैनन् । वर्षात्को समयमा स्थानीय वासिन्दाले घोडा तथा भेडाबाख्रा चराउने गर्छन् । विशेषतः जेठदेखि भदौ महिनासम्म पाटन क्षेत्रमा घोडा र भेडाबाख्रा चरन गर्दाको दृश्यले मन लोभ्याउने गर्दछ । ‘थानपाटन क्षेत्रको संरक्षण र प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ,’ बमौरका जयमल धामीले भने, ‘सानो लगानीले केही गर्न सकिँदैन । ठूलो बजेट ल्याउन पहुँच हुँदैन ।’

धार्मिकस्थल बड्डी ज्यावन
साविकको पिपलकोट गाविसमा रहेको बड्डी ज्यावन धार्मिक ऐतिहासिक एवम् पर्यटकीयस्थल पनि हो । किम्वदन्ती अनुसार १२ वटा देवताको बसोबासस्थल भएकाले यसलाई बाह्रदेउ ज्यावन पनि भन्ने गरिन्छ । यो एकदम शक्तिशाली देवताको रुपमा चिनिन्छ ।

बड्डी ज्यावन क्षेत्र समुन्द्री सतहबाट २ हजार ५ सय मिटरको उचाईमा रहेको छ । यो क्षेत्रमा पूजा गर्न सुदूरपश्चिमका ९ वटै जिल्ला र छिमेकी राष्ट्र भारतको पिथौरागढ, हल्द्वानी, धारचुला लगायतका ठाउँबाट भक्तजन आउने गरेका छन् । बड्डी ज्यावन क्षेत्रमा पुग्न पिपलकोट र दहबगरबाट ६ घण्टाको पैदल यात्रा गर्नुपर्छ ।

 

 


सम्बन्धित