४०६ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र ११ , ०८:५८ बजे

गौराव्रतको उत्पत्ति, विकास र विस्तारको इतिहास

Image

शक्ति न स्त्री हो न पुरुष हो, न नपुंसक हो । सामान्य दृष्टिले शक्ति तत्वलाई स्त्रीको रुप मानिन्छ । सुन्दरताको पराकाष्ठाको नाम स्त्री हो, त्यसैले त्यो शक्ति तत्वलाई देवीको रुपमा चित्रित गरेको पाइन्छ । वास्तवमा शक्तिकै कारण जड–चेतनको सुन्दरता हो । यदि वस्तुमा शक्ति नहुन्थ्यो भने सुन्दरताको स्थान हुँदैनथ्यो, त्यही शक्तिले संसार चलायमान छ । सूर्यमा तेज, चन्द्रमा शीतल, वायुमा पवित्रता, जलमा निर्मलता शक्तिकै भेद हुन् । शक्ति तत्वलाई जड र चेतनामा देख्न सकिन्छ । शक्ति बिनाका शिव पनि शवको समान हुन्छन् । संसार शक्तिकै वशीभूत रहेको छ । शक्तिकै कारण सृष्टि हुन्छ, सृष्टिकर्ता नारी हुन् । त्यसैले शक्तिलाई नारीको रुपमा देखाएको हो ।

वेदमा ‘मातृ देवो भवः’ भनेर मातृशक्तिलाई प्रथम स्थान दिएको छ । जहाँ नारी शक्तिको पूजा हुन्छ, त्यहाँ देवताको पनि वास हुन्छ भनेर मनुस्मृतिमा भनिएको छ । श्रीरामले लक्ष्मणसँग शक्तिको बारेमा चर्चा गर्दा जननी र जन्मभूमिलाई स्वर्गभन्दा पनि श्रेष्ठ र ज्येष्ठ मानेका छन् । संसारमै छ सबै चिज खोजे मिल्छ घरीघरी, तर जन्मदिने आमा पाइँदैन कसैगरी । मातृ शक्तिको महत्व दर्शाउँदै अप्राप्त तथा दुर्लभ वस्तुका रुपमा चित्रित भरिएको छ ।

शक्तिले नै पुरुषलाई सञ्चालन गरेको छ । प्रकृतिको नाम शक्ति हो । ‘पुरुष परमेश्वरायः प्रकृति परमेश्वरी’ भनेर शिवपुराणमा भनिएको छ । महिला तथा पुरुष दुबैलाई जन्मदिने शक्तिको नाम नारी हो । नारीको पूजा बिना पुरुषको मात्र पूजा गरिएमा त्यसबाट सफलता पाइँदैन भनिएको छ । ‘गौरतेजो बिना यस्तु श्यामतेजी समर्चयेत् । जपेत् वा ध्यायते वापि स भवेत् पातकी शिवे ।’ अर्थात्, गौरतेज (नारी शक्ति) बिना श्यामतेज (पुरुष शक्ति)को मात्र जप, ध्यान गर्नाले पाप लाग्छ । सृष्टिको आरम्भ नै नारीबाट भनेको हो, यद्यपि त्यस समय नारी शब्दको प्रयोग गरिएको छैन ।

लिङ्ग, भेदरहित त्यो सृष्टि तत्वलाई शक्ति भनेको छ । त्यही शक्तिलाई वेदले ‘अम्बिके अम्वालिके’ अर्थात् अम्बा, अम्बिका, अम्बलिका शब्दले सम्बोधन गरेको छ । निगुण निराकार रुपमा रहेकी वैदिककालकी अम्बिका शक्ति सगुण, सकार एवम् सत्व गुणी नारीशक्तिका रुपमा हिमालयमा प्रकट भएको कुरा पुराणले यस प्रकार स्पष्ट पारेको छ– ‘ततो अम्विकां परं रुपं विभ्रार्णा सुमनोहरस्’ । अर्थात्, तब अम्विका त्रिपुरसुन्दरी रुपमा प्रकट हुनुभयो एवं शुम्भ निशुम्भ, रक्तवीज आदि दानवको नाश गर्नुभयो । उनै देवी द्वापर युगमा योगमायाका रुपमा नन्द–यशोदापुत्र बनेर गोकुलमा जन्मिनुभयो । कंशले वध गर्न खोज्दा आकाशमा गएर बिजुली रुप भएर रहनुभयो । जो विद्युत्शक्ति हो, त्यो नै भगवती गौरा अम्विकाको रुप हो । यिनी अम्विका भगवतीले मानसखण्डको पश्चिमी सीमाना नन्दा पर्वतमा नन्दादेवी भएर आज पनि दर्शन दिनुहुन्छ ।

अम्विका भगवतीले दक्ष प्रजापतिको घरमा कालिका रुपमा जन्म लिएर सतीदेवी बन्नुभयो । शिवसँग मिलन पश्चात् कहिले काही ठट्यौली गर्दा आफूलाई काली–काली भनेकोमा अपमान सम्झेर महादेवसँग रिसाएको प्रसंगलाई नारीवेद अठेवालीले लोक भाषामा भाषान्तर गरेको पनि पाइन्छ । यिनै काली अर्थात् सतीले पिताद्वारा गरिएको पति शिवको अपमान सहन गर्न नसकी यज्ञकुण्डमा हामफाली आत्मदाह गर्नु पर्‍यो ।

अर्को तथा अन्तिम जन्ममा रुपनारायण हिमालयकी पुत्री पार्वती भएर जन्मिनुभयो । कैलास पर्वतको गुफामा प्रकट भएकी हुनाले पार्वती नाम पर्न गयो । गौररुप भएको हुनाले गौरी अथवा गौरादेवी नाम पर्‍यो । यथार्थमा भन्नुपर्दा वेदमा वर्णित भगवती अम्विका पर्वतमा प्रकट भएकी हुन् । जन्मेकी होइनन्, लोक व्यवहारमा रुपनारायण हिमाल र मैनारानीकी पुत्रीका रुपमा जन्म भएको हो । कुम्भ राशी पर्न गएको हो । मैनाक भनेर पुराणमा वर्णित भगवती गौराको भाईको नाम दामोदर हो ।

यता, गौराको आयू बढ्दै गयो उता आमा बुबालाई छोरीको विवाहको चिन्ता हुन थाल्यो । ८ वर्षभित्र विवाह गरिसक्नुपर्ने शास्त्रीय वचन पनि छ । गौराको पनि महेश्वर नै पति हुन् भन्ने चाहना छ । पूर्वकल्जमा पतिसँग भएको वियोग अब उप्रान्त कहिल्यै पनि नहोस् भनेर कठोर व्रत गर्नुपर्ने मनसाय पनि छ गौरादेवीको । त्यसैले श्रावण शुक्ल एकादशीका दिन महादेव पनि पाऊँ भनी कठोर व्रतको शुभारम्भ गर्‍यो । आमाबुबा तथा भाइले कठोर व्रत गर्न नसकिने कुरा गरेर बारम्बार तपस्या गर्नबाट रोकी दियो । बाध्य भएर गौराले पनि तपस्याबाट वञ्चित हुनुपर्‍यो । तर, मनमा चाहिँ कसरी ‘म तपस्या गर्न जाउँ कहाँ जाउँ’ भन्ने आतुरता थियो । अन्ततः भाद्र शुक्ल तृतियाका दिन सङ्डी सहेलीद्वारा गौरालाई घरबाट भगाई ल्याएर हिमालयको एकान्त वनमा लताग्रहमा लुकाइयो ।

शिवप्राप्तिका लागि निराहार रहेर कठोर व्रतको गौराद्वारा सुरुआत गरियो । जसलाई हरितालिका तृतीया अर्थात् तीजव्रत भनिन्छ । शाक–पात खाएर तपस्या गरेकाले शाकम्भरीदेवी नाम पर्‍यो । सागपात समेत त्यागेर तप गरेकाले अपर्णा नाम रह्यो । तपस्या गर्दा गर्दै शरीर सुकेर उमा नाम पर्न गयो । दुब्लाएर हरियो–हरियो शरीर बन्न गयो । त्यसैले, शिव पूजाका लागि श्रावण भाद्रमा हरियो पहिरन लगाउने गरिन्छ ।

गौराले पानी, सागपात, अन्न, फलफूल समेत त्यागेर कठोर तपस्याको फलले महादेवले दर्शन दिन आउनुपर्‍यो । मन्दाकिनी गंगाको किनारमा महेश्वरले पार्वती गौरालाई आफ्नै हातले जल पिलाएर व्रत पारायण गरेका थिए, यसैको अनुशरण गरी आज पनि पतिव्रता नारीले गरेको निराहार तीज निर्जला व्रतको पारायण पत्नीव्रता पतिद्वारा धर्मपत्नीलाई जल पिलाएर व्रत पूरा गराइन्छ । गौराले महेश्वरको गोडा आफ्नी धोई चाखेको हुनाले कतिपय नारीहरू पतिको खुट्टाको जल चाख्ने गर्दछन् ।

भाद्र शुक्ल पञ्चमीका दिन सातऋषिहरू गएर पार्वती गौराको परीक्षा गरेको थियो । महेश्वरप्रतिको श्रद्धा, विश्वास तथा प्रेमको विजय भयो । यसैको सम्झनामा ऋषि पञ्चमी व्रत गरिन्छ । पार्वती गौराद्वारा गरिएको श्रावण शुक्ल एकादशीदेखिको साधना एवम् तीजका दिन अन्न, जल, फलफूल, सागपात नखाई गरिएको कठोर व्रत तपस्याको फल शिव मिलन हो । गौरा महेश्वरको औपचारिक विवाह भएको दिन भाद्र सप्तमी तिथि हो । जसलाई गौरासप्तमी अथवा अयुक्ताभरण सप्तमी तथा सन्तान सप्तमी व्रत पनि भनिन्छ ।

नारीकण्ठद्वारा निस्किएका अपौरुषेयवेद अठेवाली गीतका अनुसार गौरा महेश्वरको विवाह भाद्र सप्तमीको रात्री तथा विदाई अष्टमीका दिन भएको थियो । त्यसैले अष्टमीका दिन सगुन, फाग, अठेवाली गीत, हल्लोरी गीत, डेउडा, ढुस्को, धमारी, ठाडोखेल, न्यौल्या खेल, औल्याखेल, धम्मर धुम्साजस्ता लोकगीत, लोकनृत्य तथा लोकसंस्कृति अनेक विधासँग गौराव्रतालु लगायत सर्वसाधारणले समेत रमाइलो गर्ने गर्दछन् ।

गंगाको तटमा ग्वालाहरूको उपस्थितिमा गौरा र महेश्वरको अन्तरंग विवाह सम्पन्न भइसकेपनि औपचारिक विवाह कात्तिक मंसिर कामको महिना हुनाले रोकियो, पुष–माघमा चिसो, फागुन–चैतमा हुरी बतासको डर, बैशाख जेठमा गर्मी र असार–श्रावनमा वर्षाका कारणले रोकियो । अन्त्यमा भदौ सात पैठ गमरीको वियौ रे रचियो (अठेवाली) अर्थात् भदौ सप्तमीका दिन गौराको विवाह भयो । गौरा र महेश्वरको विवाह भएको दिन आद्र्रा नक्षत्र परेको थियो ।

गौरा–महेश्वरको विवाह पूर्व विश्वकर्माद्वारा निर्मित सूर्पकर्ण गणेश पूजा गरी वैनायकी शान्ति गरिएको थियो, बह्माजीको प्रमुख आचार्यत्वमा थरिएको उक्त गणेश पूजा सति विवाहमा नमरेकाले सती र शिवको वैवाहिक जीवन सुखद नभएको कुरा मानस पुराणमा उल्लेख छ ।

अयुक्ताभरण सप्तमीको दिन शिव–पार्वती विवाह भइरहेको बेला धागो नभएका कारण विवाह रोकिन थाल्यो । अन्तमा देवल नामका ऋषिले धागो/दुव्धागो अर्पण गरेपछि विवाह सम्पन्न भएको थियो । दुव्धागो चढाएको हुनाले गौराले देवल ऋषिलाई अब उप्रान्त धार्मिक कर्ममा आवश्यक पूर्व धागाको सम्पूर्ण कार्य तिमी र तिम्रा चंराजको हुनेछ भनेर वरदान दिनुभयो । त्यही वरदान स्वरुप आज पनि देवल ऋषिका सन्तानले जनै, दुव्धागो, सप्तम्या, अनन्त, रक्षा, मेखला (करधनी) बनाउने कर्म गर्दछन् । हर कसै व्यक्तिले बनाएको धागो वस्तु प्रयोग गर्नु हुँदैन भन्ने धार्मिक मान्यता पनि रहेको छ । दुव्धागो निर्माण गर्दा ३ वटा देवीको मन्त्र जपिन्छ ।

अनि मात्र त्यसमा पोर अर्थात् गाँठा लगाइन्छ । देवी देवताको पूजा गर्दा शरीरमा धागो बाँधिएको हुनुपर्छ । बिना सुत्र (धागो) गरिएको कर्मको फल पाइँदैन । त्यसैले ब्राह्मणले जनै, क्षत्रीले कण्ठी, वैश्यले अनन्त एवं शूद्रले रक्षा धागो लगाएर मात्र देव–पितृ गर्नुपर्छ भने नारीले दोरक अर्थात् दुव्धागो सप्तम्या अवश्य लगाउनुपर्छ । यो नारीको जनै हो । सनातन वैदिक हिन्दू सिद्धान्त अनुसार धार्मिक विधिले धारण गरिएको धागो ब्रह्म सूत्र हो, जो हरेक जातिले आ–आफ्नो परम्परा अनुसार अवश्य धारण गर्नुपर्छ ।

‘नारीणां पतिरेव गुरु’ । नारीको पति नै गुरु हुन् भनेर शास्त्रले भनेको भएतापनि मानसखण्ड प्रदेशतिर नारीले पुरुष तथा नारीलाई नै गुरु मानेर वैदिक दीक्षा तथा जनै (दुव्धागो) लगाउने अधिकार पाएको छ । यो सौभाग्य मानसनारीले मात्र पाएको छ । भनिएको छ– पूरा कल्पे तु नारीणं मौञ्जी मखेत भिष्यते । अध्यापनंच वेदानां सावित्री वाचनं तथा (यमस्मृति) प्राचीन कालका नारीहरू जनै (दुव्धागो) करधनी लगाउने गर्दथे भने गायत्री जप तथा वेद समेत पढ्ने गर्दथे । कश्यप पत्नी आरिती, वशिष्ट पत्नी अरुन्धती, अगत्स्य पत्नी लोपामुद्रा, याज्ञवल्क्यपत्नी मैत्रेयीले श्रीगायत्री जपेको र वेद पढेको इतिहास पाइन्छ ।

वेद अध्यापन गर्न जनै अर्थात् दुव्धागो अनिवार्य रुपमा लगाउनुपर्छ । गौराव्रत लिने नारीलाई वेद पढ्ने अधिकार शास्त्रले दिएको छैन । आपत्तिकालमा मंगल सूत्र तथा तिलहरीलाई पनि दुव्धागोको विकल्पका रुपमा लिन सकिन्छ । तर, नारीले दुव्धागो नलगाई वैदिक मन्त्रको दीक्षा नलिई गरेको कार्य सफल हुँदैन । गौराव्रत वैदिक सभ्यताको निरन्तरता हो । वैदिक कालमा देवताहरूले ‘एषते रुद्रभाग हष्वश्राम्विकया...।’ भनेर भगवती अम्विका गौराको पूजा–अर्चना गरेका थिए । उत्तरनारायण ऋषिले ‘श्रीश्चते लक्ष्मीश्च..।’ भनेर गौरादेवीलाई श्रीका रुपमा आव्हान गरेका थिए ।

सन्तान प्राप्ति तथा शक्तिआर्जनका लागि अवध नरेश महाराजा दशरथ–कौशल्याले गौराव्रत गरेका थिए । मिथिला नरेश राजर्षि जनक–सुनयनाकी कुलदेवी माता गौरा नै हुन् । पुष्प वाटिकामा रहेको गौरी मन्दिरमा नै श्रीरामसँग जानकीको प्रथम मिलन भएको थियो । वसुदेव–देवकीको सन्तान रक्षाका लागि अयुक्तभरण सप्तमी व्रत अर्थात् गौराव्रत गर्ने गरेको प्रमाण भविष्य पुराणमा पाइन्छ । अम्बिका वनमा नन्दवावाले गौरा देवीको दर्शन तथा व्रजकी गोपिनीले श्रीकृष्ण पति पाउन कात्यायनी गौराको पूजा गर्ने गरेको थियो । रुक्मिणीले कृष्णपति पाउन, सुभद्राले अर्जुन पति पाउन, उत्तराले अभिमन्यूलाई पतिका रुपमा पाउन भगवती गौराकै उपासना गरेको प्रसंग भागवतमा उल्लेख छ ।

इतिहासको कुरा गर्दा क्षेत्रीय राजा शुद्धोदनका पुत्र सिद्धार्थ भगवान गौतम बुद्धले भगवती ताराको उपासना गरेर शक्ति प्राप्त गरेका थिए । जैन तीर्थङ्ककर महावीर स्वामीले चक्रेश्वरीदेवी तथा सिख धर्मका दशम गुरु गुरु गोविन्द सिंहले दुर्गाणी भगवतीको उपासना गरेका थिए भने नेपाल राष्ट्रका एकीकरणकर्ता वडामहाराजाधिराज पृथ्वीनारायण शाहले गोर्खाली भगवतीको आराधना गरेका थियो । अजयमेरुकोट राजा नागमल्ल तथा उनकी पत्नीले गौराव्रत लिएको कुरा लोक साहित्यको अध्ययनबाट पुष्टि हुन्छ ।

गौराको उपासना गर्ने परम्परा प्राचीनकालदेखि नै रहेको छ । महाभारतमा अम्विका गौरालाई हरिकी बहिनी भनेको छ । भागवतमा कृष्णकी आह्लादिनी शक्ति, श्रीराधा मानेको छ । मार्कण्डेय पुराणमा अनुसार गौराकै शरीरबाट महाकाली, महालक्ष्मी र महासरस्वतीको उत्पत्ति भएको हो । गौरा मनकी देवी हुन् । मानसीदेवी हो, श्रीरुपा हुन् । गौराव्रतको प्रारम्भ मानसस्थलीबाट भएको हो । काली–कर्णालीखण्डमा अनेक नदी, पहाड कुण्ड तथा गुफाको नामका लागि गौरा शब्द प्रयोग भएको छ । गौराकुण्ड, गौरी गिरी, गौरी गुफा, गौरी नदी, सेती नदी, गौरी गंगा लगायत स्थलहरू छन् । गौरीको जन्म, विवाह, विहार तथा निवासको भूमि पनि मानस प्रदेश हो । त्यसैले वैदिक कालकी अम्विका भगवतीलाई यहाँ गौरादेवीका रुपमा स्थान दिएको छ । गौराव्रतलाई नारीसंस्कार र संस्कृतिको मूल आधार मानेको छ ।

वास्तवमा मानसखण्ड प्रदेश अर्थात् वर्तमान नेपालको संरचनामा ७ नम्बर प्रदेश शाक्तभूमि हो । गौरादेवीको उत्पत्ति, विकास र विस्तारको केन्द्र विन्दु हो । यस मानस प्रदेशका प्रत्येक क्षेत्रमा गौराको पूजा–अर्चना गरिन्छ । दुधकुण्डका रुपमा रहेको मानससरोवर तथा गोमूत्र कुण्डका रुपमा रहेका राक्षस तालको बीचमा रहेको गौरीकुण्ड नै गौरादेवीको मूलस्थान हो । कैलास पर्वत जसको पर्वत जसको सिंहासन हो, आधारशीला हो ।

गौरादेवीकै रुपमा अनेक शक्तिपीठहरू रहेका छन् । जसले मानस प्रदेशलाई गौरादेवीको मूल स्थान प्रमाणित गर्छन् । यसको पूर्वमा कालिका, पश्चिममा नन्दा उत्तरमा मानसी दक्षिणमा पूर्णागिरी भगवती रहेका छन् । गौरीदेवीकै प्रतिकका रुपमा बैतडीका रणसैनी, निङ्गासैनी, डिलासैनी, भागेश्वरी, डागेश्वरी, भुवनेश्वरी एवं दार्चुला बझाङमा सुर्मोश्वरी, दुर्गा, बाजुरा बडीमालिका, डोटी शैलेश्वरी, कालिकोटमा कालिका, दैलेखमा ज्वालादेवी, डोल्पामा त्रिपुरासुन्दरी, अछाममा त्रिपुरासुन्दरी, मुगुमा छायादेवी, कञ्चनपुरमा पूर्णागिरी–वनदेवी, कैलालीमा नयनेश्वरी लगायत अनेकानेक शक्तिपीठ रहेका छन् ।

गौरा पर्व सुदूरपश्चिमको पर्व नभएर मानसखण्ड प्रदेशको पर्व हो । यो राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरको पर्व हो । वर्तमानको ७ नम्बर प्रदेश तथा ६ नम्बर प्रदेश एवम् ५ नम्बर प्रदेशमा मूलरुपमा मनाइने गौरा पर्व भारतको कालीकुमाउ तथा तिव्वतको कैलास मानसरोवर क्षेत्रमा पनि यो पर्व यसै रुपमा मनाइन्छ, यसकारण गौरा पर्व मानसखण्ड प्रदेशको राष्ट्रिय पर्व हो, मौलिक पर्व हो । कही अरु ठाउँबाट आयातीत पर्व होइन । गौरादेवीका ३ रुप छन् :

१) नौलाकी गौरा, २) सन्ध्या गौरा, ३) लोली गौरा, यी ३ रुप महासरस्वती, महाकाली र महालक्ष्मीका प्रतीक हुन् । गौरा शैव, शाक्त, वैष्णव, गाणपत्य एवम् सौर्य सबै सम्प्रदायको हो । गौराव्रतमा श्रीदेवीको उपासना गरिने भएकाले श्रीसम्प्रदायका रुपमा गौरा व्रतालुलाई लिन सकिन्छ ।

गौराव्रत मानसव्रत हो । मानसवासीको व्रत हो । मानसवासी मानिस जहाँजहाँ गए, त्यहाँ त्यहाँ गौराव्रतलाई पनि लिएर गएका छन्, आज नेपालको ठूला–साना शहर लगायत राजधानीमा गौराव्रत तथा गौरा पर्व मनाइन्छ, विदेशमा पनि मानसवासी जहाँ छन् त्यहाँ गौराव्रत छ । साथै, डेउडाको उमङ्ग छ । गौरा र डेउडाको उत्पत्ति मानस प्रदेश नै हो । त्यसैले जहाँजहाँ डेउडा हुन्छ, त्यहाँ त्यहाँ गौरा पर्व छ । गौरा पर्वको अभिन्न अंग डेउडा, ठाडोखेल तथा अठेवाली हो । गौरा पर्व दृश्यरुप भने डेउडा आदि अदृश्य अधिव्यक्ति हुन् ।

मानसखण्ड प्रदेश अर्थात् ७ नम्बर प्रदेशको राष्ट्रियता गौरा हो । मौलिकता एवम् एकताको पर्व गौराव्रत हो । गौराव्रतको शास्त्रीयता लोप नहुने गरी यसमा मौलिकता आउनु जरुरी छ । तर, परम्पराको ख्याल गर्नुपर्छ । गौरापर्वको महाप्रसाद विरुडा, सावा धान आदिद्वारा निर्मित गौरादेवी, खयरको महेश्वर, निगालाको डलिया तथा थाली, नारीले लगाउने घाघरो–आङडो, नथ, पहेलोर पच्छयौरा, सेतो पटका, कालो पोते, रातो दुव्धागो, ठाडो पिठया गौरा व्रतका जीवन्त पहिरन हुन् । यिनीहरूको संरक्षण गर्नु नै गौराव्रतको रक्षा हो ।

गौराव्रत कुनै एक जातजातिको मात्र पर्व नभएर चारै वर्णका मानिसको व्रत हो । सबैको साझा व्रत हो । हाम्रो मौलिकता एकता, राष्ट्रियता, संस्कारको आधार हो । गौरा पर्वको अनन्त अनन्त शुभकामनासहित जय गौरादेवी ।


About Author
-आचार्य घनश्याम लेखक

लेखक कञ्चनपुर निवासी हुन् । उनी शिक्षणपेशामा संलग्न छन् । धार्मिक तथा आध्यात्मिक प्रवक्ता समेत रहेका लेखक मानसखण्डको पौराणिकताका ज्ञाता पनि हुन् । उनका आधा दर्जन कृतिमध्ये मानसखण्ड संहिता पछिल्लो हो ।