४०६ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र ११ आइतबार, ०८:१० बजे

भीम र अतवारी ब्रत महिमा

Image

नेपालको तराईका मूल वासिन्दा आदिवासी थारुहरू विशेषतः कृष्णाष्टमी ब्रत र अतवारी ब्रत बस्छन् । जितिया, सामाचकेवा मान्छन् । कतैकतै अनन्त ब्रत पनि बस्ने गर्दछन् । तर, यसको त्यत्ति व्यापकता छैन । कृष्णाष्टमी ब्रत थारुहरू किन र कहिलेदेखि बस्न थालेका हुन् एकीन भन्न गाह्रो छ । तर, कृष्ण जन्माष्टमीमा विशेषतः कृष्णको पुजा आराधना र अतवारीमा ५ भाई पाण्डवमध्ये भीमको पूजा आराधना गर्दछन्, ब्रत बस्दछन् भन्ने कुरामा दुइमत छैन ।

अतवारी ब्रतको सुरुवात
अतवारी ब्रतको बारेमा तमाम कहकुट भनाई छ । एउटा कहकुट छ ‘द्वापर युगमा एकचोटी घुम्दै–फिर्दै भेंवा (भीम) हिमालयको तराई थारु बसोबास गरेको ठाउँमा आइपुगे, त्यहाँ एउटा राक्षसले थारु चेलीलाई बलात्कारको प्रयास गर्दा भेंवा (भीम) ले बचाए, त्यस दिन आईतबार परेकोले सम्झना स्वरुप आईतबार ब्रतको सुरुवात भएको हो ।’

एउटा कहकुट छ कि, ‘महाभारत कालमा एउटा थारु गाउँमा एउटा राक्षस हाहाकार मच्चाएको थियो रे ! गाउँका हरेक घरबाट हरेक दिन एक मान्छे राक्षसको आहारा (भोजन) बन्नु पर्दथ्यो, त्यो क्रममा त्यस दिन एक थारु चेलीको पालो थियो, भीम त्यस ठाउँमा पुगे, घरमा रुवावासी मच्चिएको देखेर भीमले सोधे र घरवालाले बेली विस्तार लगाए, भीमले त्यस थारु चेलीलाई बहिनी स्वीकार गर्दै बचाउने वाचा गरे, राक्षस पुगेपछि त्यसको संघार गरे र बहिनीलाई बचाए, त्यस दिन आईतबार थियो, त्यसबेलादेखि आईतबार ब्रतको सुरुवात भएको हो भन्ने भनाई छ । (यो कथा महाभारतको आदि पर्वको बकबध/बकासुर बध पर्वसँग ठ्याक्कै मेल खान्छ ।)

त्यसैगरी, एउटा भनाई छ– ‘एकचोटी द्रोपतिसहित ५ पाण्डव सुर्खेतको काक्रेबिहार घुम्न आएका थिए । थारु राजा दङ्गीशरण ५ पाण्डवका समकालीन थिए र उनीहरूको बिचमा घनिष्ट सम्बन्ध थियो । त्यहीबेला दङ्गीशरणको राज्यमाथि शत्रुले आक्रमण गरे । त्यतिबेला भीम भर्खर तावामा रोटी हालेका थिए । उनी दौड्दै दङ्गीशरणलाई सहयोग गर्न गए । रोटी पल्टाउन खोज्दा मान्छेले सकेनन्, रोटी एकातिर मात्रै पाक्यो र जल्यो । त्यसैले कतिपय ब्रतालुहरू एक रोटी एकातिर मात्रै पकाई भगवान भीमलाई चढाउने गर्दछन् । भीमले ती शत्रुलाई परास्त गरी दङ्गीशरणलाई सहयोग गरे । त्यस दिन आईतबार थियो । त्यही बेलादेखि थारु समुदायमा यो ब्रतको सुरुवात भएको हो ।’

अतवारीको समय कहिले ? :
नेपालको तराईका मूल वासिन्दा आदिवासी थारुहरू विशेषतः कृष्णाष्टमी, अतवारी ब्रत बस्छन्, जितिया, सामाचकेवा मान्छन् । कृष्ण जन्माष्टमी (अष्टिम्कि) भाद्र महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा पर्दछ भने अतवारी ब्रत भाद्र शुक्ल पक्ष (ओजरीया) को पहिलो आईतबार पर्दछ । यस सम्बन्धमा विकिपिडियामा भनिएको छ, ‘यो ब्रत कुनै पनि महिनाको शुक्ल पक्षको पहिलो आईतबार सुरु गरेर कम्तिमा १ वर्ष र बढीमा १२ वर्ष बस्न सकिन्छ । यसले के भन्छ भने कुनै पनि महिनाको शुक्ल पक्षको पहिलो आईतबार यसलाई सुरु गर्न सकिन्छ । थारुहरू पहिलेदेखि भाद्र महिनाको शुक्ल पक्षको पहिलो आईतबारलाई बर्का अतवार/अतवारी मान्ने गरेका छन्, जुन कुष्ण जन्माष्टमीपछि पर्ने गर्दछ ।

अतवारी ब्रत बिधि :
अतवारीका ब्रतालुहरू वा घरपरिवारले शनिबारका दिन नै तालतलैयामा माछा मार्ने घोंघी वा गँगटो आदिको जोहो गर्दछन् वा मन परेको कुनै पनि चिजको जोहो गर्दछन् । राति कुखुरा बास्नु भन्दा अगावै उठेर अधरतिया/भिन्सर्या (दर) खाने गर्दछन् । यदि खाँदाखाँदै कुखुरा बास्यो भने ब्रत भंग हुन्छ, बस्न पाउँदैनन् । यसलाई कडाईका साथ लागू गरिन्छ । साना बच्चाको हकमा भने यो लागू हुँदैन ।

बिहान घरका महिलाहरू नियमित काम सकिसकेपछि ब्रतका लागि रोटी तयार गर्दछन् । यसमा यदाकदा अन्य परिकार प्रयोगमा ल्याएपनि विशेषतः चामल वा गहुँको सादा रोटी नै यसको मुख्य पकवान मानिन्छ । प्रायः पकवान बनाउने व्यक्ति पनि ब्रतालु नै हुन्छन् । कहीँकहीँ ब्रतालुहरू एकचोटी दोपहरमा पानीसम्म सेवन गर्दछन् । उनीहरू २ देखि ४ बजेभित्रै सूर्यास्त अगावै आफूलाई पायक पर्ने खोलानाला, हेण्डपम्प आदिमा नुहाउँछन्, सफासुग्घर हुन्छन् र भीमको पूजा गर्दछन् ।

घरमा ब्रतालुहरू बस्ने ठाउँ गाईको गोबरले लिपपोत गरिएको हुन्छ । ब्रतालुहरू लिपपोत गरिएको ठाउँमा बस्छन् । उनीहरूको अगाडि गुइँठाको आगो राखिन्छ, धुपीसल्लाको धूलो र घिउ मिलाई तयार गरिएको धूप आगोमा राखिन्छ र पकाइएका सबै परिकारहरू एक भाग ब्रतालुका लागि र अर्को भाग भीमका लागि सबैका अगाडि छट्ट्याएर राखिन्छ । यसरी देवताका लागि राखिएको अगाडिको परिकार, देवताका लागि छुट्याएको अगाडिको भोजन परिकारलाई अग्राशन भनिन्छ ।

सबैथोक ब्रतालु र देवताका लागि राखिसकेपछि ब्रतालुहरू आगोमा सल्लाको धूप चढाउँछन् ।त्यसपछि तयार भएका सेवन गरिने सबै परिकारहरू आगोमा अलिअलि गरी चढाउँछन् । सफा जल चढाउँछन् र देवताका लागि छुट्याइएको अग्राशन अलिकति पर सार्छन् । सार्नुको मतलब भीमलाई सुम्पनु, खानका लागि बोलाउनु हो । यसरी अग्राशन सारिसकेपछि ब्रतालुहरू सेवन गर्दछन् ।

बिहान घरमा ३ देखि ७ किसिमका तरकारी पोइँसाग र ठुसा (नपिसिएको मास, मसुरो), तोरियाँ, लौका, खँरिया आदिको तरकारी तयार गर्दछन् । नुहाईधुहाई गरिसकेपछि ब्रतालुहरू गोबरले लिपेको स्थानमा बस्छन् । तयार पारिएका सबै तरकारी भात हरेकको अगाडि राखिन्छ । हरेक ब्रतालुले भीमका लागि हरेक परिकार टपरी, दुनामा राखी छुट्याई आफ्नो अघिल्तिर राख्छन् । ब्रतालुले पूजापाठ नगरेसम्म, भोग नलगाएसम्म घरका अन्य सदस्यले खान बर्जित हुन्छ ।

ब्रतालुले अघिल्लो दिनजस्तै बिहान पनि गुइँठाको आगो अर्थात अग्नी देवमा सल्लाको धूप चढाउँदछन्, सबै परिकार धूप चढाएको आगोमा अलिअलि चढाउँछन् र भीमका लागि छुट्याएको अग्राशन अलि पर सार्छन् र भीमलाई सेवनको लागि, भोगको लागि अनुरोध गर्दछन् र आफूले सेवन गर्दछन् । देवतालाई भोग लगाएको त्यही प्रसाद, त्यही अग्राशन चेलीबेटीलाई दिन जान्छन् ।

कृष्ण जन्माष्टमीमा ब्रतको दिन विशेषतः साँझ फलाहार हुन्छ, अन्नाहार हुँदैन । अन्न बार्ने गर्दछन् भने अतवारीमा सूर्यास्त हुनु अगावै अन्नाहार हुन्छ, नून खुर्सानी बर्जित हुन्छ । कृष्ण जन्माष्टमीमा ब्रतालुहरू ब्रतको दिनमा साँझ पूजाआजा गरिसकेपश्चात् रातभरि पानी सेवन गर्न सकिने मान्यता छ भने अतवारी ब्रतमा सूर्यास्त अगावै भोग लगाउँदा अन्नाहार नून, खुर्सानीबाहेक हुन्छ र राति सेवन गर्न मिल्दैन । तर, कृष्ण जन्माष्टमी होस् वा अतवारी होस्, बिहान चाहिँ अग्राशन निकालिन्छ र अन्नाहार नै गरिन्छ । तर, चलनचल्तीको भाषामा धेरैले बिहान सेवन गरिने अन्नाहारलाई पनि फलाहार नै भन्ने गर्दछन् ।


अग्राशनको महत्व :
थारु समुदायमा ब्रत उपवास बस्दाखेरी छुट्याइने अग्राशन चेलीबेटीलाई दिने गरिन्छ । यसको ठूलो महत्व छ । अग्राशन भनेको धर्म, पुण्यसँग सम्बन्धित वस्तु हो । देवतालाई छुट्याइएको भाग, देवतालाई चढाएको त्यो प्रसाद खाएपछि शुभ हुन्छ, कल्याण हुन्छ, मनले सोंचेको कुरा पूरा हुन्छ भन्ने मान्यता अहिले पनि तीर्थालु, ब्रतालुमा छ । त्यसैले तीर्थ गएकाहरू प्रसाद लिएर आएका हुन्छन् र प्रसाद वरिपीर वितरण गर्दछन्, जसको अवमूल्यन कसैले गर्दैन । गर्नु हुँदैन भन्ने मान्यता छ । त्यसैगरी, अग्राशन पनि कृष्ण जन्माष्टमीमा भगवान श्रीकृष्णलाई चढाइएको प्रसाद, अतवारीमा भीमलाई चढाइएको प्रसाद, अनत्तरमा भगवान अनन्तलाई चढाइएको प्रसाद हो, जसको अवमूल्यन गर्नु हुँदैन ।

नेपाली शब्दकोषमा हेर्ने हो भने अग्राशनको अर्थ ‘खानुभन्दा पहिले देवता र पितृलाई चढाइने खानेकुरा, देवताका लागि छुट्याइएको अगाडिको राशन भनिएको छ ।’ त्यसैगरी, हिन्दी शब्दकोषमा अग्राशनको अर्थ ‘देवता, ब्राम्हणको जीविका निर्वाह निकाला हुआ अन्न या भोजनका भाग’ भनी अथ्र्याइएको छ । त्यसैले अग्राशन भनेको अग्र+राशन हो, आफू खानु अगावै देवताको लागि अगाडि राखिएको राशन हो । जसको सेवनले चेलीबेटीको कल्याण हुन्छ, मनोकामना पूरा हुन्छ, दीर्घायु हुन्छन् । त्यति मात्रै होइन, अग्राशनको सम्बन्ध, चेलीबेटीको आफ्नै घर र लैहर (माइती) बिचको घनिष्टता तथा दाजुभाई, दिदीबहिनी, फूपूभतिजको घनिष्ट मायाप्रेम र सम्बन्धसँग गाँसिएको हुन्छ ।

चेलीबेटी करोडपति किन नहोस्, माइती आएको बेला, उसका आमाबाबुले उसलाई दिने सय पचास रुपैयाँ उसको लागि महत्वपूर्ण हुन्छ । मायामा लटपटिएको त्यो सय पचास रुपैयाँ, उनको आफ्नो करोडौं रुपैया भन्दा कम महत्वको हुँदैन । त्यसैले होला जब कृष्ण जन्माष्टमी, अतवारी, अनत्तर आउँछ, चेलीबेटीहरू माइतीको बाटो हेर्दै, कुर्दै बसेका हुन्छन् । तसर्थ भन्न सकिन्छ, यसको महत्व धेरै ठूलो छ ।

निष्कर्ष :
थारुहरूको कृष्ण जन्माष्टमी द्वापर युगका कृष्ण, महाभारतका पात्रहरूसँग बढी सम्बन्धित छ । त्यसैले थारु समुदाय भाद्र महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा भगवान श्रीकृष्णको जन्मोत्सवको रुपमा अष्टिम्कि ब्रत मनाउँछन्, जो भगवान विष्णुका साक्षात अवतार मानिन्छन् ।

त्यसैगरी, भाद्र महिनाको शुक्ल पक्षको पहिलो आईतबार भीमको ब्रत बस्दछन् । भीम कुनै साधारण मान्छे थिएनन्, उनी पनि पवन पुत्र थिए, भगवान हनुमानका भ्राता थिए, जसले आफूमाथि अन्याय गर्ने, अंश नदिने, अधिकार नदिने सय भाई कौरवलाई एक्लै संहार गरेका थिए ।

बकासुरलाई बध गरी एकचक्रा शहरलाई मुक्ति दिलाएका थिए । जरासन्धजस्ता बलशाली र मायावी दानवलाई संहार गरी बन्दी राजालाई मुक्ति दिलाएका थिए । ती महाबलशाली भीम जसले धेरै दुखी दरिद्रका लागि भगवान भएर खडा भए, थारु राजा, थारु चेलीबेटीलाई सहयोग गरे, उनको ब्रत, उपबासले अहिले पनि मानिसको दुःख दरिद्र दूर हुन्छ, चिताएको फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ । उनलाई छुट्याइएको अग्राशन चेलीबेटीलाई प्रसादको रुपमा दिइँदा, चेलीबेटीले त्यसलाई सेवन गर्दा उनीहरुको पनि दुःख, पीडा नष्ट हुन्छ र मनोकामना पूरा हुन्छ भन्ने आममान्यता छ ।


About Author
-दिलबहादुर चौधरी

सम्बन्धित