१०६८ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र ११ , ०७:३५ बजे

यातायात कार्यालयको सेवा दुरुस्त बनाउन माग

Image

महेन्द्रनगर । कञ्चनपुरका यातायात व्यावसायीले महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय महेन्दनगरमा रिक्त रहेका कर्मचारीको पदपूर्ति गरेर नियमित सेवालाई दुरुस्त बनाउन माग गरेका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई नेतृत्वको टोलीसँग जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा शनिबार भएको समन्वयात्मक बैठकका क्रममा यातायात व्यावसायीले कर्मचारी अभावले कामकाज प्रभावित भएको जानकारी दिँदै कर्मचारीको पदपूर्ति गरी कार्यालयको नियमित कामकाज सुचारु गर्न आग्रह गरेका हुन् ।

यातायात व्यावसायीको भनाईलाई उदृत गर्दै महाकाली यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख तथा नायब सुब्बा नन्दराज भट्टले यातायात व्यावसायीले महानिर्देशक भट्टराईसमक्ष महिना–महिनामा सवारी चालक अनुमतिपत्रको परीक्षा लिनुपर्ने माग समेत गरेका छन् ।व्यावसायीले सवारीको रुट, सवारी जाँचपास लगायतका समस्यालाई पनि ध्यान दिन विभागका महानिर्देशक भट्टराईलाई आग्रह गरेका छन् ।

जवाफमा महानिर्देशक भट्टराईले यातायात व्यावसायीका विभिन्न खालका समस्या रहेको औंल्याउँदै आफ्नो तर्फबाट समाधान गर्न सकिने समस्याको हल गर्ने प्रतिवद्धता जनाएका छन् । उनले व्यावसायीका केही समस्या राजनीतिक तहबाट मात्र समाधान हुने खालका भएको पनि बताउँदै उनले आफ्नो तर्फबाट सक्दो प्रयास गरिने धारणा व्यक्त गरे ।

महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयका तत्कालीन निमित्त प्रमुख हेमन्तबहादुर सिंहसहितका ७ जना कर्मचारी किर्ते सवारी दर्ता तथा बिक्री प्रकरणमा निलम्बनमा परेपछि कार्यालयमा कर्मचारीको अभाव देखिएको छ । अहिले निमित्त कार्यालय प्रमुख लोकबहादुर खड्कासहित २ जना दरबन्दीका कर्मचारी र १ जना सेती यातायात व्यवस्था कार्यालयबाट काजमा आएका मेकानिकल सुपरभाइजर दिनेश लुहार गरी ३ जना कर्मचारी रहेको जनाइएको छ ।

 


About Author
-मानसखण्ड