४५० पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र ११ , ०७:३० बजे

प्रदेश र संसदको निर्वाचन कसैले रोक्न सक्दैन : प्रचण्ड

Image

धनगढी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर १० गतेको लागि तोकिएको प्रदेश र संसदको निर्वाचन कसैले रोक्न नसक्ने बताएका छन् ।

असन्तुष्ट पक्ष समेत निर्वाचनको तयारीमा लागिसकेकाले निर्वाचको विषयमा कसैले शंका नगर्न उनले आग्रह गरे । नेकपा माओवादीको ७ नम्बर प्रदेशले आयोजना गरेको पार्टी कार्र्यकर्ता प्रशिक्षण तथा बैठकमा सहभागी हुन शनिबार धनगढी पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले निर्वाचनमा कुन पार्टीले ठूलो सानो हुन्छ भन्दा पनि संविधान कार्यान्वयन महत्वपूर्ण रहेको बताए ।

‘संविधानलाई कार्यान्वयन गर्नु नै जनता र देशको हितमा हुने भएकाले आफ्नो प्रधानमन्त्री कार्यकालमा देशलाई स्थानीय तहको निर्वाचनमा लगे,’ उनले भने, ‘२ नम्बर प्रदेशमा हुन लागेको स्थानीय तहको चुनावमा मधेश केन्द्रित दल, कांग्रेस र एमालेसँग तालमेल गर्न सकिन्छ ।’

प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको देखिएको बताएका छन् । प्रेस सेन्टरले शनिबार गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतले नेपालमा स्थानीय तहको चुनाव सम्पन्न भई प्रदेश र केन्द्रको चुनाव गराउन सुरु भएको प्रक्रियालाई समर्थन गर्नु सकारात्मक भएको टिप्पणी गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले भने, ‘प्रधानमन्त्रीले पुराना सहमति कार्यान्वयन र केही हाम्रा अत्यावश्यक विषयबाहेक कुनै पनि विषयमा नगरेको कुरा तपाईंहरूले थाहा पाइसक्नुभएको छ ।’ अन्ततः राजपा पनि चुनावमा भाग लिन सहमत हुँदा संविधान कार्यान्वयनका लागि खुसीको विषय भएको उल्लेख गर्दै उनले भने, ‘अब सबैको सहभागितामा संविधान कार्यान्वयनको प्रक्रियालाई अगाडि बढाएर देशलाई राजनैतिक स्थिरता र आर्थिक समृद्धिमा लैजानु पर्छ ।’

नेकपा माओवादी केन्द्रले २ नम्बर प्रदेशमा हुन लागेको स्थानीय तहको चुनावमा तालमेल गर्छ कि गर्दैन भन्ने प्रश्नमा अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर र त्यसमा पनि मधेश केन्द्रित दलसँग तालमेल हुने स्पष्ट पारे । नीतिगत रुपमा कांग्रेस र एमालेसँग पनि तालमेल गर्न सकिने उनले बताए । एक अर्को प्रश्नमा अध्यक्ष दाहालले मंसिरमा चुनाव हुनेमा शंका नगर्न आग्रह गरे ।

शनिबार भएको नेकपा माओवादी केन्द्रको ७ नम्बर प्रदेश स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहालसहितका नेता धनगढी आएका थिए ।

 


About Author
-मानसखण्ड