२७८ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र ०९ , ११:४५ बजे

वातावरण संरक्षण र दीगो विकासको अपरिहार्यता

Image

२१ औं शताब्दीमा ‘वातावरण र दीगो विकास’को महत्व एकअर्कामा सम्बन्धित छ । वर्तमान समयमा वातावरण, दीगो विकास, वातावरणीय व्यवस्थापनको सवाल महत्वपूर्ण रुपमा रहिआएको छ । विकास र समृद्धिलाई चीरस्थायी बनाउनुपर्ने आवश्यकताको सन्दर्भमा यो आवश्यक छ । वातावरण र दीगो विकास एकअर्काका पूरकको रुपमा रहिआएका छन् । वातावरण निरन्तर परिवर्तनोन्मुख तथा गतिशील प्रक्रिया हो ।

मानिस, अन्य जनावर तथा वनस्पतिको अवस्था एवम् स्वरुपमा परिर्वतन आइरहन्छ । यस्ता परिवर्तनका लागि मानवीय तथा प्राकृतिक दुबै प्रकारका कारणहरू रहेका हुन्छन् । प्राणी वनस्पति, वायुमण्डल अन्य जैविक र अजैविक वस्तुहरूमध्ये कुनै पनि तत्वमा परिवर्तन आएमा परिवर्तन तथा गतिशीलको अवस्था देखा पर्दछ । उदाहरणको रुपमा वन सम्पदा तथा मांशहारी जनावरको अस्तित्वलाई लिन सकिन्छ । प्रशस्त मात्रामा वन रहँदा शाकाहारी जनावर बढ्छन् । शाकाहारी जनावरको वृद्धिले मांशहारी जनावरको आहाराको आपूर्ति बढ्न जान्छ ।

वातावरण सबै प्रकारका सामाजिक, आर्थिक, जैविक, भौतिक, रासायनिक तत्वको योग हो र यिनीहरूको आपसी अन्तक्र्रिया र अन्तर निर्भरताबाट परिवेश बन्दछ । मानिसलाई आवश्यक पर्ने सम्पूर्ण तत्वहरू वातावरणबाट प्राप्त हुन्छन् । खाना, स्वास–प्रश्वास लगायत अनेकौं कुरामा मानिस, वातावरण तथा परिवेशप्रति निर्भर हुन्छ । मानिस हरेक सामाजिक, आर्थिक, भौतिक आदि किसिमका कार्यले वातावरणमा प्रभाव पार्ने हुँदा मानिस वातावरणमा असन्तुलन ल्याउने कारक तत्व हो । वातावरणमा मानिसको वरिपरिका जैविक तथा अजैविक तत्वहरू समावेश हुन्छन् ।

मानिसले आफू खुसी र सम्पन्न रहनका लागि सभ्यताको क्रम सँगसँगै विभिन्न किसिमका काम गर्दै आएको छ । यस क्रममा प्राकृतिक साधनको उपयोग गरी आफ्ना आवश्यकता पूरा गर्ने क्रममा प्रकृतिमाथि दबाब सिर्जना पनि गरिरहेको छ । जनसंख्याको वृद्धि तथा आवश्यकता अनुसार मानिसले गरेका कार्यहरूबाट प्रकृतिमा अनेक प्रकारका असामान्य अवस्था पनि सिर्जना भएका छन् ।

यसले मानव जातिको सिर्जनालाई कतिपय सन्दर्भमा दीर्घकालीन बनाउनमा अवरोध समेत गरेको देखिन्छ । केही दशक पूर्वसम्म विकासका प्रयास र कार्यक्रमलाई वर्तमान सन्ततिको सुख समृद्धिसँग मात्र जोडेर हेर्ने गरिन्थ्यो । यातायात, सञ्चार, विद्युत्, खानेपानी जस्ता सुविधाको विस्तारले मानिसले सुख पाएको छ भन्ने अर्थ लगाई यसलाई विकासको संकेतको रुपमा लिइन्थ्यो । यस्तो विकास गर्दा प्राकृतिक सन्तुलनमा तथा सबै व्यक्तिको सुख समृद्धिमा के कस्तो असर पर्दछ तथा परेको छ भन्ने सवालमा खासै खोजीनीति गरिएको छैन । यसले गर्दा कतिपय सुख समृद्धिका लागि भएका कार्यले कालान्तरमा मानिसलाई हानि पुर्‍याउन पनि थाल्यो ।

भावी सन्ततिको लागि पनि प्राकृतिक साधनको संरक्षण गर्नुपर्ने हुँदा दीगो विकासले संरक्षणलाई बढी महत्व दिन्छ । दीगो विकासको अवधारणाले भावी सन्ततिलाई पनि पृथ्वीको उत्तिकै हकदारको रुपमा लिएको छ । भावी सन्ततिका लागि पनि प्राकृतिक साधन आवश्यक हुन्छ । प्राकृतिक सम्पदा तथा अन्य साधन धेरै कम हुन गएमा भावी सन्ततिले आफ्नो आवश्यकता पूरा गर्न सक्दैनन्, यसले गर्दा भावी सन्ततिको आवश्यकता पूर्ति क्षमतालाई कम नगराई वर्तमान आवश्यकता पूरा गर्दै जानु दीगो विकासको अवधारणामा पर्दछ ।

वातावरण मानिसको वरिपरिको भौतिक तथा अभौतिक परिवेश हो । विकासका कार्यहरू सञ्चालन गर्दा वरिपरिको परिवेशलाई प्रत्यक्ष रुपमा असर पुग्दछ । विकासका कार्यलाई एक पक्षीय रुपमा मात्र सञ्चालन गर्दा र अर्को वातावरणीय पक्षको वेवास्ता गर्दा प्रतिफल लिन तथा त्यसलाई दीर्घकालीन बनाउन कठिन पर्दछ । नेपालमा योजनाबद्ध विकास प्रयासको इतिहास ६ दशक पार गरिसकेको छ । योजना विकास सर्वप्रथम विक्रम सम्वत् २०१३ सालमा प्रथम पञ्चवर्षीय योजनाबाट सुभारम्भ गएको पाइन्छ । नेपाल विकास योजनालाई हेर्दा हाल १३ वटा आवधिक योजनाहरू कार्यान्वयन भइसकेका छन्, तापनि नेपालको विकासलाई हेर्दा त्यति फड्को मार्न सकेको छैन । तर, विकासजस्तो देखिएका कतिपय कार्यको नकारात्मक प्रभाव देखिन थालेका छन् ।


पूर्वाधारको निर्माण गर्ने कार्यहरू जस्तै– विद्युत् उत्पादन, सडक निर्माण, नहर निर्माण, शैक्षिक क्षेत्रमा सुधार, सूचना तथा सञ्चार क्षेत्रको विकास आदिमा वातावरणीय पक्षलाई वेवास्ता गरिएको तथा वातावरण संरक्षणलाई समेट्न नसकिएकाले हाल कतिपय स्थानमा समस्यामूलक परिस्थिति उत्पन्न भएका छन् । सडक निर्माण गर्दा ढल नबनाउने र वनस्पति जथाभावी काट्ने प्रवृत्तिले गर्दा सडकहरू बारम्बार बिग्रन गई मर्मत सम्भार खर्च बढी गर्नुपर्ने बाध्यात्मक अवस्था छ । बाँध बनाउँदा अनावश्यक जलाशय बन्ने पानीको बहाबलाई मानिसले आफ्नो अनुकूल बनाउनेजस्ता प्रयत्नले गर्दा त्यहाँको जैविक विविधतामा नकारात्मक असर परिरहेको छ ।

वर्तमान समयमा नेपाल लगायत संसारका अन्य देशभरमा प्राकृतिक साधन र स्रोतको खपत बढिरहेको छ । वर्तमान लाभका लागि मानिसले प्राकृतिक स्रोतसाधनको विचारै नगरी अन्धाधुन्दा तरिकाले उपयोग गरिरहेका छन् । यसले गर्दा भविष्यमा हामी र हाम्रा सन्ततिलाई ठूलो मार पर्न सक्ने स्थिति नआउँला भन्न सकिन्न । वातावरण नीति र व्यवस्थापनका लागि केही प्रयत्नहरू हुन पनि थालेका छन् । तर, यस्ता प्रयास वा प्रयत्न कछुवाको गतिमा मात्र अघि बढिरहेका छन् ।

विभिन्न देशमा स्रोतको संरक्षणको आवश्यता छ भन्ने भावना र अनुभव भएको जनशक्तिको कमीले गर्दा हाल प्राकृतिक स्रोत र साधनको उपभोगमा विभिन्न समस्या उत्पन्न भएको पाइन्छ । योजनाकारले स्रोत संरक्षण सम्बन्धी कुरा योजनामा उल्लेख वा समावेश गर्न नसकिएकाले गर्दा विकास निर्माणका कार्यहरू एकांकी प्रकृतिका रुपमा अघि बढिरहेको छ । व्यक्ति, संख्या आदिलाई दीगो विकासको मूल प्रवाहमा ल्याउन कठिन परिरहेको छ ।

वातावरण र दीगो विकास मानवका निम्ति सुख, समृद्धि तथा अस्तित्वका लागि आवश्यक छन् । संसारमा भएका प्राणीको अस्तित्वका लागि वातावरणको संरक्षण मानव अस्तित्वमा खतरा उत्पन्न हुन्छ । यस्तो अनुभव नेपाल लगायत अन्य थुप्रै देशले महसुस गर्नुपरेको छ । प्राणीको अस्तित्व वन, जंगल, पानी, स्वच्छ वायुमण्डल जस्ता तत्वमा निर्भर पर्ने हुनाले विकास कार्यको सञ्चालनको सन्दर्भमा ध्यान पुर्‍याउनु आवश्यक छ । वातावरणीय पक्षलाई वेवास्ता गरिएको विकास निर्माण कार्यले दीर्घकालीनता उपलब्ध गर्न सक्दैनन् । सडक बनाँउदा ढल बनाउने, बाटोका आसपासमा भएका रुखलाई सकेसम्म जोगाउने र खाली भएको सडकको छेउछाउको जमिनमा वृक्षारोपण गर्ने, पानीका मुहानको उचित संरक्षण तथा निकासको व्यवस्था गर्न सकेमा सडकले लामो समयसम्म सेवासुविधा उपलब्ध पुर्‍याउन सक्दछ ।

विद्युत्का लागि बाँध बनाउँदा जम्ने पानीले डुवाउने क्षेत्रको व्यवस्थापन, स–साना नदी अथवा ठूल्ठूला नदीको किनारमा बाँध बाध्ने, तल्लो तटीय क्षेत्रमा पानीको कमीले पर्ने असरको सही लेखाजोखा गर्न सकेमा मात्र त्यस्ता कार्यको प्रतिफल लामो समयसम्म प्राप्त गर्न सकिन्छ । उद्योग व्यवसाय सञ्चालन गर्दा त्यहाँबाट उत्सर्जन हुने ठोस, तरल र ग्याँसको असर विश्लेषण गरी उचित व्यवस्था मिलाउनु आवश्यकता छ । अन्यथा, प्राकृतिक तथा सांस्कृतिक संकट निम्त्याई मानिसलाई नै दुःखदायी अवस्थामा पुर्‍याएर छोड्न सक्ने सम्भावना बढी हुन्छ ।

मानिसले जीविकोपार्जनका लागि प्राकृतिक साधनको उपयोग गरिरहेका हुन्छन् । त्यस्ता प्राकृतिक साधनहरू जथाभावी उपयोग गर्दा निश्चित समयपश्चात् उसको व्यवसाय नै संकटमा परी बन्द हुने अवस्थामा पुग्न जान्छ । जस्तैः वन सम्पदामा आधारित उद्योग सञ्चालन गर्दा हामीले तीव्र रुपमा वृक्षारोपण गर्ने व्यवस्था नगरेमा निश्चित समय पश्चात् कच्चा पदार्थको अभावले उद्योग व्यवसाय बन्द गर्नुपर्ने अवस्था पनि उत्पन्न हुन जान्छ ।

खेतबारीमा बढीभन्दा बढी रासायनिक पदार्थको प्रयोग मात्र गर्दा निश्चित समय पश्चात् माटोको गुण बिग्रने, बालीनालीको लागि आवश्यक मित्र किराहरू मर्ने अवस्था उत्पन्न हुन सक्दछ । यस्तो प्रवृत्तिले बालीनालीको उत्पादकत्व घटाउँछ । कतिपय आवश्यक वनस्पतिहरू पनि मर्न पुग्छन् । रासायनिक मल तथा पदार्थको अवशेष वर्षाको पानीले नदी खोलामा पुर्‍यादिनाले जलचरको विनाश हुनेजस्ता नकारात्मक अवस्था आउने गर्दछ । यी सबै सन्दर्भलाई हेर्दा मानिसले वातावरणको वेवास्ता गर्दा तथा काम गर्दा वातावरणीय पक्षलाई ध्यान दिन नसक्दा स्वयम् संकट भोग्नुपर्ने अवस्था उत्पन्न हुन सक्छ ।

अन्तः हामीले ‘वातावरण र दीगो विकास’लाई राम्रोसँग केलाएर हेर्दा मानव जीवनका निम्ति दुबै अपरिहार्य छ । ‘वातावरण र दीगो विकास’ एक रथका दुई पाङ्ग्राका रुपमा चिनिँदै आएको छ । हामीले वातावरणलाई विनास गरी विकास गर्ने हो भने त्यो दीगो विकास हुन सक्दैन, त्यसैले हामी मिलेर आ–आफ्नो क्षेत्रको वातावरण तथा विकास र विकासका कार्यलाई कसरी अघि बढाउन सकिन्छ, त्यो कुरा ध्यान केन्द्रित हुन जरुरी रहेको छ । अहिलेको यो आधुनिक युग अथवा २१ औं शताब्दीमा हेर्दा विकास धेरै नै महत्वपूर्ण अंगका रुपमा रहिआएको छ । दीगो विकासका कार्य सँगसँगै हामीले वातावरणलाई पनि संरक्षण गर्न जरुरी रहेको छ ।


सम्बन्धित