७९५ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र ०९ , ११:३३ बजे

‘विकृति र तस्करीमा कर्मचारी र प्रहरीको गिरोह नै सक्रिय छ’

Image

– अर्जुन साउँद
केन्द्रीय सदस्य, योङ कम्यूनिस्ट लिग (वाइसीएल) नेपाल
नेकपा माओवादी केन्द्रले सामाजिक विकृति विसंगति, भ्रष्टाचार लगायतमा खरबदारी गर्ने उद्देश्यसहित भातृ संगठन योङ कम्यूनिस्ट लिग वाइसीएल गठन गरेको छ । उसले अनियमितताविरुद्ध खबरदारी गर्ने र सम्बन्धित निकायलाई दबाब दिनेजस्ता काम गर्दै आइरहेको दावी गर्ने गरेको छ । यसै सन्दर्भमा कञ्चनपुर जिल्लामा वाइसीएलले सञ्चालन गर्दै आएका गतिविधि र विद्यमान सामाजिक कुरीतिमाथि वाइसीएलले निर्वाह गरेको भूमिका लगायत विषयमा केन्द्रित रहेर वाइसीएलका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज अर्जुन साउँदसँग पत्रकार जनकसिंह विष्टले गरेको कुराकानीको सम्पादित अंश:

तपाईको संगठन वाइसीएलको उद्देश्यबारे बताइदिनुस् न !
– वाइसीएल भनेको नेकपा माओवादी केन्द्रको सहायक संगठन हो । खासगरी १६ देखि ४० वर्षका युवाको पार्टीको सहायक संगठन हो । जसले समाजमा भएका विकृति, विसंगतिका विरुद्ध तथा सोझासाझा जनताका निमित्त आशको वाइसीएल र भ्रष्टाचार, तस्कर, घुसखोरीका निमित्त त्रासको वाइसीएलका रुपमा काम गर्दै आइरहेको छ ।

कञ्चनपुर जिल्लामा यसको विस्तार कहिले भयो ? जिल्लामा संगठनको स्थिति कस्तो छ ?
– सुरुमा वाइसीएललाई अर्धसैनिक संरचनाको रुपमा विकसित गरिएको थियो । तर, तत्पश्चात् विभिन्न शान्ति प्रक्रियाका कारणले गर्दा युएनको दबाबले गर्दा र शान्ति प्रक्रियामा नै अलिकति दखल पुग्ने भएको कारणले गर्दा हाम्रो पार्टीको अध्यक्ष कमरेड प्रचण्डको निर्देशनमा नै अर्धसैनिक संरचना भंग गरेर वाइसीएललाई पार्टीको सहायक संगठनको रुपमा विकास गरिएको छ ।

कञ्चनपुर जिल्लामा वाइसीएलको संरचनाको कुरा गर्दा अहिले नयाँ संरचना अनुसार जिल्लाका हरेक स्थानीय तहमा हामीले नगर र गाँउ कमिटी गठन गरेका छौं । सँगै जिल्ला सम्मेलनको तयारी छ र जिल्ला सम्मेलन आयोजक समिति पनि गठन गरेर जिल्लामा विभिन्न क्रियाकलापमा वाइसीएल सक्रिय छ । विकृति, विसंगति, भ्रष्टाचार, राष्ट्रियता, दण्डहीनताका मुद्दाको सवालमा त्यस्तै विकासका एजेण्डाका सवालमा र युवा अभियानका सवालमा पनि हामी जोडिएका छौं ।

कञ्चनपुरमा अहिले कालाबजारी र मंहगीको अवस्था कस्तो छ ?
– कञ्चनपुरमा अन्य ठाउँको तुलनामा भारतसँग खुला नाका भएको कारणले अन्य जिल्लाको तुलनामा अलि बढी छ । खासगरी जिल्लाको दक्षिणी क्षेत्र, माथिल्लो ब्रह्मदेव र दोधाराचाँदनी क्षेत्रबाट विभिन्न चोरी तस्करी भइरहेको स्थिति छ । नेपालबाट बाहिर पनि गइरहेको अवस्था छ । जस्तैः सुपारी, चाइनिज सामानहरू तस्करीको कुरा छ । यो विषयमा हामीले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई मौखिक र लिखित रुपमा आग्रह गरिसकेका छौं । तर, सुनुवाइ भएको छैन । हामीले के बुझेका छौं भने भ्रष्टाचार हुनुमा सांगठनिक रुपमा नै ठूलो संगठनको हात छ । यहाँ केही कर्मचारी र केही प्रहरी प्रशासनका मान्छेको गिरोह छ, जसको कारणले गर्दा हामीले यसलाई निर्मुल पार्न सकिरहेका छैनौं ।

कालोबजारी एवम् तस्करीको कारण के देख्नुहुन्छ ? के उपभोक्ता पनि दोषी छन् र ?
– एउटा कुरा त सिण्डीकेटको प्रथा छ नेपालमा । किनकि, उपभोक्ता अधिकारका निमित्त लड्ने उपभोक्ता अधिकार मञ्चका विभिन्न व्यक्ति तथा संघसंस्था रहेका छन् । तर, उहाँहरू कहाँ हराउनुभएको छ त्यो मलाई थाहा भएको छैन् । खासगरी, के हो भने उपभोक्तालाई थाहा भएको स्थिति हो । तर, बाधात्मक स्थिति रहेको छ । म सामान्य उदाहरण दिन चाहन्छु, पेट्रोलियम पदार्थमा कालोबजारी भइरहेको स्थिति छ । त्यो विषयमा उपभोक्ता र यहाँको प्रशासनलाई थाहा भएकै कुरा हो ।

त्यो गुनासोका आधारमा हामीले विभिन्न पेट्रोल पम्पमा छापा हानेका छौं । तर, यो हुँदाहुँदै पनि जिल्लामा प्रशासनकै मिलमतो, विभागका व्यक्तिको मिलमतोमा घटना मिलाइन्छन् । यसको अनुसन्धान र सन्तुलन मिलाउने निकायका मान्छे नै यसमा आफैं मुछिएका छन् । उहाँहरू आफैं आर्थिक प्रलोभनमा परेर सहभागी हुनुभएको छ । उपभोक्तामा अझैं चेतनाको दर धेरै अभिवृद्धि भइसकेको स्थिति छैन । तर, कतिपय चेतनशील उपभोक्ता पनि छन्, त्यो हुँदाहुँदै पनि प्रशासनले कारबाही नगरेको स्थिति हाम्रो आँखा अगाडि छर्लङ्ग छ ।

विकृतिको नियन्त्रणका लागि जिल्लामा तपाईको संगठनले के काम गरको छ ?
– हाम्रो संगठनले खासगरी कञ्चनपुरमा यातायातमा हुने बेथितिका विषयमा सामान्य लाइसेन्सको लिखित परीक्षामा पास हुने व्यक्ति अथवा सही लेखेको मान्छे पनि फेल हुने स्थिति र घुस दिएर, पैसाको चलखेल गरेर लाइसेन्स लिनुपर्ने अवस्था, भन्सार कार्यालयमा सामानको कम बिल देखाएर राजस्व बुझाउने कुरामा छापा मारेको स्थिति छ । हामीले कञ्चनपुरमा वाइसीएलको २५ जनाको स्पेसल टास्क फोर्स, हरेक कार्यालयमा गएर के कस्ता गतिविधि भइरहेको छ, अनियमितता कुन तहमा कसरी गरिरहेको छ भनेर अनुगमनको पाटोमा लागेका छौं ।

केही ठाउँमा हामीले जस्तै यातायातमा हुने विकृति विसंगतिमा अहिले त ठूला घटना बाहिर आएको छ । त्यहाँको कर्मचारीकै मिलमतोमा चोरीका गाडीलाई वैधानिकता दिने विषय हामीले पहिले नै यो विषयमा प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका थियौं । तर, प्रशासनले त्यसको वेवास्ता गरेको स्थिति छ ।

राजनीतिक संगठनमै आवद्ध भएका नेताले आफ्ना मान्छेलाई लाइसेन्समा पास गराउन नामलिस्ट बुझाउँछन् भन्ने पनि सुनिन्छ नि !
– हुन त त्यसो पनि नभएको होइन । धेरै किसिमको रोग छ । तर, हामीले के भन्न खोजेका हौं भने पद्दतिको विकास गरौं । सम्भवः हाम्रो संगठन वाइसीएलको तर्फबाट हामीले त्यसरी सिफारिस गरेर हाम्रै संगठनभित्रका साथीहरू वा सहायक संगठनका साथीहरू अब गएका होलान् । किनभने, जसरी दुनिया चलिरहेको छ त्यसरी चल्नुपर्छ । सजिलो माध्यमबाट भएन भने कहिलेकहीँ अलिकति बाङ्गोटिङ्गो बाटो पनि रोज्नुपर्ने देखिन्छ । तर, सबैभन्दा महत्वपूर्ण पाटो भनेको पद्दति वा प्रणालीको विकास गर्नुपर्छ भन्ने हाम्रो माग हो ।

हामीले के भन्न खोजेका हौं भने सबैभन्दा महत्वपुर्ण चिज नागरिकता त नियमित दिइरहेको छ भने लाइसेन्स किन त्यति लामो समयसम्म रोकिनुपर्ने ? लाइसेन्स पनि आवश्यक परेको खण्डमा फाराम भर्ने र क्रमशः त्यसलाई निरन्तरताका साथ वितरण प्रक्रिया गर्नुपथ्र्याे । किन त्यसमा रोक्नुपर्ने ? त्यही एउटा प्रश्न छ नि !

भ्रष्टाचार विरोधी नारा बनाउने र पर्दा पछाडि आफैं नाराको धज्जी उडाएर समाजमा सदाचारको परिकल्पना सम्भव छ ?
– यो के भइरहेको छ भने भ्रष्टाचारकै विभिन्न प्रकरण खासगरी एनसेलले कर नतिरेको प्रकरणमा हाम्रो केन्द्रीय कार्यालयले नै सर्वप्रथम विज्ञप्ति निकालेर कर छुटको प्रक्रिया भइरहेको छ भनेको स्थिती हो । त्यस्तै, अरु विद्यार्थी संगठन, युवा संगठन पनि जोडिएको स्थिति हो । सुरुवाति चरणमा वाइसीएलले यो विषयमा वकालत गरेकै हो । र, अहिले पनि हामी के भन्दैछौं भने हामीले जो विषयलाई जगाएका थियौं, चुडामणि शर्मा अख्तियारले ठूलो माछा समात्यो अब कारबाही हुन्छ भन्ने थियो । तर, न्यायालयले उनलाई बाहिर इज्जत प्रदान गर्‍यो ।

अब नेपालको न्यायभित्र राजनीति घुसिसकेको छ । न्यायालय स्वच्छ छैन । कम्तिमा न्यायालय स्वच्छ नभइकन कुनै पनि न्याय मर्नु स्वाभिक हो । त्यसकारण हामीले के भनेका छौं भने पर्दा पछाडि होस् वा आँखा अगाडि हामीले भेटेसम्म, हाम्रो पहुँचमा परेसम्म कही पनि कसैले पनि यदि गलत गतिविधि गरेको छ भने प्रहरी प्रशासनको माध्यमबाट, सञ्चारकर्मी र मिडियाको माध्यमबाट हामी कारबाहीको दायरामा ल्याउँछौं । हामी अब हुने जिल्ला सम्मेलनबाट यहाँ रहेका कार्यालयका सम्पूर्ण कर्मचारीलाई बोलाउँछौं र निर्देशन दिन्छौं कि यही तरिकाले गएमा अब ठिक हुनेवाला छैन ।

हाल युवाहरू लागूऔषध दुव्र्यसनीको शिकार हुने क्रम उच्च रहेको पाइन्छ । तपाई युवा भएको नाताले यसको नियन्त्रण, न्यूनिकरणमा खेल्न सक्ने भूमिका के हो ?
– यो एकदमै दुःखको कुरा छ, अहिले अब बजारमा अलिकति ड्रग, भ्याट खाने, लागूऔषधको प्रयोग गर्ने कुराहरू धेरै आएको छ । यो विषयमा हाम्रो संगठनका तर्फबाट हामीले के भनेका छौं भने ड्रग्सहरू जो सीमा क्षेत्रबाट नेपाल आउने गरेको छ, त्यसमा कडाइ गर्नुपर्ने देखिन्छ । यही पनि कतिपय मेडिकलले लुकीछिपि लागूऔषध बेचिरहेको स्थिति छ । त्यो विषयमा नियमन र अनुगमन गर्ने निकाय, औषधि विभागले पनि कडाइ गर्नुपर्छ । हामीले लागूपदार्थ दुव्र्यसनीमा फसेका युवा कति छन् त ? त्यो तथ्याङ्क लिएर तिनलाई कसरी हुन्छ, त्यसबाट छुटकारा गराउने भन्ने कुरामा जोड दिनुपर्छ ।

साउन २८ गते सिद्धनाथ विज्ञान क्याम्पसमा अखिल क्रान्तिकारीका जिल्ला सदस्य डम्बर जाग्री घाँटी रेटिएको अवस्थामा मृत भेटिनुभयो । उक्त घटनामा वाइसीएलको विश्लेषण के छ ?
– डम्बर जाग्री कञ्चनपुर जिल्लाको जुझारु विद्यार्थी नेता र क्षमतावान व्यक्ति हुन् । तर, उहाँको हत्या भएको छ । सर्वप्रथम म उहाँलाई श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु । हामीले उक्त घटनामा संगठनको तर्फबाट पनि खबरदारी गरेकै छौं । तर, खासमा के हो भने दिनदहाडै त्यस्तो घटना हुँदा यहाँको प्रहरी प्रशासन, विज्ञान क्याम्पसको प्रशासन, त्यहाँको होस्टेल इन्चार्ज के हेरेर बसेका छन् ।

७ नम्बर प्रदेशको मुटुको क्याम्पसको रुपमा हेरिएको विज्ञान क्याम्पसमा पहाडका विभिन्न जिल्लाबाट अध्ययनको लागि विद्यार्थी आउनुभएको छ । तर, क्याम्पसमा यस्तो हुँदै गएमा कसरी त्यहाँ पढ्ने भन्ने प्रश्न स्वभाविक हुन्छ । जाग्रीको हत्या योजनावद्ध रुपमा गरिएको हाम्रो ठहर रहेको छ । तसर्थ, घटनाको छानविनका लागि प्रशासनले कडाइका साथ लाग्नुपर्छ । तर, घटनाको अनुसन्धानमा लापरवाही गरेको खण्डमा हामी जाग्रीको रगतको मूल्य चुकाउन पनि तयार छौं ।

घटनापछि क्याम्पस प्रशासन र छात्रवास इन्चार्जको लापरवाही भयो भनेर सबैले भने । तर, त्यसअघि त्यस्ता कमजोरीमाथि किन निगरानी गरिएन ?
– सिद्धनाथ विज्ञान क्याम्पस लगायत विभिन्न क्याम्पसमा विद्यार्थी संगठन छन्, ती संगठनले त्यो विषयमा पटक–पटक माग उठाएको स्थिति हो । तर, यहाँको प्रशासन के छ भने जडसुत्रवादी जो हल्लिनै चाहन्न । एउटा कसै पार्टीको टिका लगाएर क्याम्पसको प्रमुख र प्राध्यापक भइरहेका हुन्छन् । राजनीतिबाट कसै न कसैबाट प्रयोग भइरहेको क्याम्पस प्रमुखले कसको सुन्छ र ? उ आफैंमा आग्रह–पूर्वाग्रही हुन्छ । नैतिकता हुन्थ्यो भने उहाँले मज्जाले राजीनामा दिनुपथ्र्यो । यस्ता घटनाका सवालमा क्याम्पस प्रशासनले भूमिका खेलेको अझैं पनि हामीले महसुस गरेका छैनौं । तथापि, हाम्रो संगठन र अखिल क्रान्तिकारी जोडदार तरिकाले लागेको छ ।

आफू निकटका मान्छे परेमा गलत पनि सत्य हुने, फरक संगठनमा आस्था राख्ने व्यक्ति परे सही पनि गलत भन्दै विरोध गरिराख्ने प्रवृत्ति अब कहिलेसम्म रहन्छ ?
– यो प्रवृत्ति अब चाडै अन्त्य हुन्छ । किनभने, यो राम्रो प्रवृत्ति हैन । हामीले के भनेका छौं भने कुनै पनि पार्टी, संगठन यो प्रवृत्तिको पक्षमा लाग्नु हुँदैन । अहिले पनि जुन प्रवृत्ति आएको छ, आफ्नो स्वार्थका निमित्त पार्टीको कार्यकर्ता हुँ भन्ने र विभिन्न पद कुम्ल्याउने आचरणका केही साथीहरू छन् । त्यसकारण यो प्रवृत्तिको अन्त्य गरिनुपर्छ ।


सम्बन्धित