७२३ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र ०८ बिहीबार, १०:३३ बजे

स्थानीय तहमा प्रशासनिक कर्मचारीको अभाव

Image

महेन्द्रनगर । स्थानीय तहमा प्रशासनिक कर्मचारीको अभाव देखिएको छ । स्थानीय तह निर्वाचनपछि वडावडाबाटै सेवा प्रवाह गर्नुपर्ने भएकाले कर्मचारी अभाव भएको हो ।

स्थानीय तहमा माग गरिएका कर्मचारीको पदपूर्ति नहुँदा सेवा प्रवाहमा जटिलता थपिएका छन् । जिल्ला कर्मचारी व्यवस्थापन समितिसँग नगरपालिका तथा गाउँपालिकाले तत्काल आवश्यक पर्ने कर्मचारी माग गरेको भएपनि पदपूर्ति नहुँदा सेवा प्रवाहमा असहजता देखिएको हो । बेलौरी नगरपालिकाका कार्यकारी अधिकृत नरबहादुर विकले जिल्ला कर्मचारी व्यवस्थापन समितिले विषयगत कार्यालयका लागि कर्मचारी स्थानीय तहमा पठाएको भएपनि माग भए बमोजिमका प्रशासन समूहका कर्मचारी अझैं पनि नगरपालिका नपुगेका बताए । ‘प्रशासन समूहका कर्मचारी नहुँदा सेवा प्रवाहमा असहजता देखिएको छ,’ उनले भने ।

कर्मचारी व्यवस्थापन समितिले विषयगत कार्यालयका १२ जना कर्मचारी नगरपालिकामा पठाएको बताउँदै प्रशासन समूहका नायब सुब्बा, खरिदार र सहायक कर्मचारी गरी ६ जना माग गरिएको भएपनि हालसम्म १ जना कर्मचारी पनि नगरपालिकामा नपुगेको बताए ।

पुर्नवास नगरपालिकाका कार्यकारी अधिकृत अर्जुनबहादुर कार्कीले आवश्यक कर्मचारी पूर्ति नहुँदा एउटै वडा सचिवले ४ वडाको काम गर्नुपर्ने बाध्यता रहेको बताए । ‘विषयगत कार्यालय कृषि, वन, महिला तथा बालबालिका, जनस्वास्थ्य लगायत कार्यालयबाट केही कर्मचारी नगरपालिकामा पुगेका छन्,’ उनले भने, ‘तर, माग गरिएका प्रशासन समूहका कर्मचारी अहिलेसम्म पठाइएका छैनन् ।’ पुर्नवास नगरपालिकाले जिल्ला कर्मचारी व्यवस्थापन समितिलाई प्रशासन समूहका २२ जना कर्मचारी माग गरेको थियो ।

जिल्ला समन्वय समिति कञ्चनपुरका अनुसार जिल्लाका केही तहमा प्रशासन समूहका कर्मचारी पठाइएको छ । तर, पठाइएका कर्मचारी संख्या अत्यन्तै न्यून रहेको छ । समन्वय समिति कञ्चनपुरको प्रशासन शाखाका खरिदार सुरेन्द्रदेव भट्टले भीमदत्त नगरपालिकाबाहेक जिल्लाका ६ नगरपालिका र २ गाउँपालिकामा तत्कालका लागि २ सय १६ जना कर्मचारी माग भई आएको छ ।

खरिदार भट्टले पुनर्वास नगरपालिकामा ४५ जना कर्मचारी, शुक्लाफाँटामा ३८, बेदकोटमा २२, महाकालीमा २८, कृष्णपुरमा २८, बेलौरी नगरपालिकामा ६ जना कर्मचारीको माग भएको जानकारी दिए । लालझाडी गाउँपालिकाले २६ र बेल्डाँडी गाउँपालिकाले २२ जना कर्मचारी माग गरेको उनले बताए । जिल्ला कर्मचारी व्यवस्थापन समितिले हालसम्म जिल्लामा रहेका विषयगत कार्यालयबाट १ सय १० कर्मचारी स्थानीय तहमा खटाइसकेको छ ।

स्थानीय विकास अधिकारी तथा जिल्ला कर्मचारी व्यवस्थापन समितिका सदस्य सचिव राजेश पौडेल जिल्ला बाहिर रहेकाले कुन तहमा कति कर्मचारी खटाइएको भन्ने बारेमा आफूलाई जानकारी नभएको खरिदार भट्टले बताए । तर, स्थानीय तहले प्रशासन समूहका कर्मचारी नहुँदा सेवा सञ्चालनमा जटिलता देखिएको बताएका छन् । स्थानीय तहबाट प्राप्त जानकारी अनुसार विषयगत कार्यालयका कर्मचारी पनि स्थानीय तहमा अझैं पुगेका छैनन् । समन्वय समितिले खटाएका कर्मचारीको अनुपात हेर्दा स्थानीय तहमा विषयगत कार्यालयका कर्मचारी समेत नपुगेको देखिएको छ ।

समन्वय समितिले १ सय १० कर्मचारी स्थानीय तहमा खटाएको जनाएपनि हालसम्म जिल्लाका ८ तहमा ३१ जना कर्मचारी मात्र पुगेका छन् । प्राप्त जानकारी अनुसार बेलौरी नगरपालिकामा १२ जना, पुनर्वासमा ४ जना, महाकालीमा ३ जना, शुक्लाफाँटामा ५ जना कर्मचारी पुगेका छन् । कृष्णपुर नगरपालिकामा २ जना, बेदकोटमा १ जना र बेल्डाँडी गाउँपालिकामा ४ जना कर्मचारी पुगिसकेका छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कर्मचारी व्यवस्थापन समितिका संयोजक मनोहरप्रसाद खनालले केही कार्यालयको माथिल्लो निकायबाट स्पष्ट निर्देशन प्राप्त नहुँदा कर्मचारी व्यवस्थापनमा समस्या उत्पन्न भएको बताए । विषयगत कार्यालयका कर्मचारी स्थानीय तहमा जाने क्रम जारी रहेको बताउँदै उनले माथिल्लो निकायबाट स्पष्ट निर्देशन प्राप्त नगरेका कार्यालयलाई छिटोभन्दा छिटो निर्देशन प्राप्त गर्न भनेको बताए । ‘विषयगत कार्यालयमा प्राविधिक कर्मचारी हुने भएकाले प्रशासन समूहका कर्मचारी पूर्ति गर्न सकिएको छैन,’ उनले भने ।

प्रशासन समूहका कर्मचारी कार्यरत रहेका कार्यालयको माथिल्लो निकायले बोलेपछि मात्र आफूले कर्मचारी मिलान गर्न सक्ने प्रमुख जिल्ला अधिकारी खनालले बताए । ‘सम्बन्धित कार्यालयले माथिल्लो निकायबाट निर्देशन प्राप्त गरेमा कर्मचारी व्यवस्थापन गर्न सहज हुनेछ,’ उनले भने, ‘कर्मचारी समायोजन विधेयक पास नहुँदासम्म कर्मचारी खटनपटनको अन्यौलता नहट्ने देखिन्छ ।’

 

 


About Author
-जनकसिंह विष्ट