१९९६ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र ०८ , ०९:१९ बजे

कञ्चनपुरमा विद्युत् आपूर्ति सहज हुने

Image

महेन्द्रनगर । नेपाल विद्युत् प्राधिकरण अत्तरिया ग्रीड शाखाले १५ एमभीएको नयाँ ट्रान्सफर्मर जडानको कार्य सम्पन्न भएकाले बुधबारदेखि कञ्चनपुरमा विद्युत आपूर्ति सहज हुने जनाएको छ ।

विद्युत् प्राधिकरण अत्तरिया ग्रीड शाखाका इन्जिनियर रुपेशकुमार यादवले नयाँ ट्रान्सफर्मर जडानपछि कञ्चनपुरका वासिन्दाले भोग्दै आएको अनियमित विद्युत् कटौतिको समस्या अन्त्य भएको बताए । ‘महेन्द्रनगर वितरण केन्द्र अन्तर्गतको १३२/३३ केभी प्रशारण लाइनको ७ दशमलव ५ एमभीएको ठाउँमा १५ एमभीए क्षमताको ट्रान्सफर्मर बदलिएको हो,’ उनले भने ।

विगतमा विद्युत्को माग बढी र लोड धान्ने ट्रान्सफर्मरको क्षमता कम हुँदा अनियमित रुपमा लोडसेडिङ हुने गरेको नेपाल विद्युत प्राधिकरण अत्तरिया ग्रीड शाखाले जनाएको छ । ‘अब विद्युत् लाइनमा आउने केही प्राविधिक समस्याबाहेक अन्य समयमा नियमित रुपमा विद्युत् सुचारु हुनेछ,’ यादवले भने ।

‘कञ्चनपुरमा लालपुरमा रहेको विद्युत् प्राधिकरण सवस्टेसनबाट मात्र विद्युत् आपूर्ति गरिँदै आएको छ,’ उनले भने । यसअघि १३२/३३ केभी प्रशारण लाइनमा १० एमभीए र ७ दशमलव ५ एमभीए क्षमताको ट्रान्सफर्मरमार्फत् जिल्लामा विद्युत् आपूर्ति गरिँदै आएको थियो ।

 


About Author
-मानसखण्ड