४२४ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र ०७ , ०९:०२ बजे

हिन्दू संस्कृतिमा महिलाको स्थान र तीजको तडकभडक

Image

पाश्चात्य जगतबाट वर्तमानमा नारी आन्दोलनको कुरा चलिरहेको छ । पाश्चात्य जगतमा नारी स्वतन्त्रताको अर्थ पुरुषझैं अधिकार प्राप्त गर्नु र मताधिकार प्राप्त गर्नुजस्ता मुद्दाहरूबाट सुरुवात भएको हो । पश्चिमी जगतबाट उत्पत्ति भएका धर्म र विचारधाराहरूमा महिलामा आत्मा नै हुँदैन भन्ने जस्ता प्रावधानहरू राखिएको हुनाले त्यहाँ महिलामाथि दमन भएकै हो । केही वर्ष पहिलेसम्म त्यहाँ महिलाहरूलाई मताधिकार समेत प्राप्त भएको थिएन ।

अमेरिका र बेलायतमा महिला मताधिकारका लागि महिला संगठनहरूले लामो संघर्ष गर्नुपरेको थियो । विस्तारै पश्चिमी जगतको नारी स्वतन्त्रताको आन्दोलन उच्छृंखल पनि हुँदै गयो । किनकि, त्यसको सुरुवात नै संघर्षबाट भएको हो, सम्मानबाट होइन । अर्काेतर्फ, हिन्दू धर्म र संस्कृतिमा महिलाको स्थान समाज र राष्ट्रमा सर्वाेपरि मानिँदै आएको छ । नारीको अधिकार माग्ने र दिनेजस्ता प्रश्नभन्दा हिन्दूत्वमा महिलाको सम्मान निकै माथि छ ।

हिन्दू दर्शनमा नारी त्याग र समर्पणको प्रतिमूर्ति हुन् । सरल ज्ञानगम्यता, कोमलतायुक्त दृढता र त्यागमयी उपभोग प्रियता आदि गुण नारीको पूर्ण रुपको दर्शन गराउँछन् । हिन्दू धर्ममा नारी देवीको प्रतिक हुन् । देवताहरूले नसकेको युद्ध देवीद्वारा नै विजय प्राप्त गरेको पौराणिक कथाहरू छँदैछन् ।

हिन्दू धर्ममा नारीलाई सधै उच्च स्थान प्रदान गरिएको छ । ‘श्री अर्थात् लक्ष्मी अथवा धनसम्पत्तिका प्रतिक महालक्ष्मी, ज्ञानका प्रतिक सरस्वती र सौर्यको प्रतिक देवी दुर्गालाई हिन्दू धर्मले मान्दै आइरहेको छ । आदिकालदेखि नै यहाँ ‘अर्धनारीश्वर’को आदर्श रहेको छ । अर्थात्, महिला र पुरुष मिलेर नै सम्पूर्णताको प्रतिक हुन्छन् । नारी आफ्ना सन्तानलाई संस्कार दिने, परिवारमा सेवा गर्ने र वात्सल्यको प्रतिकका साथै वीरताका पनि द्योतक हुन् । मनु स्मृतिमा भनिएको छ– यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवताः ।

यत्रेतास्तु न पूज्यन्ते, सर्वास्तफलाः क्रिया ।।
अर्थात्, जहाँ महिलाको सम्मान हुन्छ, आदर हुन्छ, त्यहाँ देवतागण प्रसन्न हुन्छन्, अनि जहाँ यस्तो हुँदैन, त्यहाँ सम्पूर्ण यज्ञादि क्रियाहरू व्यर्थ हुन्छन् । नारीको महत्ताको वर्णन गर्दै महर्षि गर्ग भन्छन् कि–
यद् गृहे रमते नारी लक्ष्मीस्तद् गृहवासिनी ।
देवताः कोटिशोवत्स ! न त्यजन्ति गृहंहितम् ।।

जुन घरमा सद्गुण सम्पन्न नारी सुखपूर्वक निवास गर्दछे, त्यो घरमा लक्ष्मीको बास हुन्छ । हे वत्स ! करोडौं देवता पनि त्यस्तो घरलाई छाड्दैनन् ।

पारिवारिक सुख र महिलाको भूमिकाबारे अथर्ववेदमा भनिएको छ– ब्रह्मचर्येण कन्या ३ युवानं विन्दते पतिम् । अर्थात्, कन्या ब्रह्मचर्यको पालनबाट सुयोग्य युवा ब्रह्मचारी पतिलाई प्राप्त गरोस् । त्यस्तै, अथर्ववेदमा अगाडि भनिएको छ– विवाहको समय पतिपत्नीलाई भन्दछ कि म प्राण रुप हुँ र तिमी शक्ति रुपा हौं । म सामवेदजस्तै हुँ र तिमी ऋग्वेद जस्तै हौं । म द्युलोकजस्तै हुँ र तिमी पृथ्वी समान हौं । हामी दुइटै यस संसारमा भेटौं र सन्तान उन्पन्न गरौं । (अथर्ववेद १४.२.७१)

त्यस्तै, ‘तिमी ससुराको महारानी भएर बस, सासुको महारानीजस्तै भएर बस, नन्द र देवरसँग स्वामिनी भएर बस अर्थात् तिमी सम्पूर्ण ससुराल र परिवारको मायालु भएर बस ।’ यस्तै, अथर्ववेदकै (१४.२.२६) मा भनिएको छ कि ‘हे बधु तिमी आभूषणादि अलंकृत, परिवारको कष्टलाई दूर गर्ने, पतिको विशेष सेवा गर्ने, सासुससुराको लागि कल्याणकारी र सुखकारी हुँदै यस घरमा प्रवेश गर ।’

ऋग्वेद (१०.८५.४२) र अथर्ववेद (१४.१.२२) मा उल्लेख भए अनुसार ‘हे पतिपत्नी ! तिमी दुइटै यस घरमा बस र कहिल्यै पनि नछुट्टिनु । तिमी दुइटै पूर्ण आयुलाई प्राप्त गर, तिमी दुइटै आफ्नो सन्तान र नातिनातिनीहरूसँग खेल्दै आफ्नो यस गृहमा सधैं प्रसन्नचित्त भएर बस । अर्थात्, पारस्परिक पूर्ण सामन्जस्यसँग बस र कहिल्यै पनि विवाह–विच्छेदको कल्पना पनि नगर । त्यसैले छोडपत्र अवैदिक हो ।’ यसरी हिन्दू धर्ममा पतिपत्नी सम्बन्धलाई जन्म जन्मान्तरको नाता मानिएको छ । विवाह मात्र सामाजिक सामाजिक सम्झौता होइन, त्योभन्दा धेरै माथिल्लो हाम्रो वैदिक परम्पराले मानेको छ । विवाह वैदिक गठबन्धन हो ।
हिन्दू धर्ममा भनिएको छ कि जुन व्यक्ति स्त्री जातिलाई तिरस्कृत, पतित र अपवित्र बनाउँछ, जो मित्रसँग विश्वासघात गर्छ, जो ठूलो भएर पनि अज्ञानी र दुष्ट व्यवहार गर्दछ, उसको पतन निश्चित हुन्छ । त्यसैले स्त्री जातिको हरेक अवस्थामा रक्षा र सम्मान गर्नुपर्दछ (अथर्ववेद २०.१२८.२) ।

आजको दिनमा युवा वर्ग र केही पाश्चात्य शिक्षाको प्रभावमा आएर आफूलाई बुद्धिजीवी र आधुनिक मान्ने मानिसहरू संस्कृत भाषा र संस्कृतिको उपहास गरिरहेका देखिन्छन् । शोध अनुसन्धानको नाममा अनुसन्धानकर्ताहरू कहिलेकाही अनावश्यक खर्च र समय बर्बाद गर्ने किसिमको अध्ययन गरिरहेको पाइन्छ । हाम्रो वैदिक साहित्य यति प्रचुर मात्रामा छ कि त्यसको अध्ययन अनुसन्धानबाट आफूलाई पनि ज्ञान हुनुको साथै समाज र विश्वलाई पनि ज्ञानको आलोकबाट प्रकाशित गर्न सकिन्छ । हिन्दू धर्म सनातन धर्म हो र विश्वको सबैभन्दा पुरानो धर्म पनि हो । हाम्रा रीतिरिवाज र परम्पराहरूमा वैज्ञानिकता रहेको छ । प्रत्येक चाडपर्वहरू मौसम अनुसार र कृषिलाई ध्यानमा राखेर तयार पारिएका छन् ।

प्रसंग अनुसार वर्षायामको अन्त्यतिर किसानहरूलाई फुर्सदको बेला हरितालिका तीज हिन्दू नारीहरूको लागि एउटा ठूलो पर्वको रुपमा रहेको छ । तीज भदौं शुक्ल द्वितियादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेको दिन हरितालिका तीज परेकाले त्यसै दिनलाई मानेर आजसम्म हिन्दू नारीले तीज मनाउँदै आएका छन् । हिन्दू प्रत्येक चाडवाड मनोरञ्जनात्मक हुन्छन्, त्यो अन्य धर्मजस्तै रुनेधुने र शोक मनाउने दिवस मनाइँदैनन् ।

नाचगान सात्विक प्रवृत्तिको हुनुपर्दछ । जीवनका तनावलाई हटाउनको लागि र सामाजिकताको विकास गर्नका लागि स्वस्थ मनोरञ्जन आवश्यक पर्दछ । तर, नेपालमा २–३ दशकयता तीज पर्व मनाउने क्रममा उच्छृंखल प्रवृत्तिहरू देखा परिरहेका छन् । चाडपर्व धनी गरीब सबैले मनाउन सक्ने किसिमको हुनुपर्दछ । चाडपर्वको उद्देश्य सामाजिक समानता हुनुपर्ने हो । तर, दर खाने नाममा १ महिनादेखि पार्टी प्यालेस र होटलमा गएर वाहियात खर्च र तडकभडक गरेको देखिन्छ । यस्तो प्रवृत्तिले साधना र उपासनाभन्दा विलासितातर्फ हाम्रो युवा समाज गइरहेको त छैन भन्ने चिन्ता पनि प्रकट हुन्छ । शिवजीको अर्थ नै कल्याणकारी तत्व हो भने हाम्रा विचारहरू पनि कल्याणकारी हुनुपर्दछ ।

पारिवारिक सुख, सामाजिक हित र राष्ट्रिय हितको समेत कल्याण तब मात्र हुन सक्छ, जब व्यक्तिका विचारहरू सात्विक र सरल होउन् । धनलाई प्रोत्साहन दिने मनोवृत्तिले सामाजिक विकास हुन सक्दैन । तीज पर्व मनाउने क्रममा तीजको उत्सवभन्दा धेरै पहिलेदेखि नै चर्काे ध्वनिमा क्यासेटका गीत बजाइ मानिसहरूको निन्द्रा भंग गर्ने र विद्यार्थीको अध्ययनमा समेत बिघ्नबाधा पुर्‍याउनेजस्ता विकृतिहरू चाडवाडको नाममा हुनु हुँदैन ।

हामीले आफ्नो चाडपर्वहरू सुन्दर, सरल र शान्त स्वभावले मनायौं भने हाम्रो धर्म र समाजको प्रतिष्ठामा बृद्धि नै होला । नारी आदर, सम्मान र प्रतिष्ठाको रुपमा वैदिक कालदेखि नै हाम्रो समाजमा पूजनीय स्थानमा रहेका छन् भने नारी स्वयम्ले त्यो प्रतिष्ठा कायम गर्नेतर्फ प्रयास गरिनुपर्दछ । र, हामीले आफ्नो गौरवमय अतीतलाई बिर्सिनु हुँदैन ।