३४९ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र ०६ , १०:५८ बजे

शुक्लाफाँटा नगरको नेतृत्व र सुधारको पाटो

Image

शुक्लाफाँटा नगरपालिकाको प्रथम नगरसभा आर्थिक वर्ष २०७४/०७५ को नीति तथा कार्यक्रम पारित गर्दै सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित सदस्यको नाताले नगर सभासँग जोडिएका तमाम विषय र नगरमा जननिर्वाचित नेतृत्व आएपछिको नगरको अवस्थाका विषयमा यो लेख तयार पारिएको छ ।

राजनीतिक दलको प्रतिनिधित्व
शुक्लाफाँटा नगरपालिकामा प्रमुख ३ दलको मात्र प्रतिनिधित्व छ । जसमा नेकपा एमाले उपप्रमुखसहित वडा अध्यक्ष ५, वडा सदस्य २२ गरी कूल २८ सभासद् भएर ठूलो दल तर बहुमत नभएको अवस्थामा छ । नेपाली कांग्रेस नगर प्रमुखसहित वडा अध्यक्ष ३, वडा सदस्य १३ एवम् १ कार्यपालिका सदस्यसहित १८ सभासद्ले प्रतिनिधित्व गर्छ भने नेकपा माओवादी केन्द्र ४ वडा अध्यक्ष, १३ वडा सदस्य र २ कार्यपालिका सदस्यसहित १९ सभासद् नगरमा प्रतिनिधित्व गर्छ । यस हिसाबले नगरको व्यवस्थापिका सभामा ६५ जनाले प्रतिनिधित्व जनाएका छन् । नगरमा जम्मा १२ वडा रहेका छन् ।

गठबन्धन
६५ सभासद् रहेको नगर सभामा स्पष्ट बहुमत कुनै दलसँग नभएकाले बहुमतीय अंकगणितको खेलमा पाइला मिलाउन नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएर बहुमतीय प्रक्रियाबाट नगर चलिरहेको छ । नगर कार्यपालिका गठन बहुमतबाट भएको छ ।

कार्यपालिका गठन हुँदा प्रत्येक वडाका वडाध्यक्ष (शुक्लाफाँटाका सन्दर्भमा) १२ वडाका १२ वडाध्यक्ष, नगर सभाले आफू मध्येबाट निर्वाचित गरेका ५ जना महिला सदस्य र नगर सभाका सदस्यले दलित वा अल्पसंख्यकबाट निर्वाचित गरेका ३ जना सदस्य, प्रमुख १ जना र उपप्रमुख १ जना गरेर जम्मा २२ सदस्य हुने व्यवस्था रहेकोमा नगर कार्यपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच गठवन्धन रहेकाले एमाले उपप्रमुख सहित ५ अध्यक्ष गरी जम्मा ६ सदस्यमा सीमित छ भने कांग्रेस–माओवादीको १६ सदस्यको प्रतिनिधित्व छ ।

नगरमा व्यवस्थापिका, कार्यपालिका पछिको तेस्रो न्यायपालिकाको व्यवस्था विधानमा गरिएको छ । यस नगरपालिकामा आजको मितिसम्म न्यायपालिका गठन भएको छैन । नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा नगर सभाले आफू मध्येबाट निर्वाचित गरेका २ जना सदस्यसहित ३ सदस्यीय १ न्यायिक समिति रहने व्यवस्था छ ।

नगरपालिकामा कार्यसम्पादन गर्न सजिलोका लागि विभिन्न विषयगत समिति गठन गर्ने व्यवस्था पनि छ । यस नगरपालिका विषयगत समिति गठन गरिँदा नगरको पूर्णबैठक बोलाएर निर्वाचित वडा सदस्य समेत विषयगत समितिका सदस्य रहने गरी गठन गर्नुपर्नेमा कार्यपालिका बैठक बसेर आफूबाहेकलाई सामान्य जानकारी समेत नदिएर गठन भएको जानकारी कार्यपालिका बाहेकका सदस्यले नगर सभा बस्दा मात्रै थाहा पाउनु दुर्भाग्य मात्र होइन, लोकतन्त्रकै उपहास हो । नगर कार्यपालिकामा बहुमत रहेका गठबन्धनको बहुमतीय रंगले आजको मितिसम्म गठन भएका ६ विषयगत समिति पनि राखिएका छन् ।

बहुमत, अल्पमत र गठवन्धनलाई सामान्य रुपमा लिन सकिएला । तर, जननिर्वाचित वडा सदस्यलाई जानकारी समेत नदिएर गरिएका यस्ता निर्णय जसमा वडा सदस्य पनि सदस्य हुने हक राख्छ त्यसमा कसरी सहमति जनाउने ? शुक्लाफाँटा नगरपालिकाको नेतृत्व कार्यपालिकाको चक्रव्यूहको अभिमन्यु बनेको छ, या त सदस्यहरू नेतृत्वको नजरमा कुनै औचित्यका लाग्दैनन् ।

आर्थिक वर्ष २०७४/०७५ को बजेट तर्जुमा गर्दा होस्, विषयगत समिति गठन गर्दा होस् या नगरसभाका सदस्यको बैठक भत्ता, पेट्रोल कुपन र रिचार्ज कार्डका सन्दर्भमा निर्णय गर्दा कार्यपालिका इतरका सदस्यलाई गरिएको नजरअन्दाजको सवालमा होस्, नेतृत्वले चक्रव्यूह तोड्न सकेको छैन । होइन भने दृष्टिकोणमै समस्या छ । बिहानीले दिउँसो संकेत गर्छ भनेझैं समृद्ध शुक्लाफाँटाको बिहानीले शुभ संकेत देखाउन सकिरहेको छैन ।

नीति तथा कार्यक्रम र बजेट विनियोजन
शुक्लाफाँटा नगरपालिकाको पहिलो नगर सभामा नगर प्रमुखले प्रस्तूत गरेको नीति तथा कार्यक्रम र उपप्रमुखले वाचन गरेको बजेट वक्तव्य एकअर्काका पुरक हुनुपर्नेमा बोका बेचेको साइनो समेत नदेखिने किसिमले आयो । कार्यपालिका विषयगत समिति र नेतृत्वको क्षमता एकै पटक ढल्कियो । नीति तथा कार्यक्रममा व्यक्त भएको भावना, प्रयोग गरिएको भाषा, छानिएका शब्द साहित्यमा कुनै कमी छैन ।

उच्चकोटीको लेखनशैली र वाचनशैलीबाहेक चालू वर्षको विनियोजित बजेटमा एक सुको पनि नीति तथा कार्यक्रमलाई छुने गरी छुट्याइएको छैन । आयआर्जन र रोजगारी सिर्जना गर्नमा नगरको बजेटले कल्पनासम्म गरेको छैन । पर्यटन, पूर्वाधार विकास र संस्कृति प्रवद्र्धन शीर्षकमा जम्मा ५ लाख रुपैयाँ रकम छुट्याउनुले प्रष्ट गर्छ, आयआर्जन र रोजगारी सिर्जनामा नगरको योजना कति वैज्ञानिक छ ? जबकि २ वटा सार्वजनिक शौचालय निर्माणमा १० लाख रुपैयाँ रकम विनियोजित छ ।

नगरपालिका आफैंले पहिलो बैठकका निर्माण बजेट बनाउँदा बिर्सेको छ । सुकुम्वासी, आरक्ष पीडित समस्या समाधान र ५० शैयाको नगर अस्पताल शीर्षक पहिलो बैठकका निर्णय हुन् । तर, बजेटसँग ती निर्णयको साइनो छैन । प्रश्न उठ्छ आँखिर बजेट केमा छुट्याएर सकियो ? नगरपालिकाको चालू आर्थिक वर्षको विकास बजेट २२ करोड ५ लाख ३४ हजार रुपैयाँ रहेकामा नगरका १२ वडामध्ये ६ वडालाई ९५ लाख रुपैयाँ प्रतिवडा र ८० लाख रुपैयाँ बाँकी ६ वडालाई प्रतिवडाका दरले बाँडियो ।

विनियोजितभन्दा बाँडियो शब्द किन उपयुक्त छ भने वडामा दिइएको उक्त रकम कुनै मापदण्ड, सिद्धान्त र आधार तय नगरी माग्ने र दिने दान र भिक्षाशैली अपनाइएको छ । यदि होइन भने यस नगरमा आजको दिनमा सबै वडा सर्भे गर्ने हो र विकास पूर्वाधारका दृष्टिले, जनसंख्या र भुगौलका दृष्टिले, विकटता, नदीनाला कटान, डुवानका दृष्टिले तुलना नै गर्न नसक्ने भिन्नतामा छन् ।

सबै वडालाई विकासको समान गतिमा हिँडाउन प्रत्येक वडाको शिक्षा, स्वास्थ्य, सडक, तटबन्ध भूगोल, जनसंख्यालाई कम्तिमा पनि आधारको रुपमा बुझेर वैज्ञानिक नै नभएपनि सामान्य मापदण्ड तयार गरी बजेट विनियोजन गरिएको भए आजको जस्तो ८० लाख र ९५ लाख नभएर अनिवार्य आवश्यकताको आधारमा ५० लाखदेखि १ करोड ५० लाखसम्म पनि वडामा बजेट जान्थ्यो । त्यो साहस, त्यो दृष्टिकोण नेतृत्वमा देखिएन ।

८० लाख र ९५ लाख वडामा दिइसकेपछि बचेको झण्डै साढे ११ करोड रुपैयाँ रकम पनि उत्पादन, रोजगारी, आयमूलक शीर्षकमा नभई सामान्य सरसफाई, छाडा गाईगोरु नियन्त्रण, ढल निकास, वस्ती अध्ययन, नगर प्रोफाइल, शौचालय सफ्टवेयर खरिदजस्ता शीर्षकमै सिध्याइएको छ । नगरले कुनै ठूलो योजना, परियोजनाको परिकल्पना गर्दैन भने वडाले सोच्ने कुरै छैन । कनिका छरेर जनतालाई खुसी पार्ने मौसमी सोचभन्दा अलिकति साहस बटुलेर नगर नेतृत्वले समृद्धिमा टेवा पुग्ने, जनस्तर उकासिने, विदेशिने युवा स्वदेशमै रोकिने योजना ल्याउनु आजको आवश्यता हो । रेमिट्यान्सले घर चलेजस्तै भोलि सरकारी अनुदानले मात्र यो नगर चल्न सक्दैन ।

केटाकेटीपन
शुक्लाफाँटा नगरपालिकाको अर्को केटाकेटीपन कहाँ देखिन्छ भने विभिन्न वडाका विभिन्न टोलमा सञ्चालित कालोपत्रेको योजनामा । यी कालोपत्रे योजनाहरू यस्तो समयमा सञ्चालित छन् कि त्यही वडाको अर्को टोलमा कल्भर्ट छैन, ह्यूम पाइप छैन, दलदल र हिलाम्य बाटोमा १ पटक पनि ग्राभेल पुगेको छैन । जसकारण सबै गाउँटोलमा एम्बुलेन्स सेवा पुग्दैन । आवश्यक पर्दा दमकल सेवा पुग्दैन । निर्माण सामग्री र विवाह व्रतबन्धका साधन पुग्दैनन् ।

यी टोल र समस्या तपसिलको किनारमा राखेर झिल्के शैलीमा कालोपत्रेको कुरा उठाएर २–३ सय मिटर कालोपत्रेका लागि ५० औं लाखका दरले विनियोजित गरिएको छ । झट्ट हेर्दा कालोपत्रे गाउँमा हुनु नराम्रो कसले भन्ला ? तर, त्यो कालोपत्रे टोल र त्यही गाउँको अर्को हिलाम्य टोलको तुलना गर्दा के विश्लेषण गर्न सकिन्छ । कालोपत्रे सडक भएको टोलको एक व्यक्ति घरबाट पार्टी सुज लगाएर आफ्नो पूरै गाउँ घुम्न सक्ने अवस्था छ कि छैन ? नगर नेतृत्वले सोच्नु पर्दैन ? अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना कसले बनाउने ?

नेतृत्व र दबाब
शुक्लाफाँटा नगरको नेतृत्वमा नेपाली कांग्रेसको राजनीतिक स्कूलिङ्गमा जीवनको लामो समय बिताएका, उमेरले पनि परिपक्व, सरल, सालिन, सहृदयी नेताको छवी बनाएका, लामो समयदेखि स्थानीय स्तरमै राजनीति गरेका आदरणीय नेता दिलबहादुर ऐर नगर प्रमुखको नेतृत्वमा छन् । प्रजातन्त्र, लोकतन्त्र, विधिको शासन कांग्रेसजनको गायन्त्री मन्त्र हो । जसरी आज गायत्री मन्त्र जप्नेहरू रक्सी र मासुको डकारसँगै जप्छन्, त्यस्तै प्रजातन्त्र, लोकतन्त्र र विधिको शासनको चिरहरण गर्ने नै यो मन्त्र गायत्रीझैं जप्छन् ।

शुक्लाफाँटाको आजको नेतृत्व हिजोको दिनमा त्यस्तो ठूलो जिम्मेवारीमा नरहेकाले पनि होला, कलंकित हुने गरी मुछिएको सुन्नमा कमै आउँछ । तर, आजको जिम्मेवारी सामान्य छैन । अधिकार सम्पन्न स्थानीय तह चलाउन भद्रता, सालिनता र भावुकताभन्दा थप योग्यताको पनि आवश्यता पर्छ । जुन योग्यता, क्षमता अबका दिनमा नगरवासीको चासोको विषयभित्र पर्ने छ । करिव २ महिने यो अवधिमा देखिएका लक्षण हेर्दा सधैं बस्दै आएको घरको कुर्सी कार्यालयमा लगेर बस्ने निर्णय पनि भावुकताकै श्रृंखलाको एक कडी हो भन्न सकिन्छ ।

यो अवधिमा नीति तथा कार्यक्रम प्रस्तूत गरिसकेको नेतृत्वले नगरको ठोस उपलब्धिमूलक कार्यक्रमका लागि बजेट राख्न सकेको छैन । नेतृत्वले आजको दिनमा देखाउने योग्यताको अर्को पाटो भनेको आफूलाई घेराबन्दीबाट टाढा राख्नुपर्छ । घेराबन्दीका लागि तयार रहेको हिजोको राजनीतिक संयन्त्र जो नाम मात्रका दल भएपनि ठूलै भूमिका थिए, आज ती हिजोकै भूमिका खोज्न अनेक पहल गर्ने छन्, त्यो तोड्न सक्नुपर्छ ।

कर्मचारीतन्त्र । जो हिजो जननिर्वाचित नेतृत्वविहीनतामा एक ढंगले चल्यो, आज पनि स्वभावतः त्यसरी चल्न खोज्छ, त्यो तोड्न सक्नुपर्छ । अनि अर्को एउटा वर्ग जो चुनाव हारेको छटपटीमा छ र अर्को विशेष वर्ग जो हामी चुनाव जिताएका हौं, हाम्रो अनुसार चल्नुपर्छ ‘हैन भने ....’ भन्ने घेरा पूरापूर तोड्नुपर्छ । यी घेरा तोड्नुको मतलब हो– नेतृत्व दबाब, प्रभाव र तनावमा छैन ।

योग्यता, क्षमता र इच्छाशक्तिले सक्षम छ । तर, यो सन्दर्भमा पनि देखिएको दृष्य भनेको गठबन्धनको प्रभाव, कर्मचारीतन्त्रको प्रभाव, आसेपासे हालिमुहाली र विभिन्न शक्ति समूहका क्रियाकलापको रामलिला दृष्य नगरमा हेर्न लायक छ । नेतृत्व खलनायक भएर न बाहिरिउन् । सुनिन थालिसक्यो नगर नमस्कारले चल्दैन ।


सम्बन्धित