१४६४ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र ०६ , ०८:०३ बजे

विद्युत् चोर्ने कर्मचारीलाई झण्डै १२ हजार जरिवाना

Image

महेन्द्रनगर । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले विद्युत् चोरेर प्रयोग गर्ने विद्युतका कर्मचारीलाई ११ हजार ९ सय ६१ रुपैयाँ जरिवाना गरेको छ ।

महाकाली नगरपालिकास्थित दोधारा फ्यूज सेवामा ज्यालादारीमा काम गर्ने गणेश गिरीलाई जरिवाना गरिएको हो । विद्युत् चोरीको विषयमा बुझ्न गठित छानविन समितिले गिरीले नियम विपरित सर्भिस तार जोडेर प्रयोग गर्ने पाइएपछि कारवाहीको प्रक्रिया अगाडि बढाई गिरीलाई जरिवाना गरिएको इन्जिनियर तथा छानविन समितिका संयोजक राकेशप्रसाद भट्टले बताए । ‘गिरीले सर्भिस तारमा अर्को तार जोडेर विद्युत् प्रयोग गर्ने गरेको छानविन समितिले अनुगमनका क्रममा भेटाएपछि अनुसन्धान गरेर गिरीलाई कारवाही गरिएको हो,’ उनले भने ।

‘गिरीले सर्भिस तारमा अर्को तार जोडेर प्रयोग गरेका थिए, कानून अनुसार यस्तो गर्न मिल्दैन । कानुनले सर्भिस तारबाट अर्को तारमा जोड्न नमिल्ने भएपनि प्रयोग गरेकाले कारवाही गरिएको हो,’ उनले भने । गिरीले १ महिनादेखि नियम विपरित विद्युत् जोडेर प्रयोग गर्ने गरेको खुलेको उनले बताए । ‘गिरीले १ महिना पहिलेदेखि विद्युत् लाइन सर्भिस तारबाट जोडेर प्रयोग गरेका रहेछन्, सर्भिस तारबाट लाइन जोड्दा विद्युत् चुहावट हुन्छ । विद्युत् लाइन जोड्दा पोलबाट जोड्नुपर्छ,’ उनले भने ।

विद्युत् चुहावट गर्ने गिरीलाई विद्युत् चोरी नियन्त्रण नियमावली २०५९ अनुसार १ वर्ष बराबरको ११ हजार ९ सय ६१ रुपैयाँ जरिवाना गरिएको उनले बताए । ‘नियमावली अनुसार १ दिन विद्युत् चोरी गरेपनि १ वर्ष चोरी गरेको मानिन्छ, गिरीले १ महिनादेखि विद्युत् चोरी गरेको स्वीकार गरेपनि उनलाई नियमावली अनुसार १ वर्ष वराबरको कारवाही गरिएको छ,’ उनले भने । वितरण केन्द्रले तोकेको ११ हजार ९ सय ६१ रुपैयाँ जरिवना गिरीले आईतबार वितरण केन्द्रमा बुझाइसकेको उनले बताए ।

दोधारा फ्यूज सेवामा कार्यरत कर्मचारी गणेश गिरीले लामो समयदेखि विद्युत् चोरी गरेर प्रयोग गर्ने गरेको निवेदन महाकाली नगरपालिकाका स्थानीयले नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रमा दिएका थिए । महाकाली नगरपालिकाका स्थानीय वासिन्दाले चोरीको छानविन गर्न माग गरेपछि वितरण केन्द्रले राकेशप्रसाद भट्टको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । दोधारा फ्यूज सेवामा कार्यरत कर्मचारी गणेश गिरीलाई हाल महाकाली नगरपालिकामा रहेको पावर सवस्टेशनमा सरुवा गरिएको छ ।

महसुल काउन्टर खुल्ने सहमति
आन्दोलनरत स्थानीय वासिन्दा र महाकाली नगरपालिकाका जनप्रतिनिधिबीच विद्युत् प्राधिकरण दोधाराचाँदनी फ्युज सेवाको कार्यालयमा महसुल काउन्टर खोल्ने सहमतिपछि अनिश्चितकालीन धर्ना कार्यक्रम स्थगित गरिएको छ ।

अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष तथा महाकाली नगरपालिकाका स्थानीय ओम बस्नेतले महाकाली नगरपालिकाका प्रमुख र आन्दोलनरत स्थानीयबीच विद्युत् महसुल काउन्टर खोल्ने सहमतिपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेर फ्युज शाखामा लगाइएको ताला खोलिएको बताए ।

विद्युत् काउन्टर नखोलिएमा स्थानीय आन्दोलनकारीको आन्दोलनमा नगरपालिकाको पनि ऐक्यवद्धता रहने सहमति समेत भएको उनले जानकारी दिए । महाकाली नगरपालिकाले महसुल काउन्टर खोल्नुपर्ने माग गर्दै पटक–पटकको मागलाई वेवास्ता गरेको भन्दै महाकाली नगरपालिकाका स्थानीयले आईतबारदेखि अनिश्चितकालीन फ्युज सेवा दोधाराचाँदनीमा धर्ना सुरु गरेका थिए ।