९२७ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र ०५ , ०९:२२ बजे

‘हाम्रो वडामा खोलानालाको जोखिम छ’

Image

– शिवराज पनेरु (वडाध्यक्ष)
शुक्लाफाँटा नगरपालिका–२ कञ्चनपुर
स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधि आफ्नो वडाका समस्या समाधान गर्ने योजना बनाएर सम्बन्धित निकायमा पेस गरिरहेका छन् । जनप्रतिनिधिले गाउँका समस्या समाधानका लागि गरिरहेका प्रयासबारे शुक्लाफाँटा नगरपालिकाको २ नम्बर वडाका वडाध्यक्ष शिवराज पनेरुसँग पत्रकार होम योगीले गरेको कुराकानीको सम्पादित अंशः

तपाई वडाध्यक्षमा निर्वाचित भएदेखि अहिलेसम्म के कस्ता कार्य गर्नुभयो ?
– वर्षायाम सुरु भएकाले वडामा थुप्रै समस्या छन् । अहिले हामी खाल्डाखुल्डी भएको ठाउँ पुर्ने र हिलो भएका ठाउँमा ग्राभेल गरिरहेका छौं । तटबन्ध गर्नुपर्ने स्थानमा अस्थायी रुपमा डोरी जाली लिएर तटबन्ध गर्ने कार्य गरिरहेका छौं ।

तपाईको वडामा कस्ता–कस्ता समस्या छन् ?
– समग्र वडाको विकासको लागि चाहिने बाटोघाटो, पुलपुलेसा र नदी कटानीको समस्या रहेकाले त्यसलाई नै प्राथमिकतामा राखेका छौं ।

नदी कटानीको समस्या कतिको छ ?
– नदी कटानीको समस्या शुक्लाफाँटा नगरपालिकाकै प्रमुख समस्या हो । पश्चिममा स्याली नदी, पूर्वमा वनहरा नदी र बिचमा सुनवरा नदी र स्थानीय खोलाहरू रहेका छन् । खोला सबै वडामा आउने भएकाले यसलाई गुरुयोजनामा हाल्ने तयारी गरिरहेका छौं ।

वडा अध्यक्ष भएर काम गर्दा कस्तो लागिरहेको छ ?
– हामी समग्र वडा र नगरको विकास गर्नुपर्छ भनेर राजनीतिमा आएका हौं । वडा अध्यक्षको जिम्मेवारी पाएर वडाको काम गर्न पाउँदा राम्रो लागेको छ ।

राजनीतिसँगै वडाको विकास गर्नु र वडाको अध्यक्ष जिम्मेवारी पाएर काम गर्दा के कत्तिको फरक पाउनुभयो ?
– जनताले एउटा जिम्मेवारी दिएको हुनाले काम गर्नुपर्छ, समग्र वडामा काम गर्नुपर्ने दायित्व थपिएको छ र वडाको काम गरिरहेका छौं ।

स्थानीय चुनावमा निर्वाचित हुन जनतासँग के–के वाचा गर्नुभएको थियो ?
– जनतासँग शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार, विकासका पूर्वाधारमा बाटोघाटो, पुलपुलेसा लगायतका काम गर्ने छौं भनेर वाचा गरेका थियौं ।

यी वाचा गरेकामध्ये वडा अध्यक्ष भएर थप के गर्नुहुन्छ ?
– कृषकका समस्या, अपाङ्गताका समस्या, दलित, जनजाति, आदिवासीका समस्या छन् । ती समस्यालाई वडाबाट छनौट गरेर नगरमा लगेका छौं ।

शुक्लाफाँटा नगरपालिकामा कृषक धेरै भएपनि बजार व्यवस्थित नहुँदा कृषकले उत्पादन गरेका वस्तुले बजार पाएको देखिँदैन, यसलाई तपाईले कसरी हेर्नुभएको छ ?
– प्रत्येक वडाकोे सेन्टरमा तरकारी संकलन केन्द्र र हाटबजारको अवधारणा लिएका छौं । त्यसको स्थापना गर्ने तयारीमा छौं । कृषकले उत्पादन गरेको वस्तुलाई बजारसम्म पुर्‍याउन सकिँदैन, बाटोघाटोको समस्या छ, यातायातका साधन छैनन् । यसलाई मध्यनजर गरेर कृषिमा जोड दिएका छौं ।

हाट बजारलाई कसरी व्यवस्थित गर्नुहुन्छ ?
– कार्यपालिकाको पूरै टीम बसेर यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ छलफल गर्छौं ।

वडाका समस्या कतिको आउँछन् तपाई कहाँ ?
– जनताले दिन प्रतिदिन थुप्रै समस्या लिएर आउँछन् । वर्षात्को समय हुनाले नदी कटानीले घर नै जोखिममा छन्, विद्युत्को ट्रान्सफर्मर, बाटो कटान भइरहेको छ यस्तै थुपै्र समस्या छन् । प्रमुख समस्या भनेको तटबन्धको समस्या छ, नदी कटानीको समस्या छ । यी समस्या सामाधानको लागि हामी प्रयासरत छौं ।

वडामा खहरे खोलाबाट हुने जोखिमबाट जनतालाई बचाउन के गरिरहनुभएको छ ?
– नदी खोलाको समस्या धेरै नै छ । शुक्लाफाँटा नगरपालिका–१ र २ वडा जोड्ने पुल सम्पन्न भएको छ । अहिले वडा नम्बर २ को लक्ष्मीपुर र ढकनिया जोड्ने मितेरी पुल अगाडि बढाउँदै छौं । आवश्यक कागजहरू तयार भइसकेका छन् । वडा नम्बर २ र ४ जोड्ने एउटा पुल सर्भे भएको छ । त्यो पनि यस वर्ष काम अगाडि बढ्छ । वडा नम्बर २ र ३ मा जोड्ने सडक लगायत थुप्रै ठाउँमा पुल हाल्नुपर्ने छ ।

झलारीपिपलाडी उद्योग वाणिज्य संघको महासचिव पनि हुनुहुन्छ । दुबैतिर समय दिन सक्नुहुन्छ ?
– गत वर्ष मात्रै उद्योग वाणिज्य संघको महासचिवमा निर्वाचित भएको थिए । मैले अब नैतिकताले पनि छोड्नुपर्छ भनेर सचिव जीलाई कार्यबाहक दिएको छु । मैले अहिले पूरै समय वडालाई दिएको छु ।

तपाईले आफ्नो वडा कस्तो बनाउने सपना देख्नुभएको छ ?
– हाम्रो २ नम्बर वडा एकदमै विकट छ । खोलानालाको बिचमा छ, टापुजस्तै छ । त्यसैले पनि पुल र तटबन्धको धेरै नै आवश्यकता छ । नमूना वडा बनाउनको लागि अहिलेदेखि नै पहल गरिरहेको छु । वडाको नक्सासहितको खाका नगरपालिकामा पेस गरेको छु । यसको विकासको लागि नगरपालिकाबाट के कति बजेट आउँछ, त्यसपछि थप बजेटको लागि केन्द्रतिर पहल गर्छु ।

तपाईको वडा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग पनि जोडिएको छ । निकुञ्जबाट पीडितका समस्या के छन् ?
– अहिले निकुञ्जका जंगली जनावर त आएका छैनन् । केही आरक्ष पीडित त्यहाँ बसेका छन् । तिनीहरूको व्यवस्थापनको लागि राष्ट्रिय निकुञ्जसँग छलफल भइरहेको छ । तिनीहरूलाई कसरी व्यवस्थापन गर्ने कहाँ व्यवस्थापन गर्ने लगायतका विषयमा कुरा भइराखेको छ ।

तपाईले वडा अध्यक्षमा निर्वाचित हुन कति मेहनत गर्नुपर्‍यो ?
– म झलारीपिपलाडी उद्योग वाणिज्य संघको महासचिवमा चुनावअघि नै विजयी भएकाले त्यसले सहयोग पुग्यो । मैले राजनीति सुरु पनि उद्योग वाणिज्य संघबाट नै सुरु गरेको हो । वडामा पनि जनताको ‘टच’मा अर्थात् जनताको काम गरेको हुनाले पनि विश्वास गरेर विजयी गराए ।

शुक्लाफाँटा नगरपालिकाका केही वडामा मदिरा निषेध भएको घोषणा गरिएको छ । तपाईको वडामा के छ ?
– हाम्रो वडामा खासै मदिराका पसलहरू छैनन् । विकट हुनाले १/२ वटा पसल मात्रै छन् । उनीहरूसँग छलफल गर्दा उनीहरूले सबै वडामा मदिरा निषेध भयो भने हामी पनि लाइसेन्स खारेज गरौला भनेका छन् । राजस्व विभागले तोकेको समयमा बेच्ने व्यवस्था गर्छाैं । सकिन्छ भने बन्द नै गर्छाैं । सकिएन भने कानून अनुसार सञ्चालन तथा व्यवस्थापन गर्छौं ।

तपाईको राजनीतिक यात्रा कसरी सुरु भयो ?
– मैले क्याम्पस जीवनबाट राजनीतितिर जानुपर्छ भन्ने सोच बनाएको थिए । पछि आएर उद्योग वाणिज्य संघबाट सक्रिय भएर वडा अध्यक्षसम्म पुगेको छु ।