४८६ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र ०५ सोमबार, ०८:५९ बजे

मानसखण्ड क्षेत्रको मौलिक पर्व गौराको विशिष्टता

Image

पुराणहरूमा हिमाललाई ५ खण्डमा विभाजन गरिएको छ । जसमध्ये केदार, नेपाल, जालन्धर, कश्मिर र मानसखण्ड पर्छन् । यी ५ खण्डमध्ये ‘अग्रे मानस प्रस्तावे’ भनेर मानसखण्ड क्षेत्रलाई अग्राधिकार दिइएको पाइन्छ । मानसखण्ड क्षेत्र भनेको भारतको कालीकुमाउदेखि मध्यकर्णाली र तिब्बतको खारी प्रदेशदेखि दक्षिण कैलाली–कञ्चनपुरसम्मको भूभाग पर्ने गर्दछ । मानसखण्ड मानव सृष्टिको थलो हो, शिव गौरीको धाम हो । जहाँ वेदव्यासले वेदको विभाजन र संहितावद्ध एवम् पुराण इतिहास (महाभारत) को लेखन सम्पादन गरेका थिए । जसलाई आजभोलि सेती महाकाली कर्णाली भनिन्छ ।

त्यसको पौराणिक र ऐतिहासिक नाम मानसखण्ड क्षेत्र हो । यस क्षेत्रलाई देवभूमि, दिव्यभूमि, मानसक्षेत्र, श्रीक्षेत्र, उत्तरापन्थ भनिएको छ । जहाँ ‘गौरा पर्व’लाई मानस संस्कृति र वैदिक संस्कृतिका आधारमा मनाइन्छ । यस पर्वको आफ्नै मौलिकता छ, विशेष महत्व छ । शुद्ध शाकाहारी, सामाजिक एकता एवम् भक्ति, अनुशासन र आत्मविश्वासका साथ मनाइन्छ, साँच्चै भन्ने हो भने पूर्वीय आर्य सभ्यतामा नारीलाई दिइएको सम्मानको झलक देखाउने पर्व हो गौरा पर्व । हिन्दूहरूका अन्य पर्वभन्दा यो पर्व निम्न कुरामा भिन्न, मौलिक र विशिष्ट रहेको छ ।

वैदिक संस्कृतिको निरन्तरता
यो पर्व वैदिक नारी अरुन्धती, गार्गी, कात्यायनी, अपाला आदिको निरन्तरता हो । वैदिक कालमा नारीहरूले वेद, पुराण पढ्दथे, अग्नीहोत्र, यज्ञयाजन समेत गर्दथे भन्ने कुराको नमूना हो । आज पनि गौराव्रत लिने नारीले नारी रचित अपौरुषेय अठेवाली फाग, सगुन गाएर नारी चेतना र विद्धताको आदर्श कायम गरेको छ ।

नारीलाई पनि वेद पढ्ने अधिकार
यो हिन्दू धर्मको एक मात्र यस्तो अवस्था र व्यवस्था छैन । गौरासप्तमी अथवा अमुक्ता भरण सप्तमीका दिन नारीले वैदिक मन्त्र ‘श्रीश्चतेलक्ष्मी...’ को दीक्षा लिन्छन् र यज्ञ याजन गर्ने अधिकार पाउँछन् ।

नारीलाई श्रेष्ठता र जेष्ठताको अधिकार
गौरापर्वले नारी जगतलाई श्रेष्ठ र जेष्ठ बनाएको छ । विरुडाद्वारा आफूभन्दा जेठा जस्तैः जेठाजु, जेठानी, सासु–ससुरा तथा पति समेतलाई अप्रत्यक्ष रुपमा शिरमा हात राखी लोक भाखामा आशिर्वाद दिनु मानसखण्ड क्षेत्रका नारीले पाएको आत्मसम्मान हो । यो सम्मान विश्वका कुनै पनि संस्कृति र धर्ममा दिइएको छैन ।

सगोत्री विवाह गर्न सक्ने प्रमाण
मानसखण्ड क्षेत्रमा (सुदूरपश्चिम) सामान्यतया सगोत्री विवाहलाई मान्यता दिइएको छ । यो कुरा कुनै शास्त्र सम्मत नभएपनि गौरा पर्वमा गाइने नारीवेद ‘अठेवाली’को प्रमाणले मात्र सगोत्री विवाहलाई शास्त्रीय मान्यता प्राप्त भएको छ । शिव र गौराको दुबैको गोत्र र शाखा एकै थियो भन्ने कुरा अठेवालीमा आएकाले हाम्रो क्षेत्रमा सगोत्री विवाहलाई वैधता दिइएको छ ।

योग्य पति र सन्तानको कामना
गौरापर्वले पारिवारिक एकता र निरन्तरताको कामना गर्दछ । त्यसै कारणले गौराष्टमीको मन्त्रमा मन मिल्ने योग्य पति र संस्कारिक सन्तानका लागि प्रार्थना गरिएको छ । दुबोको जस्तै मेरा शाखा सन्तान बढ्दै जाउन् भन्ने प्राथना गरिएको छ । वास्तवमा संसार बचाउनका लागि सन्तान अवश्य चाहिन्छ, सन्तानका लागि पतिको आवश्यकता पर्दछ, नत्र मानवीय सभ्यता नै लोप हुन सक्छ । त्यसैले गौराव्रतमा पति र सन्तानको कामना गरिएको हो ।

छोरा र छोरीप्रति समानताको भाव
गौराव्रतको मूलमन्त्रले के स्पष्ट गरेको छ भने देवकीले सन्तान पाउनका लागि अभुक्ताभरण सप्तमी÷गौराव्रत गरेको थियो । त्यस्तै गौराष्टमी (दुर्वाष्टमी) को मन्त्रमा ‘सन्तानं देहि’ भनिएको हुनाले पनि यो सन्तान कामनाको व्रत हो । यस मन्त्रमा छोरा अथवा ‘पुत्रं देहि’ भनिएको छैन । छोरा र छोरी दुबैलाई सन्तान भनिन्छ । त्यसैले यस व्रत छोरा र छोरी दुबै समानको भाव देखाउँछ ।

जातीय सद्भाव र सामाजिक एकताको प्रतिक
यस पर्वले जातीय स्वाभिमान र सद्भाव एवम् सामाजिक एकताको भाव देखाउँछ । जस्तैः ‘चर्तुणामपि वर्णानां स्त्रीजनानां विशेषतः’ चारै वर्ण (ब्राह्मण, क्षेत्री, वैश्य र शूद्ध) का व्यक्तिले उपासना गर्न सक्छन् । तर, नारी जातिको लागि विशेष तथा महत्वपूर्ण पर्व हो । सामूहिक रुपमा मनाइने र खेलिने हुनाले यसले सामाजिक सद्भाव र एकताको भावनालाई स्थापित समेत गर्दछ ।

श्रीको प्रतीक
हिन्दू धर्मको मूल आधार ‘श्री’को वाचक पनि गौरा पर्व हो । गौरा पर्वमा हिन्दूका त्रिदेवी महाकाली, महालक्ष्मी, महासरस्वती तीनैको पूजा गरिन्छ । नौलाकी गौरा, लोली गौरा र सञ्ज्या गौरा गरी ३ गौराको पूजा गरिनु ‘श्री’को पूजा हो ।

गाँस, बास र कपासको महत्व दर्शाउने पर्व
गौरा पर्व यस्तो विशिष्ट पर्व हो । जसले मानव जातिलाई गाँस, वास र कपासको महत्वलाई दर्शाएको छ । ‘अन्नं ब्रह्मा रसो विष्णु भोक्ता देवो महेश्वर’ अन्न ईश्वरको रुप हो, यसको सम्मान गर्नु पर्छ भन्ने भावनालाई ५ प्रकारको अन्न अर्थात् विरुडाको माध्यमबाट प्रष्ट्याएको छ भने सावा, धान, अपामार्ग शैलापाति आदि वनस्पतिद्वारा गौराको प्रतीक बनाएर पुज्नु वनस्पतिको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने भावलाई देखाएको छ । मानवलाई कपासको आवश्यता पर्दछ भन्ने भाव धागो (कपडा) रहित हुनु हुँदैन । धागो रहित मानव भूतप्रेत र राक्षसका रुपमा हुन्छ ।

यस प्रकारले गौरा पर्व मानस सभ्यताको धरोहर हो । नारी संस्कृतिको नासो हो । यो पर्व सुदूरपश्चिमको मात्र नभई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय पर्व हो । नेपाल, भारत र तिब्बत (चीन) को साझा पर्व हो । मानसखण्ड क्षेत्र मौलिक संस्कृतिको दोभान हो । गौरा पर्वको उपलक्ष्यमा शत्शत् शुभकामना !


About Author
-आचार्य घनश्याम लेखक

लेखक कञ्चनपुर निवासी हुन् । उनी शिक्षणपेशामा संलग्न छन् । धार्मिक तथा आध्यात्मिक प्रवक्ता समेत रहेका लेखक मानसखण्डको पौराणिकताका ज्ञाता पनि हुन् । उनका आधा दर्जन कृतिमध्ये मानसखण्ड संहिता पछिल्लो हो ।