५९३ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र ०५ सोमबार, ०८:२८ बजे

विद्युत् चोरीको जानकारी माग्दा कार्यालय प्रमुख फरार !

Image

रिपोर्टरको भोगाइ


महेन्द्रनगर। नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले नै विद्युत् चोरी गरेको विषयमा जानकारी माग्दा नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख पुष्पराज पन्त कार्यकक्षबाटै फरार भए ।

दोधारा फ्यूज सेवामा कार्यरत कर्मचारी गणेश गिरीले विद्युत् चोरी गरेको विषयमा छनविन समितिले तयार पारेको प्रतिवेदन वितरण केन्द्र प्रमुख पुष्पराज पन्तलाई बुझाइएको भएपनि सो विषयमा जानकारी दिन आनाकानी गर्दै उनी कार्यकक्षबाटै भागे ।  १ हप्तादेखि लगातारको प्रतिक्षापछि फेरि आईतबार वितरण केन्द्रस्थित प्रमुख पन्तको कार्यकक्षमा पुग्दा उनी कार्यकक्षमै थिए । तर, परिचय दिएर विद्युत् चोरीबारे जानकारी लिन खोज्दा प्रमुख पन्त कार्यकक्ष छाडेर एकाएक फरार भए । फेरि कार्यकक्षमा आउँछन् कि भनेर प्रतिक्षा गर्दा १ घण्टासम्म उनी फर्केर आएनन् ।

वितरण केन्द्र प्रमुख पन्त छानविन समितिका संयोजक राकेशप्रशाद भट्टसँग जानकारी लिनु भन्दै कार्यकक्षबाट नै भागे । ‘छानविन समिति संयोजक इन्जिनियर राकेशप्रसाद भट्टसँग प्रतिवेदन छ, इन्जिनियरसँग नै जानकारी लिनुहोस्,’ उनले भने, ‘हामीले कारवाही अगाडि बढाएका छौं, थप इन्जिनियरसँग बुझ्नुहोस् ।’ तर, इन्जिनियरले समेत विगत १ हप्तादेखि आधिकारिक जानकारी दिइरहेका छैनन् । ‘हाम्रो कार्यालयमा सूचना अधिकारी कोही छैनन्, केन्द्र प्रमुखलाई मैले प्रतिवेदन बुझाएको छु, उहाँबाटै सूचना लिनुपर्छ,’ इन्जिनियर भट्टले भन्ने गरेका छन् । वितरण केन्द्र प्रमुखले नै कार्यालयमा सूचना अधिकारी तोक्नुपर्ने र सूचना अधिकारी नतोकेको अवस्थामा कार्यालय प्रमुखले नै जानकारी दिनुपर्छ । तर, वितरण केन्द्र प्रमुख पन्त शंकास्पद रुपमा जानकारी दिनबाट पन्छिने गरेका छन् ।

दोधारा फ्यूज सेवामा कार्यरत कर्मचारी गणेश गिरीले लामो समयदेखि विद्युत् चोरी गरेर प्रयोग गर्ने गरेको निवेदन महाकाली नगरपालिकाका स्थानीयले नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रमा दिएका थिए । महाकाली नगरपालिकाका स्थानीय वासिन्दाले चोरीको छानविन गर्न माग गरेपछि वितरण केन्द्रले राकेशप्रसाद भट्टको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । तर, छानविन समितिले काम सक्दा समेत वितरण केन्द्र प्रमुखले छानविनबारे जानकारी लुकाइरहेका छन् । प्रतिवेदनबारे जानकारी लुकाउनुको कारणबारे समेत वितरण केन्द्र प्रमुख पन्त केही बोल्दैनन् ।

वितरण केन्द्रका कर्मचारीले दिएको अनौपचारिक जानकारी अनुसार अनुगमनमा गएको छानविन समितिले दोधारा फ्यूज सेवामा ज्यालादारीमा काम गर्ने कर्मचारी गणेश गिरीले सर्भिस तार काटेर (सर्भिस तार छिनेर मिटरमा जोडी) विद्युत् प्रयोग गरेको भेटिएको थियो । छानविनका क्रममा गिरीले नियम विपरित सर्भिस तार जोडेर विद्यत् प्रयोग गर्ने गरेको पाइएको स्रोतले जनाएको छ । ‘गिरीले अर्को घरबाट सर्भिस तार लिएर आफ्नो घरको मिटरमा जोडेको छ, मिटरमा जोड्दा पोलबाट नै लाइन जोड्नुपर्छ, यसरी लाइन जोड्दा विद्युत् चुहावट हुन्छ,’ स्रोतले भन्यो । गिरीले १ महिना अगाडिदेखि नियम विपरित सर्विस तार जोडेर प्रयोग गर्ने गरेको पाइएको स्रोतको दावी छ । गिरीले प्रयोग गरेको मिटरमा ६/७ युनिट मात्र विद्युत् प्रयोग गरिएको पाइएको जनाइएको छ ।

विद्युत् चुहावट गर्नेलाई विद्युत् चोरी नियन्त्रण नियमावली २०५९ अनुसार कारवाही गर्नुपर्ने भएपनि नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले कारवाहीको प्रक्रिया अगाडि बढाएको/नबढाएकोबारे जानकारी दिन शंकास्पद रुपमा आनाकानी गरिरहेको छ । वितरण केन्द्र प्रमुख पुष्पराज पन्तका अस्वाभाविक हर्कतले छानविनलाई झनै रहश्यमय बनाएको छ ।


दोधाराचाँदनी फ्युज सेवामा स्थानीयको धर्ना
नेपाल विद्युत् प्राधिकरणले पटक–पटकका मागको वेवास्ता गरेको भन्दै महाकाली नगरपालिकाका स्थानीयले विद्युत् प्राधिकरण दोधाँराचाँदनी फ्युज सेवाको कार्यालयमा अनिश्चितकालीन धर्ना कार्यक्रम सुरु गरेका छन् । महाकाली नगरपालिकाका स्थानीय तथा अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष ओम बस्नेतले विद्युत् काउन्टर नियमित सञ्चालन गरिनुपर्ने माग राख्दै आएपनि त्यसको सुनुवाइ नभएपछि आईतबारदेखि विद्युत् कार्यालयमा अनिश्चितकालको लागि धर्ना कार्यक्रम सुरु गरेको बताए ।

विद्युत् कार्यालयको लापरबाहीले गर्दा उपभोक्ताले समयमै महसुल बुझाउन नपाई जरिवाना तिर्नुपर्ने नियति रहेको उनले बताए । ‘कार्यालयले नियमित काउन्टर सञ्चालन गर्नुपर्ने भएपनि अहिले हप्तामा ४ दिन मात्र महसुल बुझ्ने काम भइरहेको छ,’ उनले भने, ‘सो ४ दिनमा सबै उपभोक्ताले महसुल बुझाउन समय नपाउने र पछि समय नाघ्दै गएपछि बाध्य भई थप जरिवाना तिर्नुपर्ने बाध्यता रहेको छ ।’ महाकाली नगरपालिकामा ८ हजार उपभोक्ता रहेकोमा विद्युत् कार्यालयकै लापरवाहीले ५ हजार बढीले समयमै महसुल नबुझाएको भन्दै थप जरिवाना तिर्दै आइरहेको बस्नेतले बताए ।

 

 


About Author
-होम योगी