१५०१ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र ०५ , ०१:५० बजे

बेदकोटमा भदौंभित्र छाडा पशुचौपाया व्यवस्थापन गर्ने तयारी

Image

महेन्द्रनगर। बेदकोट नगरपालिकाले भदौं महिनाभित्रै छाडा पशुचौपाया व्यवस्थापन गर्ने तयारी गरेको छ ।

बेदकोट नगरपालिकामा रहेका छाडा गाईगोरु भदौं महिनाभित्र व्यवस्थापन गर्ने बेदकोट नगरपालिका प्रमुख अशोक चन्दले बताए । ‘नगरपालिकाले सामुदायिक गाईगोरु व्यवस्थापन भनेर नगर सभाबाट ५० लाख रुपैयाँ विनियोजन गरेको छ,’ उनले भने, ‘छाडा गाईगोरु व्यवस्थापनको लागि दैजीको १ नम्बर वडामा २८ हेक्टर जमिन छुट्याइएको छ ।’ छाडा पशु व्यवस्थापनको लागि घरमा रहेका पशुको तथ्याङ्क संकलन गरिएको उनले बताए ।

‘छाडा गाईगोरु कति रहेका छन्, यसको तथ्याङ्क संकलन गर्ने काम बाँकी रहेको छ,’ उनले भने, ‘छाडा गाईगोरुको दीगो व्यवस्थापनको लागि स्थानीय स्तरमा रहेका सम्बन्धित निकायसँग छलफल गर्ने कार्य भइरहेको छ ।’ सरोकार निकाय जिल्ला वन कार्यालय, कृषि कार्यालय लगायतका संघसस्थासँग छलफल गरी एउटा कार्यविधि बनाउने समिति गठन गरेका उनले बताए । ‘१५ जनाकोे कार्यविधि समिति बनाएका छौं, समितिले बुझाएको प्रतिवेदन अनुसार कार्य गर्छौं, छाडा गाईगोरु व्यवस्थापन गर्ने स्थानको स्थलगत अध्ययन गरी छलफल गर्छौं,’ उनले भने ।

बेदकोट नगरपालिकासँग जोडिएका भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकाले छाडा गाईगोरु व्यवस्थापनको तयारी खासै नगर्दा समेत छाडा पशुचौपाया व्यवस्थापन गर्न ढिलाइ भएको उनले बताए । ‘हामीले मात्रै गाईगोरु व्यवस्थापन गर्दा त्यहाँ गाईगोरु यता आउँछन् भन्ने चिन्ता छ,’ उनले भने, ‘भीमदत्त र शुक्लाफाटा नगरपालिकालाई पनि सँगै यो कार्य गरौं भनेका छौं ।’

बेदकोट नगरपालिकामा नगर अस्पताल स्थापना गर्न बजेट विनियोजन गरेको उनले बताए । ‘बेदकोट नगरपािलकामा अस्पताल छैन, नगर अस्पताल बनाउन ५० लाख रुपैयाँ बजेट विनियोजन गरेका छौं,’ उनले भने । उनले बेदकोट नगरपालिकाले अन्त्यष्टि गृह निर्माण, नगरको समृद्धिका लागि नगरपालिकाका सबै सडकहरू सडक सञ्जालसँग जोड्ने, नदी कटानको समस्या, नदी नालाको समस्या लगायतका समस्यालाई गुरुयोजना बनाइएको छ ।’