६०० पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र ०२ शुक्रबार, १३:५१ बजे

मतदाता नामावली दर्ता गर्दा बृद्धबृद्धालाई सास्ती

Image

महेन्द्रनगर। जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले सञ्चालन गरिरहेको फोटोसहितको मतदाता नामावली अद्यावधिक तथा दर्ता गर्दा शुक्लाफाँटा नगरपालिकामा बृद्धबृद्धालाई सास्ती भएको गुनासो गरिएको छ ।

साउन १६ गतेबाट कञ्चनपुरको शुक्लाँफाटा नगरपालिकामा सञ्चालन भएको मतदाता नामावली अद्यावधिक तथा दर्ता गर्दा महिला, बृद्धबृद्धा, अपाङ्गता भएका व्यक्तिलाई अप्ठ्यारो भएको शुक्लाफाँटा नगरपालिका–१ का स्थानीय गणेश पार्कीले बताए । उनका अनुसार नगरपालिका र निर्वाचन कार्यालयको लापरवाहीले झन्झट भइरहेको छ । ‘महिला, बृद्धबृद्धा, अपाङ्गता भएका व्यक्तिलाई नामावली दर्ता तथा अद्यावधिकका लागि सहज वातावरण बनाइनुपर्ने भएपनि त्यसो गरिएन,’ उनले भने ।

नगपालिकाको व्यवस्थापनको कमजोरीले बिहानदेखि साँझसम्म लाइनमा बसेका महिला, अशक्त व्यक्ति तथा बृद्धबृद्धालाई पालो नआएको भन्दै घर फर्काइने गरेको र युवालाई जतिबेला गएपनि नाम दर्ता गराइने उनले आरोप लगाए । शुक्लाफाँटा नगरपालिका र जिल्ला निर्वाचन कार्यालयले स्थानीयबाट आएको आरोप गलत भएको प्रतिक्रिया दिएका छन् ।

शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले निर्वाचन कार्यालयले सञ्चालन गरिरहेको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यक्रममा नगरपालिकाको पूर्ण सहयोग रहेको बताउँदै महिला, बृद्धबृद्धा एवम् शारीरिक अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर सेवा दिइरहेको बताए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत केशवसिंह भण्डारीले पनि महिला, बृद्धबृद्धा एवम् शारीरिक अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राख्न मातहतका कर्मचारीलाई निर्देशन दिइएको बताए ।

साउन १६ गतेबाट जिल्लाका सबै स्थानीय तहमा मतदाता नामावली दर्ता तथा अद्यावधीक कार्यक्रम सञ्चालन भइरहेको छ । निर्वाचन आयोगले भदौं ३ गतेसम्म कार्यक्रम चल्ने जनाएको छ ।


About Author
-प्रमोद लुहार