३६१ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र ०२ शुक्रबार, ११:४१ बजे

कञ्चनपुर भन्सारको राजस्व संकलनमा गिरावट

Image

महेन्द्रनगर। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले भारतमा वस्तु बिक्री कर (जीएसटी) लागू भएपछि राजस्व संकलनमा गिरावट आएको जनाएको छ ।

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख भन्सार अधिकृत मदन दाहालले चालू आर्थिक वर्षको साउनमा लक्ष्यको ५० प्रतिशत पनि राजस्व संकलन नभएको बताउँदै जीएसटी प्रणालीले प्रभाव पारेको बताए । उनले भन्सार कार्यालयले साउनमा २ करोड २९ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको भएपनि ४४ प्रतिशत अर्थात् ९९ लाख ३५ हजार रुपैयाँ मात्र संकलन भएको जानकारी दिए । तर, भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७३/७४ को साउन महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको थियो ।

गत आर्थिक वर्षको साउनमा १ करोड ६४ लाख २ हजार रुपैयाँ लक्ष्य राखिएकोमा झन्डै ५ लाख रुपैयाँ बढी अर्थात् १ करोड ६९ लाख ५० हजार रुपैयाँ राजस्व संकलन भएको थियो । यसअघि, दैनिक ५/६ लाख रुपैयाँ राजस्व संकलन हुने गरेकोमा अहिले अनुपात घटेर २ लाख रुपैयाँमा झरेको बताइएको छ । प्रमुख भन्सार अधिकृत दाहालले जीएसटी प्रणालीका साथै स्थानीय तहको चुनावमा सीमानामा आवागमनमा लगाइएको रोकले समेत साउनमा लक्ष्यभन्दा न्यून राजस्व संकलन भएको हुन सक्ने बताउनुभयो ।

जीएसटी प्रणाली लागू भएपछि भन्सार एजेन्टले बनाउने नक्कली बिल नियन्त्रणमा आउने विश्वास लिइएको छ । प्रणाली लागू भएपछि कारोबारीले प्रज्ञापनपत्र भर्दा ढुवानी साधन नम्बर एकीन गरेर भर्नुपर्ने र पछि ढुवानी साधन नम्बर फरक परेमा बिग्रेको अवस्था बाहेक नसच्याउने व्यवस्था रहेको भन्सार कार्यालयले जनाएको छ ।

 


About Author
-मानसखण्ड