२९८ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण ३२ , १०:३८ बजे

प्रजातान्त्रिक तानाशाहको खाँचो

Image

झट्ट हेर्दा राम्ररी अध्ययन गरोस्, ठूलो मान्छे बनोस् अनि बुढेसकालमा पालनपोषण गरोस् भन्ने आकांक्षा आमाबुबाले छोराछोरीप्रति राख्ने गर्छन् । यसकै लागि उनीहरूले आफ्नो तन, मन, धन छोराछोरीप्रति सुम्पिसकेका हुन्छन् । यसमै टेकेर जब छोराछोरी आफ्नो खुट्टामा उभिन खोजिराखेका हुन्छन्, हो यसै बेला काटमार शैलीमा घाँटी रेटेर हत्या गरिन्छ, सिद्धनाथ विज्ञान क्याम्पसका डम्मर जाग्री त केवल उदाहरणका पात्र हुन् ।

पत्रकारले समाचार लेखेकै भरमा थुनामा राखिन्छ । शैक्षिक संस्थामै विद्यार्थीको चरित्रहत्या गरिन्छ । चौतर्फी विवादस्पद व्यक्तिलाई डिनजस्तो मुख्य पदमा नियुक्ति गरिन्छ । आफ्नो देशको सीमाको रक्षा गर्दा बाह्य शक्तिबाट मान्छे मारिन्छन् । यी त केवल कञ्चनपुरमै भएका हालसालैका घटना हुन् । यसो नियालेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हेर्दा यस्ता घटना त सयौं होइन, हजारौका संख्यामा नहोलान् भन्न सकिँदैन । यसो पछाडि फर्केर हेर्ने हो भने २०४६ सालभन्दा अगाडि हामी जहाँ थियौ, अहिले पनि त्यसकै वरिपरि रुमल्लिराखेका छौं जस्तो मलाई लाग्छ ।

के हामीले यस्तै प्रजातन्त्र, लोकतन्त्र अनि गणतन्त्रको आशा गरेका छौं र ? यही हो त व्यक्तिको जीउन पाउने नैसर्गिक अधिकार ? वाक स्वतन्त्रता के लाई भन्छन् ? दक्षता र योग्यता कहाँ लागू हुन्छ ? यति हुँदा पनि यो सरकार किन मुखदर्शक बनेर बस्छ ? यी प्रश्न त म एउटा देशको नागरिकको हैसियतले सोध्दै छु । तर, यसको सही जवाफ कतैबाट पाइन्छ भन्ने आशा भने छैन । अचेल बिहान–बेलुका समाचारमा सुनिन्छन्, विभिन्न ठाउँमा घरको छतमा पहिरो खस्दै छ रे ! रोगव्याधले मान्छेहरू मर्दै छन् रे ! अनि प्रधानमन्त्री लगायत मन्त्रीको विदेश भ्रमण तय हुँदै छ रे ! देशमा यस्तो संकट आइपरेको बेलामा बिना एजेन्डाको उच्चस्तरीय विदेश भ्रमण गर्नु देशको अर्थतन्त्रलाई सक्नुबाहेक केही होइन । कतै सिंहदरबार प्रवेश गरेपछि जनता र देशप्रतिको उत्तरदायित्व सिद्धिने रहेछ कि क्या हो ?

१० वर्षे चलेको जनयुद्धमा हजारौंको हत्या भयो, कयौ अपाङ्ग भए, कतिले घरबार गुमाए, अनि कयौं टुहुरा अनि विधुवा भए । यसै समयमा राजदरबार हत्याकाण्ड पनि भयो । आँखिर अन्तमा राजाले राजगद्दी पनि त्यागे । तर, यसबाट हामी नेपाली जनताले एउटै चिज पायौ, अकल्पनीय पीडा । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाबाट आन्दोलनको घोषण गरे, त्यहीका मान्छेले सबैभन्दा बढी साथ र सहयोग पनि दिए । फलस्वरुप यसको बदलामा प्रचण्डले रोल्पालाई टुहुरा र गरीब बालबालिका बाहेक अरु के दिए ? बरु प्रचण्डले चाँहि प्रगति नै गरे लाजिम्पाटमा ठूलै घर बनाए ।

अब लागौं सुदूरपश्चिमतर्फ (अहिलेको ७ नम्बर प्रदेश) । सुदूरपश्चिमाञ्चल यस्तो क्षेत्र हो जसले धेरै पटक प्रधानमन्त्री पाइसक्यो, छोटोमा भन्ने हो भने प्रधानमन्त्री बन्नेहरूले केही पाए होलान् । तर, यहाँका जनताले केही पाएनन् । डा. केआई सिंह, लोकेन्द्रबहादुर चन्द र शेरबहादुर देउवा (अहिलेका प्रधानमन्त्री) सुपकै नेता हुन् । जो धेरै पटक प्रधानमन्त्री भइसके । यिनीहरूले आफ्नो विकास त अवश्य गरेका छन्, सुपबाट बसाईसरी काठमाडौंमा घर बनाए । तर, बिडम्बना सुपका जनताको न त पानी खाने पधेरा नै फेरियो, न त हिँड्ने बाटो नै फेरियो । अहिले पनि सुपका गाउँतिर जाने हो भने त्यही २० औं शताब्दीको अवस्था झल्झली देखिन्छ । यी प्रधानमन्त्रीले केही विकास गरेका भए, यो सुपले विकासको स्वाद चाख्न पाउँथ्यो ।

आफू सत्तामा हुँदा संविधान संशोधन गरौं र सत्ताबाट बाहिरिएपछि संविधान संशोधन हुनै सक्दैन भन्ने एमालेको अडान कतिको जायज ? आजसम्म नेपालको राजनीति पनि यिनै ३ ठूला दल माओवादी केन्द्र, एमाले अनि कांग्रेसले आजको आधुुनिक युगमा त्यही सिद्धान्तमा रहेर केही गर्न सक्दैनन् भन्ने प्रष्ट झल्किन्छ ।

आज देशमा हिंसा, गुण्डागर्दी, कालोबजारी, बलात्कार, भ्रष्टाचार, चरित्रहत्याजस्ता अकल्पनीय घटनाहरू बढ्दै गइरहेका छन् । यसको मुख्य कारण भनेकै मूल्यमान्यता र नियम, कानूनको कार्यान्यन गर्न नसक्नु हो । सक्षम र योग्य व्यक्ति पाउनुपर्ने ठाउँमा नातावाद र कृपावादबाट नियुक्ति गराइन्छ । त्यसैले त कुशल र प्रजातान्त्रिक तानशाहको खाँचो महसुस भएको हो । सरल भाषामा भन्ने हो भने देशका मुख्य र मान्यतामा आँच नआउने गरी देशका विद्यमान नियम र कानूनको अधिनमा रही समय, परिस्थिति र घटनाक्रम अनुसार कृपावाद र नातावादबाट प्रेरित नभई आवश्यता र परिस्थिति अनुसार यस सजाय दिनको लागि खुट्टा नकमाउनु वा हदैसम्मको दण्ड सजाय दिनुलाई नै प्रजातान्त्रिक तानाशाह भनिन्छ । तर, यहाँनेर हिटलरको जस्तो निरंकुशता आवश्यता औंल्याइएको होइन ।

हालका स्थापित दलहरूले प्रजातान्त्रिक तानाशाहको पालना गर्न नसकेको अवस्था प्रष्टै झल्किन्छ । त्यसकारण वैकल्पिक राजनीतिक शक्तिको खाँचो नेपाली जनताले महसुस गरिराखेका छन् । वैकल्पिक शक्ति यस्तो किसिमको होस्, जसका सिद्धान्तहरू समय, परिस्थिति र अवस्था अनुसार परिर्वतन हुँदै जाउन् । नातावाद र कृपावादबाट टाढा रहोस्, देशको स्वाभिमानमा आँच आउन नदेओस् । जो एउटा राम्रो छवि भएका व्यक्तिको समूह होस् । त्यसले मात्रै अब देशको मुहार फेर्न सक्दछ भन्ने आम जनमानसको धारणा छ ।

वैकल्पिक शक्तिको हावा छरेर धेरै वैकल्पिक शक्तिहरू स्थापना भए । तर, १ वर्ष नबित्दै बिलाएर गए । यसबाट यो प्रस्ट हुन्छ कि राम्रो छवि भएका, नातावाद, कृपावाद र भ्रष्टाचारबाट टाढा रहन खोज्ने व्यक्तिको समूह पाउनै गाह्रो भइसक्यो । अतः हाम्रो देश कहाँसम्म पुगिसक्यो सक्यो भन्ने कुरा यहीबाट प्रस्त देखिन्छ । देशको यो अवस्था हुनुको मुख्य कारण भनेकै कमजोर नियम, कानून र भएका नियम कानूनको पनि फितलो कार्यान्वयन हो ।

नेपाल यस्तो देश हो यहाँ गल्ती गर्नेले सजाय पाउँदैन, बरु सही बोल्नेले यो सजाय पाउँछ । शक्तिको चरम हिनामिना गरेका लोकमानसिंह कार्कीलाई कुनै कानून लाग्दैन, बरु दशौ वर्षदेखि पत्रकारितामा लागेर स्वतन्त्र छवि बनाएका कनकमणि दिक्षितको चरित्र हत्या गर्ने प्रयास गरिन्छ । यदि कनकमणि दिक्षितले गल्ती गरेका थिए भने उनलाई किन छोडियो ? यदि गल्ती गरेका थिएनन् भने किन चरित्र हत्या किन गरियो ? यस्ता घटना हालसालै कञ्चनपुरमा पनि घटेका थिए । कहिलेकाही त यस्तो देशमा जन्मनुपर्दा दुःख लागेर आउँछ ।

आजको हाम्रो आवश्यता भनेको सुशासनमुक्त समाज निर्माण होस् । जनताका प्रतिनिधि जनताप्रति उत्तरदायी हुन् । कुनै पनि व्यक्ति वा पेशाका आधारभूत अधिकारमाथि हनन् नहोस् । बाँच्न पाउनु व्यक्तिको नैसर्गिक अधिकार हो यसलाई कुण्ठित नगरियोस् । अनि, गल्ती गर्ने जो कोहीलाई कानूनको दायराभित्र ल्याइयोस् । उल्लेखित कुराहरू पुरा गर्नको लागि स्वच्छ छवी, राम्रो क्षमता भएको नेता कार्यकर्ताको आवश्यता छ । जो नातावाद र कृपावादबाट प्रेरित नहोस् । अनि, गल्ती गर्ने जो कोहीलाई उपयुक्त सजाय दिन सकोस् । 


सम्बन्धित