१९५ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण ३२ , १०:३० बजे

शिक्षा क्षेत्रमा देखिएको बेथितिको प्रभाव

Image

प्राचीनकालमा घर परिवारमा आमाले छोरीलाई र बुवाले छोरालाई घर व्यवहारका कुराहरू सिकाउने कुरालाई शिक्षाका रुपमा लिने गरिन्थ्यो । समयको विस्तारसँगै शिक्षा आदानप्रदान गुरुकुल शिक्षाबाट सुरु भयो । जहाँ गुरुहरूले प्रवचन दिन्थे र शिष्यहरूले सुनेका आधारमा ज्ञान हासिल गर्थे । जंगल वा गुफामा गुरुहरूको प्रवचन श्रृतिबाट (सुनेर) ज्ञानआर्जन गर्दै उनीहरूले भनेका कुरा कण्ठस्थ पार्नुपर्ने (स्मृति) शिक्षा प्रणालीको विकास भयो ।

समयको परिवर्तनसँगै आज वर्तमान युगमा सिल्प (सीपयुक्त) शिक्षामा आवश्यक हो । अर्थात्, शिक्षा श्रृति, स्मृर्ति र सिल्पको चरणमा अगाडि बढिरहनुपर्ने र आजको आधुनिक विज्ञानको युगमा सीपयुक्त व्यवहारिक शिक्षाले प्राथमिकता पाउनुपर्ने हो । तर, नेपालमा शिक्षा स्मृतिकै चरणमा सीमित रहेको छ । अहिले वर्तमान परिवेशको कुरा गर्दा शिक्षा स्मृति अवस्थामै सीमित रहनुको मुख्य कारण शिक्षामा देखिएको विभेदीकरण हो । यहाँ विभेदीकरण भन्नाले सरकारी स्कूललाई हेर्ने दृष्टिकोण र निजी स्कूललाई हेर्ने दृष्टिकोणको भिन्नतालाई जनाइएको हो ।

सरकारी स्कूलमा देखिने गैरजिम्मेवारीपनले शिक्षालाई धमिलो बनाएको छ । यहाँका कर्मचारी स्कूललाई १०–४ बजेसम्म समय काटेर तलब भत्ता पकाउने थलोको रुपमा लिइरहेका हुन्छन् । स्कूल मेरोे हो मैले हरेक रुपमा सहयोगी भई वालबालिकाको उज्वल भविष्य निर्माणमा हरतरहले लागिरहनुपर्छ भन्ने कुनै भावना हुँदैन । यसको प्रमाण स्वरुप आफ्ना छोराछोरीलाई निजी स्कूलमा पढ्न पठाउनु हो । यसको मतलब आफूले पढाइरहेको स्कूलमा पढाइ प्रभावकारी छैन भन्ने अर्को प्रमाण पनि दिएका छन् । जहाँ शिक्षकलाई विद्यार्थीको भविष्यबारे कुनै चिन्ता हुँदैन ।

बरु समग्र देशको चिन्ताका नाममा राजनैतिक पार्टी वा दलका झोला बोकेर हिँड्छन् । जसको दरिलो प्रमाणका रुपमा भर्खरै सम्पन्न पहिलो र दोस्रो चरणको स्थानीय चुनावलाई लिन सकिन्छ । जहाँ भोट माग्ने शिक्षकको कहीकतै त टीम नै भेटिन्थ्यो । तीमध्ये अधिकांश शिक्षकहरू सरकारी विद्यालयकै भेटिन्थे । कुनै–कुनै विद्यालयमा शिक्षकहरू मध्यपान गरेर पढाइरहेका पाइन्छन् ।

अझ भनौं दुर्गम क्षेत्रका विद्यालय जहाँ विद्यालय निरीक्षक तथा स्रोतव्यक्ति अनुगमन र निरीक्षणका नाममा टाढैबाट अवस्था राम्रै छ भन्ने रिपोर्ट लिएर फर्कन्छन् । त्यस्ता विद्यालयको अवस्था कहालिलाग्दो नै छ । अब सजिलै बुझ्न सकिन्छ कि तिनीहरूले कस्तो शिक्षा दिइरहेका होलान् ? विद्यार्थीको भविष्य कतातिर उन्मुख भइरहेको होला ?

यदि शिक्षक र सरोकारवालालाई विद्यार्थीको भविष्यमाथि चासो भए र दक्ष मानव संशाधन उत्पादनको लागि आधार तयार गरी देशको उज्वल भविष्यका बारेमा चासो भएमा शिक्षण कार्यलाई रोचक, अर्थपूर्ण, प्रभावकारी र बालमैत्री विद्यालय बनाउन कुनै समय लाग्दैन ।

शिक्षकका छोराछोरी आफूसँगै भए उनीहरूका बारेमा सम्पूर्ण कुरा राम्रोसँग थाहा हुन्थ्यो । तर, आफैंले राम्रो पढाउन नसक्ने ठहर गरी निजी स्कूलमा पठाउँछन् । आजकाल त केवल सरकारी स्कूलमा दुब्ला, पातला, गरीब र विपन्न वर्गका छोराछोरी मात्रै फाटो र मैलो लुगामा दिनभरि स्कूल वरिपरिको चौरमा भेटिन्छन् । शिक्षकहरू कि त नजिकको चिया पसलमा राजनीतिका बात मारिरहेका भेटिन्छन् कि त कतै समूह बनाएर तास खेलिरहेका । बस् यही हो सरकारी स्कूल र त्यहाँका शैक्षिक क्रियाकलाप ।

सरकारी विद्यालयमा अध्यापनरत शिक्षकले आफ्ना छोराछोरीहरू निजी स्कूलमा राम्रो शिक्षा आर्जन गर्ने उद्देश्यले पठाउनुहुन्छ । तर, निजी स्कूलको वास्तविकता बुझ्न जरुरी छ । यस्ता स्कूल देखावटीपनमा राम्रा देखिन्छन्, तर विद्यार्थीलाई घोकाएर, रटाएर, मानसिक यातनाका भोगी बनाइरहेका हुन्छन् ।

विद्यार्थीलाई खुल्ला वातावरणमा त्यस विषयवस्तुको बारेमा पढेको थाहा नहुने गरी अथवा रमाइलो वातावरणमा (बालमैत्री वातावरण) उसले ज्ञान प्राप्त गर्न सक्ने वातावरण यहाँ पनि भेटिँदैन । यसले गर्दा विद्यार्थीको कोमल र सिर्जनशील (रचनात्मक) मस्तिष्कलाई रेटेर विषयवस्तुलाई रटाउन वा घोकाउनमा मात्रै पूर्णरुपमा ध्यान केन्द्रित हुन्छ । न कि त्यसलाई भावी जीवनमा लागू गर्नुपर्ने हो । विद्यार्थीले कुन विषयवस्तु किन अध्ययन गरिरहेको छु ? भोलि यसको प्रयोजन के हुने ? कुन क्षेत्रमा यसले प्राथमिकता पाउँछ ? यस्ता कुरामा शिक्षक ध्यान दिँदैनन् र त विद्यार्थीको पनि त्यतापट्टि ध्यान जान सकेको देखिँदैन ।

त्यसकारण यी दुबै स्कूलले प्रदान गर्ने शिक्षा प्रभावकारी भएको देखिँदैन । सरकारी विद्यालयका ३÷४ कक्षामा अध्ययनरत विद्यार्थी अक्षरसम्म पनि प्रष्ट चिन्न सक्दैनन् भने निजी स्कूलका विद्यार्थी आफ्ना किताबबाहेक अरु अक्षर चिन्न सक्दैनन् । किनकि घोकाउने र रटाउने सिस्टम । त्यसकारण मुलुकका केही औलामा गन्न सकिने विद्यालयबाहेक अन्य कयौं विद्यालयले दक्ष, आत्मनिर्भर र सीपयुक्त जनशक्ति उत्पादन गर्न सकिरहेका छैनन् । माध्यमिक शिक्षाको यही प्रभावले गर्दा विश्वविद्यालय शिक्षा पनि बेरोजगार जनशक्ति उत्पादन गर्ने कारखानाका रुपमा देखिएका छन् ।]बजारले मागेको शिक्षा र बजारले मागेको जनशक्ति उत्पादन हुन नसक्नु नै देशमा कुनै पनि विकास नहुनुको मुख्य कारणका रुपमा लिन सकिन्छ ।

शैक्षिक क्षेत्रमा देखिने यो बेथितिका जिम्मेवार तपाई हामी सबै भएपनि मुख्य दायित्व राज्यले नै हुने गर्दछ । विद्यालय शिक्षाका लागि वार्षिक करोडौं बजेट छुट्याउँछ । तर, सो अनुसार प्रतिफल प्राप्त भएको छ वा छैन ? अनुगमन र निरीक्षण गर्दैन । वर्षेनी नेपाल सरकारले शिक्षामा गर्दै आएको लगानी बालुवामा पानी खन्याय सरह भएको छ । यहाँ शिक्षामा लगानी बढाउनुपर्छ भन्ने माग जताततै सुनिन्छन् । तर, गरिएको लगानी अनुसार प्रतिफल प्राप्त गरु वा प्रदान गरु कोही चाहँदैनन् । अदक्ष शिक्षकलाई अवकाश दिने निर्णयले तिनै अदक्ष शिक्षक आन्दोलित हुन्छन् ।

म पनि तिनै सरकारी विद्यालयले उत्पादन गरेको बजारमा बिक्न नसक्ने शिक्षित बेरोजगार हुँ र मजस्तै मसँगै निजी विद्यालयबाट आएका जनशक्ति पनि छन् । यदि मैले कुनै सीपमूलक शिक्षा पाएको भए अहिले कुनै आफ्नै निजी कम्पनी वा व्यवसायको मालिक भएर बसिरहेको हुन्थे । र, देशको आर्थिक विकासमा सहयोग पुर्‍ याइरहेको हुन्थे । त्यसकारण सरकारी पक्षबाट शिक्षामा पर्याप्त लगानी र सो अनुसार प्राप्ति भए÷नभएको कडा अनुगमन र निरीक्षण गरी कमीकमजोरी देखिएको ठाउँमा सुधारात्मक कदम चाल्नु जरुरी छ ।

त्यसैगरी, विद्यालयमा लापरवाही गर्ने शिक्षक वा राजनैतिक भरणपोषणमा बाचेका शिक्षकलाई सिधै अवकाशको व्यवस्था गरिनु आवश्यक छ । गाउँगाउँमा अभिभावक शिक्षा दिई अभिभावकले पूरा गर्नुपर्ने कर्तव्य र विद्यालयको आफ्नो क्षमता अनुसार अनुगमनको गर्ने जिम्मेवारी प्रदान गर्नु पनि आवश्यक देखिएको छ । यहाँ च्याउजस्तै उम्रिरहेका निजी विद्यालयको पनि सरकारी पक्षबाट निरीक्षण गरी निश्चित मापदण्ड तय गर्नु आवश्यक छ ।

हरेक विद्यालयले प्रकाशकले दिने कमिशनका नाममा फरक–फरक पाठ्यपुस्तक लागू गरिरहेका छन् । हरेक वर्ष कपडा व्यापारीसँग कमिशनको आधारमा फरक–फरक विद्यालय पोशाक लागू गर्छन् । न मापदण्ड अनुसार शिक्षकलाई तलब खुवाइन्छ, न आवश्यक शैक्षिक योग्यता पुगेका शिक्षक नै भेटिन्छन् । यी तमाम कुराबाट के बुझिन्छ भने निजी विद्यालको एउटै ध्यान जतिसक्दो आर्थिक रुपमा सम्पन्न हुनेतिर मात्रै देखिन्छ । यसलाई सुधार गर्न सबै आ–आफ्नो पक्षबाट जिम्मेवार भएर लागौं, अवश्य देश रोजगारमय र सीपयुक्त जनशक्तिमय हुनेमा कुनै शंका छैन । लेखक सुदूपश्चिमाञ्चल विश्वविद्यालय महेन्द्रनगरमा अध्ययनरत छन् ।


सम्बन्धित