१६४५ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण ३० सोमबार, १२:०८ बजे

विद्युत् प्राधिकरण महेन्द्रनगरका प्रमुखको चरम लापरवाही

Image

महेन्द्रनगर । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख पुष्पराज पन्त कर्मचारीसँग समन्वय नै नगरी कार्यालय बाहिर गएपछि ‘विद्युत् चोर’ कर्मचारीलाई बचाउन फरार भएको आरोप लागेको छ ।

दोधारा फ्यूज सेवाका ज्यालादारी कर्मचारी गणेश गिरीले विद्युत् चोरी गरेको विषयमा छानविन भइरहेका बेला कार्यालय प्रमुख एकाएक फरार हुनु शंकास्पद रहेको दोधाराका स्थानीय तथा अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष ओम बस्नेतले बताए । ‘विद्युत्का कर्मचारी गणेश गिरीले आफ्नो घरमा विद्युत् चोरेर प्रयोग गरेको विषय स्थानीयले उठाइरहेका छौं । तर, विद्युत् महेन्द्रनगरका प्रमुखले छानविनमा ढिलाइ गरेर दोषीलाई बचाउन खोजेका छन्,’ बस्नेतले भने, ‘दोषी गिरीमाथि तत्काल कारवाही गर्न माग गर्दै विद्युत् प्राधिकरण महेन्द्रनगरमा ज्ञापनपत्र दिएका छौं ।’ पटक/पटक कार्यालयमा धाउँदा समेत वितरण केन्द्र प्रमुख नभेटिने भएकाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा समेत बोधार्थ दिइएको बस्नेतले बताए । उनका अनुसार माग पूरा गर्न ३ दिने अल्टिमेटम दिइएको छ ।

वितरण केन्द्र प्रमुख पन्त कार्यान्वयनमा समन्वय नै नगरी सम्पर्कविहीन हुने भएकाले कर्मचारी समेत हैरान भएका छन् । नियम अनुसार कार्यालय प्रमुख बिदामा रहँदा आफूभन्दा तल्लो स्तरको पदका कर्मचारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइनुपर्ने भएपनि वितरण केन्द्र प्रमुख पुष्पराज पन्तले वितरण केन्द्रका कसैलाई पनि निमित्त प्रमुखको जिम्मेवारी नदिएको केन्द्रका इन्जिनियर राकेशप्रसाद भट्टले बताए ।‘शुक्रबार नेपाल विद्युत् प्राधिकरण अत्तरिया क्षेत्रीय कार्यालयले आयोजना गरेको कार्यक्रममा गएका हुन्, निमित्त प्रमुखको जिम्मेवारी दिएका छैनन्, आईतबार कार्यालयमा पनि आएनन्,’ उनले भने ।

कार्यालय प्रमुख बिदा बस्दा क्षेत्रीय कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिई आफूभन्दा तल्लो पदको कर्मचारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिनुपर्ने व्यवस्था रहको नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका प्रशासकीय अधिकृत चन्द्रकान्त अधिकारीले बताए । ‘प्रमुखले बाहिर जाँदा अर्थात् बिदामा बस्दा आफूभन्दा तल्लो कर्मचारीलाई कार्यालयको जिम्मेवारी दिनुपर्छ,’ उनले भने ।

नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्र प्रमुख पन्तले नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियालाई २ दिनको बिदा लिएको जानकारी गराएको उनले बताए । ‘वितरण केन्द्र प्रमुख पुष्पराज पन्तले शुक्रबार २ दिनको बिदा लिएको जानकारी गराएका थिए, कार्यालय प्रमुख बाहिर जाँदा आफूभन्दा जुनियर कर्मचारीलाई कार्यालयको निमित्त प्रमुख जिम्मेवारी दिनुपर्ने, किन दिएन छन् रु’ उनले भने ।कार्यालय प्रमुख बिदामा बस्दा अथवा बाहिर जाँदा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर बाहिर जानुपर्ने भएपनि पन्तले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई जानकारी नगराएको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख प्रेमसिंह कुँवरले बताए । ‘कार्यालय प्रमुख बाहिर जाँदा जिल्ला प्रशासनलाई जानकारी गराउनुपर्ने हो । धेरै कार्यालयका प्रमुखले जानकारी गराएपनि केहीले जानकारी गराउँदैनन्,’ उनले भने ।

यसबारे बुझ्न वितरण केन्द्रका प्रमुख पुष्पराज पन्तलाई फोन गर्दा उनको फोन ‘स्वीच अफ’ थियो ।वितरण केन्द्र प्रमुख पन्त कार्यालय बाहिर हुँदा विद्युत् चोरी गरेर प्रयोग गरेको आरोपको अनुसन्धान गरेको टोलीले प्रतिवेदन बुझाउन पाएको छैन ।शुक्रबार नै प्रतिवेदन बुझाउन तयार पारिसकेको भएपनि कार्यालय प्रमुख बाहिर हुँदा प्रतिवेदन बुझाउन नसकिएको छानविन समितिका संयोजका तथा केन्द्रका इन्जिनियर राकेशप्रसाद भट्टले बताए । ‘विद्युत् चोरी गरेर प्रयोग गरिएको विषयमा गरिएको अनुगमनपछि तयार पारिएको प्रतिवेदन हाकिम सा’प शुक्रबारदेखि बाहिर भएकाले बुझाउन बाँकी रहेको छ,’ उनले भने ।

विद्युत् चोरलाई प्रश्रय दिन कार्यालय प्रमुख फरार रहेको अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष ओम बस्नेतले बताए । ‘चोरलाई बचाउन कार्यालय प्रमुख फरार छन्, अनुगमन टोलीले पनि प्रतिवेदन बुझाएको छैन,’उनले भने । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्र मातहतको दोधारा फ्यूज सेवामा ज्यालादारीमा कार्यरत कर्मचारी गणेश गिरीले चोरी गरेर प्रयोग गरेको भन्दै स्थानीयले छानविनको लागि निवेदन दिएपछि वितरण  केन्द्रले छानविन गरेको थियो । विद्युत् चोरी गरेरनगरेको छानविन गर्न वितरण केन्द्रले इन्जिनियर राकेशप्रसाद भट्टको संयोजत्वमा छानविन टोली पठाएको थियो ।

गिरीले नियम विपरित सर्भिस तार जोडेर विद्यत् प्रयोग गर्ने गरेको पाइएको अनुगमन टोलीका संयोजक राकेशप्रसाद भट्टले बताए ।‘गिरीले अर्को घरबाट सर्भिस तार लिएर आफ्नो घरको मिटरमा जोडेको छ, मिटरमा जोड्दा पोलबाट नै लाइन लिनुपर्छ, यसरी लाइन जोड्दा विद्युत् चुहावट हुन्छ,’ उनले भने ।गिरीले १ महिना अगाडिदेखि नियम विपरित सर्विस तार जोडेर प्रयोग गर्ने गरेको पाइएको उनले बताए ।

गिरीले प्रयोग गरेको मिटरमा ६र७ युनिट मात्र विद्युत् प्रयोग गरिएको पाइएको उनले बताए । ‘सबै भन्न सकिँदैन, हाकिम सा’पलाई हामी प्रतिवेदन बुझाउँछौ, उहाँसँग बुझ्नु,’ उनले भने । गिरीलाई अहिले फ्यूज सेवाबाट दोधाराको पावर सवस्टेसनमा सरुवा गरेको उनले बताए । बिहीबारसम्म कार्यालयमै रहेका वितरण केन्द्र प्रमुख पुष्पराज पन्तले विद्युत् चोरीको विषयमा जानकारी दिन आनाकानी गरिरहेका थिए ।

 


About Author
-होम योगी