७७७ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण ३० , ०९:२५ बजे

कृषि परियोजनाको ७० प्रतिशत बजेट फ्रिज

Image

महेन्द्रनगर । कञ्चनपुरमा लागू भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ७० प्रतिशत बजेट खर्च हुन नसकेर फ्रिज गएको छ ।

जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका बाली विकास अधिकृत नवराज जोशीका अनुसार परियोजना अन्तर्गत  पकेट र ब्लक परियोजनाका लागि विनियोजित ५ करोड ७० लाख ६८ हजारको २९ दशमलव ५५ प्रतिशत अर्थात् १ करोड ६८ लाख ७२ हजार रुपैयाँ बजेट खर्च भएको छ । परियोजना अन्तर्गत छनौट भएका विभिन्न कार्यक्रमका लागि माग अनुसारको आवेदन नआउँदा तथा सञ्चालक समितिको कारण रकम खर्च हुन नसकेको कृषि विकास कार्यालयले जनाएको छ ।

परियोजनाको ब्लक विकास कार्यक्रम अन्तर्गत १ सय हेक्टर क्षेत्रफलमा मत्स्य ब्लक कार्यक्रम लागू गर्ने भएपनि १४ हेक्टर क्षेत्रफलमा मात्र मत्स्य पोखरी निर्माण गरिएको कृषि विकास कार्यालयका बाली विकास अधिकृत जोशीले बताए । उनका अनुसार उक्त मत्स्य ब्लक कार्यक्रम अन्तर्गत कृषकलाई प्रति १ हेक्टर ३ लाखका दरले अनुदानको व्यवस्था गरिएको थियो । जसमा कुल ३ करोड रकम विनियोजन भएको थियो । तर, मत्स्य ब्लक कार्यक्रमका लागि आएको बजेटको ४ लाख २० हजार रुपैयाँ मात्र खर्च भएको कृषि विकास कार्यालयका मत्स्य विकास अधिकृत मोहन चन्दले जानकारी दिए ।

‘१ सय हेक्टर क्षेत्रफलमा मत्स्य पोखरी निर्माणका लागि आवेदन दिएका ८२ जना मध्ये ३७ जनाले मात्र पोखरी निर्माण गरेका छन्,’ उनले भने । जसमा भीमदत्त नगरपालिकामा ३ दशमलव ४८ हेक्टर, बेदकोट नगरपालिकामा ४ दशमलव १९ हेक्टर, शुक्लाफाँटा नगरपालिकामा १ दशमलव ३४ हेक्टर र बेल्डाँडी गाउँपालिकामा ४ दशमलव ७ हेक्टर जमिनमा कृषकले मत्स्यपालनका लागि पोखरी निर्माण गरेका छन् ।

यसैगरी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको पकेट विकास कार्यक्रम अन्तर्गत धान, तरकारीका ४५ पकेट निर्माण गर्नुपर्ने भएपनि २३ पकेट मात्र निर्माण भएको कृषि विकास कार्यालयले जनाएको छ । परियोजना अन्तर्गत कृषकको सहुलियतका लागि ‘कस्टम हायरिङ सेन्टर’ सञ्चालनमा ल्याउनुपर्ने भएपनि गत आर्थिक वर्षमा उक्त कार्य समेत नगरिँदा बजेट फ्रिज गएको कार्यालयले जनाएको छ । परियोजना सञ्चालनका लागि गठित सञ्चालक समितिले काम गर्न नसक्दा हायरिङ सेन्टर सञ्चालन नभएको हो ।

 


About Author
-मानसखण्ड