३३५ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण २७ शुक्रबार, ११:४७ बजे

मतदान व्यवहारलाई प्रभावित पार्ने तत्व

Image

लोकतन्त्रमा मतदान प्रक्रियाले व्यवस्थालाई जीवन्तता प्रदान गर्दछ । मत अथवा विचार मतपत्रको माध्यमले मतदाताले त्यतिकै प्रदान गर्दैन । त्यसको पछाडि लामो समयदेखि उसको मनमा खेलिरहेका विषयवस्तुले महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । सुदूरपश्चिमाञ्चल विकास क्षेत्र अथवा ७ नम्बर प्रदेशमा आम मतदाताले आफ्ना प्रतिनिधिहरूको छनौट गर्दा के–के मुख्य मुद्दा मष्तिष्कमा राखी आफ्ना प्रतिनिधिको छनौट गर्दछ भन्ने विषयमा सानो विश्लेषण प्रस्तुत गरिएको छ ।

वैचारिक आस्था
मतदान गर्दा मतदाताको मन मष्तिष्कमा विचारधारा वा सिद्दान्तको अमिट प्रभाव देखिन्छ । पार्टीको सार्वभौम विचार, दलहरूका घोषणापत्र, दलहरूको पारष्परिक तुलनात्मक अध्ययन र उनीहरूले गर्ने गरेका क्रियाकलापहरूको मतदाताको मतदान प्रक्रियामा असर पर्दछ । तर, यो पनि तथ्य उल्लेखनीय छ कि सौद्धान्तिक रुपले मतदान गर्ने मतदाताको संख्या २५–३० प्रतिशतसम्म मात्र नै देखा पर्दछ । विचारधाराको सम्बन्धमा गम्भीर मनन् गर्नेहरूको संख्या एकदमै कम छ ।

विचारधारा अथवा वादको सम्बन्धमा मतदाता मात्रै होइन, अपितु जिल्ला स्तरीय नेता र कार्यकर्तामा पनि यथोचित ज्ञानको अभाव देखिन्छ । उदाहरणार्थ पार्टीका सक्रिय अथवा संगठित सदस्य संख्या र तिनका परिवारको संख्याभन्दा पनि पार्टीलाई कम संख्यामा मतदान गरेको समेत पाइन्छ । यदि यी सबै व्यक्ति पनि सौद्धान्तिक रुपमा मतदान गर्दछन् र प्रयास गर्दछन् भने त्यो पदको विजय सुनिश्चित नै हुन्छ । हाल बढी चर्चामा आएको अन्तर्घातको समस्याको मूल कारण त्यही सदस्य संख्याको आधारमा गरिने मूल्याङ्कन हो । पुरानो चुनाव चिन्ह छ भने मतदाताहरूलाई सम्झना त रहन्छ, तर गम्भीरतापूर्वक विचारधारात्मक रुपमा मतदान कम नै हुन्छ ।

लोकतन्त्रको पक्षमा मतदान
नेपाली जनता आर्थिक रुपले साम्यवादी किसिमको व्यवस्थाजस्तै द्रुतगतिमा आर्थिक एवम् भौतिक विकास चाहन्छन् । तर, राजनीतिक रुपमा बहुदलीय व्यवस्थाका पक्षधर छन् । त्यसको परिणाम चुनावमा पनि देखा पर्दछ । प्रजातान्त्रिक र वामपन्थी शक्तिहरूमा मत विभाजन करिब–करिब एकजस्तै देखिनु जनताको द्वैध मानसिकताको परिचायक हो । तर, जनताले मतदान गर्दा लोकतन्त्रकै पक्षमा मतदान गरेको देखिन्छ । भौतिक विकास सुविधाहरू र अन्य कतिपय कारणहरूले पछाडि परेको भएतापनि सुदूरपश्चिमाञ्चल राजनीतिक समझदारी देखापर्दछ ।

विक्रम सम्वत् २००७ सालमा नेपाली कांग्रेसद्वारा देशव्यापी क्रान्तिको समय ब्रह्मदेवमण्डी (कञ्चनपुर) मा रुप सिंहद्वारा आधिपत्य स्थापित गरिएको घटनापछि पुनरुत्थानवादीद्वारा सत्ताकब्जा गरिएको घटनादेखि वर्तमानसम्मको सम्पूर्ण प्रजातान्त्रिक संघर्षमा सुदूरपश्चिमको जनता सक्रिय रहेको छ । यसै सक्रियताको कारणले निर्वाचनमा लोकतान्त्रिक शक्तिहरूको पक्षमा यहाँको जनताको ‘मत’ परिरहन्छ ।

जनताका आकांक्षा
जनताका आफ्नो आवश्यकता र इच्छाहरूको मतदानमाथि असर पर्दछ । युवा वर्गमा बेरोजगारी, विद्युतीकरणको समस्या, पुलपुलेसा, सडक आदि निर्माण गर्नेजस्ता भौतिक पूर्वाधारहरूको विकाससँग सम्बन्धित समस्याहरू यो क्षेत्रमा देखा पर्दछन् । अविकसित क्षेत्रको गरीब मतदाता, बेरोजगारी, आर्थिक उन्नतिको नाराबाट छिट्टै नै प्रभावित भएर मतदान गर्दछन् । कलकारखानाको स्थापना गर्ने र मानिसहरूको आर्थिक जीवनलाई समुन्नत बनाउनेजस्ता आश्वासनले मतदाता शीघ्र नै प्रभावित हुन जान्छन् । अशिक्षाका कारण मतदाता लोकतान्त्रिक मूल्यहरूको अपेक्षा, आर्थिक प्रलोभन र आश्वासनबाट बढी प्रभावित हुन्छ ।

मतदाताको मनस्थिति
आम मतदाताको मनस्थिति २ प्रकारको देखिन्छ । पहिलोः विकासको पूर्वाधारको सम्बन्धमा विद्यालय, मन्दिर आदि जस्ता कार्य हुन् । दोस्रोः आम निर्वाचनहरूमा देखिने मनोवृत्ति एवम् जनआकांक्षाको रुपमा बेरोजगारी नै मुख्य समस्या र चुनावी मुद्दाको रुपमा देखिन्छन् । चुनाव पश्चात्को स्थितिमा सार्वजनिक कार्यहरूभन्दा मानिसहरू व्यक्तिगत कार्यहरूमाथि बढी जोड दिन्छन् । नेता अथवा मन्त्रीको अगाडिको भीड त्यसैको द्यौतक हो ।

व्यक्तिगत समस्याहरूमाथि बढी ध्यान केन्द्रीत गरिएको स्थितिमा सार्वजनिक विकास एवम् समस्याहरूमाथि सांसदहरू बढी ध्यान दिन पाइरहेका छैनन् । जति समय सार्वजनिक कार्य र विषयमाथि जनप्रतिनिधिहरूले दिनुपर्दथ्यो, त्यति भइरहेको छैन । मानिसहरू पारस्परिक व्यवहारमा पनि विचारधाराहरूमाथि आधारित व्यवहार गरिरहेका देखिन्छन् । यो प्रवृत्तिलाई हतोत्साहित गर्नु आवश्यक छ ।

क्षेत्रीयता एवम् जातीयता
सुदूरपश्चिमाञ्चलमा निर्वाचनको समयमा न्यूनाधिक रुपमा क्षेत्रीयता र जातीयताजस्ता विकृतिहरू पनि देखा पर्दछन् । यो सम्बन्धमा पार्टीका राजनीतिक सिद्धान्तसँग प्रतिवद्ध मतदातामाथि क्षेत्रीयता आदिको केही प्रभाव पर्दैन । तर, जो जसरी भएतापनि आफ्नो स्वार्थसिद्ध गर्न चाहन्छ, यस्ता मतदाता नै क्षेत्रीयताको नारा लगाउँछन् । सुदूरपश्चिमाञ्चलमा पनि जातीयताको असर एक हदसम्म देखा पर्दछ । सबै व्यक्ति ‘राजनीतिक’ नै हुन्छन् भन्ने छैन । यो बाहेक अरु थोक पनि हुन्छन् ।


कैयन कुरालाई लिएर मतदाता मतदान गर्दछ । प्रत्येक निर्वाचनमा दलहरूको अलग–अलग चुनावी स्थिति एवम् सिट संख्यामा कम बढी हुने मुख्य कारण मतदातामा आर्थिक छटपटि पनि हो । मतदातालाई यो आभास रहन्छ कि कुन व्यक्ति वा दल विकास गर्न सक्छ । यस अतिरिक्त पनि मतदाताको ठूलो भाग क्षेत्रीयता र जातीयताजस्ता छुद्र भावनाहरूबाट प्रभावित भइहाल्छ । यस प्रवृत्तिका कारण विकासप्रतिको धारणा दबेर रहेको हुन्छ ।

विकासका प्रति दृष्टिकोणको भावनामा ह्रास आएर क्षेत्रीयताको भावना बलवती हुँदै गइरहेको छ । यस दुष्प्रवृत्तिका लागि केही हदसम्म उच्च पदस्थ राजनीतिक व्यक्ति जिम्मेवार छन् । आजको राजनीतिमा व्यक्तिवादी प्रवृत्ति हावी हुँदै गइरहेको छ । नेताहरूको वरिपरिका व्यक्ति मात्रै लाभ लिइरहेका हुन्छन् । यी सबै कारणहरूले उत्पन्न भएको निराशाको भावनाले मतदाता मतदान गरिरहेको छ ।

जनतामा सन्तोषको भावना
मतदाताको एउटा वर्ग यस्तो छ जसको मान्यता छ कि पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्थामा खासै अन्तर आएको छैन । दलहरूमा अन्तर्घात छ । कुनै पनि पदको विश्वसनीयता रहेको छैन । भ्रष्टाचारमा बृद्धि भइरहेको छ । आर्थिक स्रोतहरूको अभावमा जनता दुःखी छ । नेता र कार्यकर्ता जनतालाई ठग्ने धन्दामा लागेका छन् । अनुशासनको कमी छ । प्रत्येक क्षेत्रमा विकृति छन् ।

राजनीतिक प्रशिक्षणमा यी कुरामाथि दलहरू कहिल्यै पनि चर्चा गर्दैनन् । राजनीतिक चेतनामा बृद्धिभन्दा दलीय चेतनामा बृद्धि भइरहेको छ । राजनीतिक दलहरू एकआपसमा अल्झिएका छन् । जनताको ध्यान राख्नुभन्दा स्वार्थ केन्द्रीत राजनीतिमाथि जोड हुन थालेको छ । (उपरोक्त लेख २०५६ सालमा तत्कालीन उपसभामुख भोजराज जोशी, सांसद एनपी सावद, सांसद रमेश लेखक, सांसद गंगादत्त जोशी, विनयध्वज चन्द, मेयर यज्ञराज जोशी, स्व. दानसिंह ऐर (पाटन), स्व. देवीप्रसाद ओझासँग गरिएको कुराकानीमा आधारित ।)


About Author
-प्रा. डा. मुकुन्द कलौनी