१०२६ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण २७ , ११:२८ बजे

‘चुनावपछि जनताले गाउँगाउँमा नेता पाएका छन्’

Image

– उत्तरदेव भट्ट (वडा सदस्य)
शुक्लाफाँटा नगरपालिका–१ कञ्चनपुर
स्थानिय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले काम सम्हालिसकेका छन् । निर्वाचनको क्रममा जनप्रतिनिधिले धेरै सपना बाँडेका थिए । ती वाचा पूरा गर्नको लागि जनप्रतिनिधिले के गरिरहेका छन् । जनप्रतिनिधि निर्वाचित भएपछि गरिरहेका कामकारवाहीका सन्दर्भमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का वडा सदस्य उत्तरदेव भट्टसँग पत्रकार होम योगीले गरेको कुराकानीको सम्पादित अंश :

वडा सदस्यमा निर्वाचित भएपछि के काममा व्यस्त हुनुहुन्छ ?
– हामी निर्वाचित भएपछि पहिलो बैठकमा वडा कार्यालय खोल्ने कार्य थियो । हामीले वडा नम्बर १ मा वडा कार्यालय खोलेका छौं । अहिले वडा नम्बर १२ पनि संयुक्त रुपमा छ । वडा नम्बर १२ ले आफ्नै वडामा कार्यालय हुनुपर्छ भन्ने माग राख्दै आएको छ । वडा सचिव नभएकाले वडा नम्बर १ बाट काम भइरहेको छ । वडा कार्यालय स्थापना भएदेखि वडाबाट प्रदान गरिने सेवासुविधा दिइरहेका छौं । आर्थिक वर्ष २०७४/०७५ का लागि वडा भेला गरी योजना तर्जुमा गरिसकेका छौं । वडाको पूरै टीमले ६ वटा टोलमा गरेर प्रत्येक टोलका समस्याको तथ्याङ्क संकलन गरेका छौं । प्राथमिकताको आधारमा नगरपालिकामा योजना पेश गरेका छौं ।

नगरबाट प्रदान गर्ने धेरैजसो सुविधा जनताले वडाबाटै पाउँदा जनताको प्रतिक्रिया के आउँछ ?
– पहिला नगरपालिकाका १२ वटै वडाका जनताले सेवासुविधा लिन नगरपालिका कार्यालय जानुपथ्र्यो । अहिले वडामा नै पाउँदा जनता उत्साहित भएका छन् । सबै वडाका वासिन्दा नगरपालिकामा सेवा लिन जाने हुँदा नगरपालिकामा भीड हुने, कामको चाप बढी हुने हुँदा कर्मचारीलाई काम गर्न गाह्रो हुने समस्या थियो । अहिले १ नम्बर वडाको अलग्गै वडा कार्यालय भएकाले कामको चाप पनि कम छ, तुरुन्तै सेवा पाइरहेका छन् । वडा कार्यालयबाट सेवा पाउँदा र २० वर्षपछि जनप्रतिनिधि पाउँदा वडावासी खुसी भएका छन् ।

तपाईलाई वडा सदस्य भएर काम गर्न पाउँदा कस्तो लागिरहेको छ ?
– जिम्मेवारी बोध भइरहेको छ । हिजो राजनीतिक संयन्त्रले काम गरिरहेको थियो । २० वर्षसम्म जनप्रतिनिधि थिएनन् । त्यतिबेला नेता को हो भनेर जनतालाई छुट्याउन गाह्रो थियो । आफ्नै ढंगले प्रत्येक दलका नेता दावी गरिरहेका हुन्थें । त्यसमा २०/२५ जनाको हुलै बनेको हुन्थ्यो, अहिले जनप्रतिनिधि भएर हामी आएपछि जनताले नेता पाएका छन् । त्यो जिम्मेवारी अब हाम्रै काँधमा रहेको छ । वडाका हरेक समस्यासँग साक्षात्कार भएर ती समस्या समाधानका लागि प्रयासरत छौं ।

तपाई जनप्रतिनिधि भएर काम गरिरहँदा जनताको सहयोग कतिको पाइराख्नुभएको छ ?
– जनताले नेता पहिचान गरेका छन् । जनताले सहयोग गरिरहेका छन् । वडामा हुने सामान्य झैंझगडा, गलत बुझाइले हुने झगडाहरू हिजो प्रहरी चौकीमा पुग्ने कुरा वडाबाटै समाधान भइरहेका छन् । सामान्य लेनदेन, विभिन्न खेतका सीमाना, ग्राभेल, ह्यूमपाइपका कुराहरू ठूलै ‘इस्यू’ बन्ने गरेका थिए भने अहिले ती सामान्य तरिकाले समाधान भइरहेका छन् ।

स्थानीय चुनावमा कसरी जित्न सफल हुनुभयो ?
– हामी जनताको घरदैलोमा गएर जनताको मन जितेर र जनताप्रति उत्तरदायी रहने, विगतको केही काम गराई, समाजसँगको घुलमिल, समाजमा हुने विसंगति, भ्रष्टाचारविरुद्ध बोलेका कारण र विकासका केही योजना र खाका प्रस्तुत गरेका कारण जित्न सहज भयो । वडामा जित्नु भनेको अप्ठ्यारो पनि छ । किनभने, चिरपरिचित हुन्छ । सम्पूर्ण गतिविधि वडावासीलाई थाहा हुन्छ । एक हिसाबले सजिलो पनि छ । किनभने, वडामा सबै आफ्ना गतिविधि थाहा हुने हुनाले जित्न पनि गाह्रो नहुने मलाई महसुस भयो ।

निर्वाचनको क्रममा के कस्ता वाचा गर्नुभएको थियो ?
– स्थानीय तहको निर्वाचनको क्रममा धेरै ठूला सपना त बाडेनौं हामीले, सुशासनका कुरा गरेका थियौं । हाम्रो वडा विकट छ, पूर्वाधार धेरै कम छन्, सडक सञ्जालले सबै टोललाई जोड्न सकिएको छैन, वर्षाको समयमा कतिपय खहरे नालाहरू छन् । कतिपय दलदल माटो छ, त्यसमा ह्यूमपाइप, कल्भर्टको व्यवस्था र प्रत्येक घरमा ग्राभेलको व्यवस्था नभएकोमा हामी यो गर्छौ भनेर वाचा गरेका थियौं । समाजमा विकृति, सामाजिक सद्भावमा खलल पर्ने गतिविधि जाँडरक्सी, जुवातास र गाजा अफिमको कारणले भइरहेका छन्, यसलाई नियन्त्रण गर्नुपर्छ ।

पूर्वाधार विकासको क्रममा ग्राभेल, कल्भर्ट, ह्यूमपाइपलाई पहिलो प्राथमिकतामा राख्ने छौं । त्यसपछि शिक्षा, स्वास्थ्य, नमूना विद्यालयको रुपमा विकास गर्ने छौं । बोर्डिङ स्कूलको गुणस्तरमाथि देखिने र सामुदायिक विद्यालयको गुणस्तर पछाडि देखिने परम्परा छ । सामुदायिक विद्यालयको गुणस्तर बढाएर नमूना स्कूल बनाउने छौं ।

तपाईले जनतासँग गरेका वाचा पूरा गर्न के–कस्ता कार्यक्रम गरिरहनुभएको छ ?
– पहिलो बैठकबाट वडामा हुने विकृतिलाई अन्त्य गर्न सम्बन्धित निकायसँग अन्तक्र्रिया गर्ने निर्णय गरेका छौं । समाजमा रहेका विकृति, जाँडरक्सी, जुवातासलाई पूर्ण रुपमा बन्द गर्ने सकिँदैन भने (लाइसेन्स लिएका छन्, विभिन्न कानुनी रुपले झन्झट हुन्छ) त्यसलाई न्यूनिकरणको पक्षमा कसरी लाग्न सकिन्छ, समाजमा सद्भावको वातावरण, अमनचैन कायम गर्ने विषयमा पहिलो बैठकबाट निर्णय गरेका छौं ।

नमूना वडा बनाउनका लागि तपाईको टीमसँग के कस्ता योजना छन् ?
– वडा नम्बर १ लाई अबको ५ वर्षमा समृद्ध वडा बनाउँछौं । हाम्रो वडामा रहेका ६/७ वटा सामुदायिक वनलाई वैज्ञानिकीकरण गरेर त्यसमा जडीबुटी खेती गर्छौ, त्यसमा सानै भएपनि एउटा प्रशोधन केन्द्र राख्छौं । वनमा हुने ढलापडा काठलाई हिजोको दिनमा कब्जा गर्ने चलन थियो, अब त्यसको सही सदुपयोग गर्ने छौं । हाम्रो वडा पहाडी र रानाथारुको संयुक्त वस्ती भएको हुँदा रानाथारुको पहिरनलाई झल्कने र पहाडीको भेषभुषा र संस्कृति झल्कने गरी संग्रालयको रुपमा विकास गर्ने छौं ।

त्यसलाई पर्यटकिय क्षेत्रसँग जोड्ने योजना छ । होमस्टे सञ्चालन गरेर आम्दानीको स्रोतसँग जोड्ने हाम्रो सोच छ । हाम्रो वडामा आदिवासी बसोबास गर्ने भएकाले माछापालनको सम्भावना छ । आदिवासी समुदायलाई माछापालनसँग जोडेर पकेट क्षेत्रको रुपमा विकास गर्ने हाम्रो सोच छ । स्टोरको रुपमा शीत भण्डारको व्यवस्था गरेर व्यवसायिक तरकारी खेतीको रुपमा विकास गरेर यसलाई आम्दानीको स्रोतसँग जोड्न चाहन्छौं । एउटा धार्मिक संग्राहलयको रुपमा सबै धर्मका संकेतहरू मन्दिर, चर्च, गुम्बा लगायत सबै एकै ठाउँमा बनाएर त्यसलाई पर्यटकीय रुपमा विकास गर्ने लक्ष्य हाम्रो छ ।

तपाई राजनीतिमा कसरी प्रवेश गर्नुभयो ?
– २०७० सालमा अखण्ड सुदूरपश्चिमको आन्दोलन चलिरहँदा २०६९ सालदेखि म पनि अखण्ड सुदूरपश्चिम आन्दोलनको अभियन्ताको रुपमा थिए । सुदूरपश्चिम अखण्ड रहनुपर्छ, ९ वटै जिल्लाको एउटा प्रदेश हुनुपर्छ भन्ने मान्यताका साथ हामीले सुदूरपश्चिमको परिकल्पना गरेका थियौं, त्यो समग्रमा अखण्ड शब्दसँग मेल खान्थ्यो । त्यसकै लागि हामीले आन्दोलन पनि ग¥यौं । २०७० सालमा निर्वाचन हुने अवस्था आयो, त्यतिबेला अखण्ड सुदूरपश्चिमको मुद्दालाई निर्वाचनबाट पनि अनुमोदन गर्नुपर्छ । निर्वाचनमा पनि यसलाई लग्न सकियो भने अन्य दललाई पनि नैतिक दबाब पर्न जान्छ भन्ने लाग्यो ।

सुदूरपश्चिमका जनता अखण्ड सुदूरपश्चिम चाहन्छन् भन्ने एउटा सन्देश दिनुपर्ने थियो, मैले उम्मेदवारी पनि दिएको थिए । अखण्ड सुदूरपश्चिमको तर्फबाट ३ नम्बर क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवार पनि थिए । राजनीतिमा भन्या जस्तो जनमत पाइन्छ भन्ने नहुने रहेछ । तै पनि समानुपातिकतर्फ हाम्रो साढे १३ हजार मत आएको थियो । त्यही नै मेरो राजनीतिक पृष्ठभूमि थियो । त्यसपछि अखण्ड सुदूरपश्चिम पार्टीका अध्यक्ष लख्खाभाई पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरे ।

राजनीतिक रुपमा त्यो मलाई चित नबुझेर छोडे । आफैंले दल सञ्चालन गर्न सक्ने अवस्था पनि थिएन । त्यसपछि राजनितिक आस्थाका रुपमा नेकपा एमालेमा प्रवेश गरे । अहिले म नेकपा एमालेको सदस्यको रुपमा राजनीतिमा सक्रिय छु ।