८०२ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण २७ , ०८:०० बजे

डा. केसीको समर्थनमा महेन्द्रनगरमा प्रदर्शन

Image

महेन्द्रनगर । स्वास्थ्य शिक्षामा सुधार र पूर्वसहमति अनुरुपको स्वास्थ्य शिक्षा ऐन पारित गर्न माग गर्दै १८ दिनदेखि अनसनरत त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीको समर्थनमा महेन्द्रनगरमा प्रदर्शन गरिएको छ ।

नागरिक सञ्जाल, राजनीतिक दल, विद्यार्थी तथा युवा संगठन र आमनागरिक सम्मिलित डा. केसी अलायन्स कञ्चनपुरले कार्यक्रम गरेको हो । कार्यक्रममा र्‍यालीसहित बजार परिक्रमा गरिएको थियो भने पुनः मदनचोकमा आएर दीप प्रज्वल गरिएको थियो । कार्यक्रममा उपस्थित सबैलाइ धन्यवाद दिँदै अलायन्सका संयोजक हरीशप्रसाद भट्टले अहिले पूरै संसद २–४ माफिया र भ्रष्टको चंगुलमा फसेर जनप्रतिनिधिले जनविरोधी काम गरिरहेको र यसको विरोध जनस्तरमा हुन जरुरी रहेको बताए ।

‘अहिले पूरै संसद सत्तापक्ष भएको छ र हामी आमजनताले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपरेको छ,’ उनले भने, ‘तुरुन्त चिकित्सा शिक्षा ऐन मस्यौदा अनुरुप पारित हुनुपर्छ र डा. केसीका माग तत्काल पूरा गरी उनको जीवन रक्षा गर्नुपर्छ ।’ चिकित्सा क्षेत्र सुधारको माग राखेर भइरहेको सत्याग्रहमा विभिन्न क्षेत्रबाट स्वस्फूर्त प्रदर्शन हुन थालेका छन् ।


About Author
-मानसखण्ड