३६१ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण २६ , १०:२२ बजे

भरतपुर मतपरिणामको राजनीतिक अर्थ

Image

नेपालमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना गर्न र विधिको कानूनी शासनको कुरा फलाक्ने दल र तिनीद्वारा सञ्चालित सरकारका गतिविधिबाट नै अब यो देशको भविष्य कता जाने भन्ने कुराको ज्वलन्त उदाहरण भरतपुरलाई सहजै लिन सकिन्छ । ‘न्याय नपाए गोरखा जानु’ भन्ने पुर्खाको अर्ति उपदेशलाई समेत चितवनको भरतपुरको १९ नम्बर वडाको पुन: मतदान र त्यसबाट प्राप्त मत परिणामलाई लिन सकिन्छ ।

नेपाली जनताले खोजेको शान्ति दण्डहीनताले सजिएको नभई समुन्नत, सबैको इज्जत र सम्मान हुने र सबैका अधिकार क्षेत्रको ग्यारेन्टी हुने खालको हुनुपर्ने हो । तर, बिडम्बना नेपालको राजनीतिक इतिहासमा २००७, २०१५, २०१७, २०३६, २०४६ हुँदै जनआन्दोलन २०६२/०६३ सम्म आई पुग्दा ‘केवल बोतल बदलिएको तर मदिरा उही’ भनेझैं मात्र भएको छ नेपालको राजनीतिक परिवर्तनको अवस्थालाई हेर्दा । नेपालमा व्यवस्था परिवर्तन भए लोकतन्त्र र गणतन्त्रभन्दा पनि पर अब अरु तन्त्र जो संसारमा प्रयोग नै नभएको नयाँ प्रयोगको सम्भावना बोकेको व्यवस्था अब भेटिँदैन होला नेपालमा ।

नेपाली जनताले पटक–पटक व्यवस्था परिवर्तनका लागि ठूलो मूल्य चुकाउनुपरेको छ । जनताले समाजमा सकारात्मक परिवर्तन होस् भनेर नै हरेक पटक सरकारले आव्हान गरेका चुनावमा सक्रियतापूर्वक भाग लिने गरेका छन् । जनता चुनावमा जानुको मकसद कुनै दल विशेषलाई सत्तामा पुर्‍याउनका लागि नभई देशमा आमूल परिवर्तन होस् भन्नका लागि नै हो । यसैको सन्दर्भमा १९ वर्षदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचनमा नेपाली जनताले सक्रियतापूर्वक भाग पनि लिए ।

मधेशबाहेक देशका अधिकांश स्थानमा स्थानीय निकायको निर्वाचन पनि सफल भयो । तर, भरतपुर जहाँ नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन गरेको क्षेत्र चितवनको भरतपुरमा गरेको गठबन्धनको शक्ति सापटीको फोहोरी राजनीतिले अब मुलुकको संवैधानिक अधिकार र क्षेत्रमाथिको नाङ्गो हस्तक्षेप मात्र होइन, मुलुकमा न्याय होइन सत्ता र शक्तिबाटै अन्याय हुँदो रहेछ भन्ने कुरालाई सहजै पुष्टि गरिदिएको छ ।

दोस्रो चरणको निर्वाचनका क्रममा भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेका बेला जुन बन्दरे प्रवृति माओवादी–कांग्रेस गठबन्धनबाट हुन गयो, त्यो कुरा नेपालको लोकतान्त्रिक व्यवस्थामा निकै ठूलो दुर्भाग्य र कलंकको रुपमा हेरिन थालेको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ र २० को मतगणना बाँकी रहेको अवस्था थियो । १९ को मतगणना भइरहेका बेलामा २ जना माओवादीका कार्यकर्ताले बन्दरे प्रवृति देखाउँदै मतपत्र च्यातेपछि १९ नम्बरको मतगणना कार्य रोकियो । एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले नेपाली कांग्रेस र माओवादी गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार बनेकी प्रचण्डपुत्री रेणु दाहालभन्दा ७ सय भोटको अन्तरमा अग्रस्थानमा रहेका बेला हार सुनिश्चित देखिएपछि माओवादी कार्यकर्ताले बन्दरे प्रवृत्ति देखाइहाले । त्यो कार्य सुनियोजित षड्यन्त्र थियो भन्नेमा दुइमत नै छैन ।

मतपत्र च्यातिएको विषयलाई लिएर घटनाको छानविनका लागि ३ सदस्यीय छानविन समिति पनि बनाइयो । छानविन समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले पुन: मतदान गर्ने षड्यन्त्रको जालोभन्दा बाहिर आउन सकेन । एमालेले त्यस निर्णयलाई मान्न नसकिने भन्दै सर्वोच्चमा रिट पनि गर्‍यो । अन्तत्वगत्वा प्राकृतिक न्यायको सिद्धान्तलाई समेत उल्टाएर साउन २० गते भरतपुर महानगरको १९ नम्बर वडामा पुन मतदानको मिति तोक्यो । यस अवधिमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनले ‘ढुंगा पेल, बालुवा पेल, देऊ मेरो तेल’ भन्ने नीतिलाई अबलम्बन गर्दै साम, दाम, दण्ड, भेदको राजनीतिलाई व्यापक बनाउँदै लगे । १९ नम्बर वडा जहाँ मतपत्र च्यातिए, त्यो वडामा चुनावको मिति तोकिनु पूर्व नै सत्ता र शक्तिको व्यापक दुरुपयोग गरियो ।

साउन २० गते सम्पन्न मतदानको मतपरिणाम २१ गते शनिबार राति ९ बजेभित्र आयो कि माओवादी केन्द्रकी रेणु दाहाललाई चितवनको मुख्य निर्वाचन अधिकृतले निर्वाचित भएको घोषणा समेत गरे । रेणु दाहाल भरतपुर महानगरपालिकाका लागि साम, दाम, दण्ड, भेदबाट निर्वाचित भइन् भन्नेमा कुनै हिच्किचाहट नै रहेन । किनभने, दोस्रो चरणको निर्वाचनमा प्राप्त मतको अन्तरलाई दोब्बरमा नपुगाएसम्म, १९ नम्बरलाई कब्जामा नपारेसम्म चुनाव जितिँदैन भन्ने लागेर नै माओवादीले बन्दरे प्रवति अनि जंगली राजको झल्को दिने गरी सत्ता र शक्तिको दुरुपयोग गरेको दिन घामझैं छर्लङ्ग भएको छ ।

मतपत्र च्यात्ने कारण : जब नेकपा एमालेका उम्मेदवार ज्ञवालीले ७ सयको हाराहारीमा १९ नम्बरमा अग्रता लिइरहेका थिए, त्यहीबेला उनीहरूले पराजय भोग्ने भइयो भनेर नै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा बन्दरे प्रवृति देखाएर मतपत्र च्याते । यो पहिलो षड्यन्त्र थियो ।जनताको विचार जलाइयो : १९ नम्बरका जनताले प्रचण्ड गर्मीमा दिनभर लाइनमा बसेर मन परेको उम्मेदवारलाई जसरी मत दिए, त्यसको ठिक विपरित परिणाम प्राप्त हुन गयो । भरतपुर महानगरको वडा नम्बर १९ का जनताको विचारलाई समेत जलाउने कार्य भएको छ । जनता यस अर्थमा दु:खी भएका छन् कि विचारमा समेत आगो लगाउने कार्य भयो भनेर ।

गलत नजिर स्थापित : भरतपुर महानगरपालिकाको १९ नम्बर वडाको मतपत्र च्यातिएपछि यसले नेपालमा स्थापित न्यायको सिद्धान्तलाई ठाडै चुनौति थपिदिएको छ । अब त समाज, गाउँशहरमा यस्तो हल्ला पनि सुरु भइसक्यो कि चुनावमा पराजय हुन लागेको संकेत मिल्ने बित्तिकै चुनावको मतपरिणाम आफ्नो पोल्टामा पार्नका लागि वा जित्नका लागि मतपत्र च्यात्नु नै उत्तम विकल्प हो भन्ने । विभिन्न संघ/संस्था, क्लबदेखि लिएर विभिन्न निकायमा हुने निर्वाचनमा अब भरतपुरको नियती नआउँला भन्न सकिँदैन । त्यतिबेला सर्वोच्च वा नियमनकारी निकायको भूमिका कसरी अघि बढ्छ ? गम्भीर चुनौतिको विषय छ ।

किन खुसी छैनन् जनता : शक्ति सापटी लिएर एमाले हराउनका लागि जुन खाले षड्यन्त्रका तानाबान बुनिए भरतपुरमा यसबाट नेपाली जनतामा निराशा र कुण्ठा सिर्जना हुनु स्वभाविक नै हो । जनतामा कुनै उत्साह छैन । चितवनका कांग्रेसले माओवादीकी रेणु दाहाललाई जिताउनका लागि वडा नम्बर १९ मा जुन खालको अवस्था सिर्जना गरियो, यसले कांग्रेसजनमा मात्र होइन, सायद देशका अन्य भागमा बस्ने माओवादी केन्द्रका नेता कार्यकर्ताले छातिमा हात राखेर पनि भन्न सक्छन् होला हामीले चित्त बुझेको छैन भनेर ।

सामाजिक सञ्जालमार्फत् नाङ्गेझार : साउन २० गते भरतपुर १९ मा पुन: मतदान गर्ने भन्ने निर्णयसँगै नेपालमा मात्र होइन, विदेशमा बस्ने नेपालीले आफ्ना अभिव्यक्ति सामाजिक सञ्जालमार्फत् दिइसकेका थिए कि चितवनमा देवी ज्ञवाली हराउनका लागि पुन: मतदान गर्न लागिएको हो भनेर ।

यति मात्र होइन, साउन २१ गते राति ९ बजेपछि हरेक मानिसले चितवनको मतपरिणामलाई आश्चर्य मान्दै उक्त परिणाम शक्ति, सत्ताको दुरुपयोगबाट आएको भन्दै व्यापक असन्तुष्टि र विरोध हुन थालेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले लोकतन्त्रमाथि नै यो गठबन्धनले प्रहार गरेको । न्याय, स्वतन्त्रता र विधिको शासनको धज्जी उडाएको उल्लेख गरिएका छन् ।
अन्त्यमा विपरित ध्रुवहरूको आकर्षणलाई विज्ञानले पनि स्वीकार्दैन । तर, नेपालको राजनीतिमा कुकुर र बिरालोको अवस्थामा विगत धानेका नेपाली कांग्रेस र माओवादी पार्टी नेपालको राजनीतिबाट बाहिरिने खतरा थाहा पाएर नै अप्राकृतिक गठबन्धनको बाटो रोजेका हुन् भन्नेमा दुइमत नै छैन ।

नेपालको राजनीतिमा परम्परागत विरासत, नीति सिद्धान्तबाट माथि उठ्न नसकेको नेपाली कांग्रेस र नेपाली भूमिमा बन्दुकको बलमा सत्ता कब्जाको बाटोबाट अगाडि बढ्न सकिन्छ कि भनेर १० वर्षे जनयुद्ध थालेको नेकपा माओवादी केन्द्र देशीविदेशी प्रतिक्रियावादीको आडमा नेपालको राष्ट्रवादी शक्ति नेकपा एमालेलाई कमजोर बनाउनका लागि प्राविधिक रुपले गठबन्धन गरेको देखिन्छ ।

यो गठबन्धनलाई विदेशीको इशारामा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म पनि सँगै लिएर जान सक्ने खतरा रहेकाले आम राष्ट्रवादी शक्तिहरू एकजुट भई अप्रजातान्त्रिक गठबन्धनविरुद्धमा सारा नेपाली एकजुट हुन जरुरी देखिन्छ । राष्ट्र, राष्ट्रियता र अखण्डताको रक्षाका लागि सारा नेपालीले अब हुने प्रदेश सभाको निर्वाचनमार्फत् राष्ट्रघातीलाई बलियो झापड दिनुपर्ने बेला आइसकेको छ ।