२१०७ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण २६ बिहीबार, ०७:५२ बजे

तत्कालीन मन्त्री लेखककै क्षेत्रमा सडक बनाउन ढिलासुस्ती

Image

महेन्द्रनगर । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकको निर्देशनमा कालोपत्रे सुरु गरिएका भीमदत्त नगरपालिकाका १४ वटा सडक निर्माणमा ढिलासुस्ती भएको छ । गत आर्थिक वर्ष २०७३/७४ भित्र निर्माण सक्ने गरी सम्झौता भएका सडक निर्माणमा ढिलाइ भएको हो ।

गत आर्थिक वर्षमा बजेट विनियोजन भएका १४ वटा सडकमध्ये ४ वटा सडक मात्रै कालोपत्रे भएका छन्, १० वटा सडकको काम अझैं पूरा हुन सकेको छैन । गत आर्थिक वर्षमा नै सबै सडक कालोपत्रे गर्ने ठेकेदार कम्पनीले जिम्मा लिएको भएपनि हालसम्म ५७ प्रतिशत मात्र काम सकिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी खगेन्द्रबहादुर शाहीले बताए ।

उनका अनुसार रश्मी कन्सट्रक्सनले २९ लाख ९८ हजार ५ सय ४ रुपैयाँमा ठेक्का लिएको भीमदत्त नगरपालिका–१२ ऐरी–ओदानी सडक ८ सय मिटर, उदयदेव निर्माण सेवाले १२ लाख ७५ हजार ३ सय १८ रुपैयाँमा सडक कालोपत्रे गर्ने ठेक्का लिएको भीमदत्त नगरपालिका–१७ एयरपोर्ट–शुक्लाफाँटा सडक ३ सय ७५ मिटरको काम सम्पन्न भएको जनाइएको छ ।

नेसनल कन्सट्रक्सनले ८१ लाख २० हजार ९ सय ८० रुपैयाँमा ठेक्का लिएको भीमदत्त नगरपालिका–६ किसान मार्ग सडक १ हजार ५ सय ५६ मिटर र राखी कन्सट्रक्सनले २२ लाख ३२ हजार ६ सय २६ रुपैयाँमा ठेक्का लिएको भीमदत्त नगरपालिका–९ तुमडेनी–वाटिका सडक ५ सय ५० मिटर सडक कालोपत्रे गर्ने कार्य समेत सम्पन्न भएको शाहीले बताए । ‘१४ सडकमध्ये ४ सडक कालेपत्रे भएपनि अन्य १० कालेपत्रे गरिसक्ने सीमा सकिएको छ,’ उनले भने, ‘अझैं ४३ प्रतिशत काम हुन सकेको छैन । ठेकादार कम्पनीले आफूले सक्ने कामभन्दा बढी ठेक्का लिँदा काम समयमा गर्न सकेनन्, अहिले म्याद थपको लागि निवेदन दिएका छन् ।’

आर्थिक वर्ष २०७३/०७४ को असार मसान्तमा सडक कालोपत्रे गरिसक्नुपर्ने भएपनि सित्तडी निर्माण सेवाले ठेक्का लिएका ६ वटा सडक, जोशी निर्माण सेवाका ३ सडक र महरा निर्माण सेवाले ठेक्का लिएका एउटा सडक कालोपत्रे गर्ने काम नसकिएको उनले बताए । उनका अनुसार सित्तडी निर्माण सेवाले भीमदत्त नगरपालिका–६ बैंकटेस छापाखाना मार्ग १ करोड ८ लाख १९ हजार ५ सय ३२ रुपैयाँमा १ हजार ६ सय ५० मिटर सडक कालोपत्रे गर्ने ठेक्का लिएको थियो ।

भीमदत्त नगरपालिका–१८ फ्लोरिडा स्कूल–जानकीटोल मार्ग ८ सय ९२ मिटर ८६ लाख ९९ हजार ५ सय ७६ रुपैयाँ, भीमदत्त नगरपालिका–४, ५ शिवमन्दिर–कञ्चन विद्या मन्दिर मार्ग ७२ लाख ४१ हजार ८ सय ४४ रुपैयाँमा १ हजार ४ सय मिटर, भीमदत्त नगरपालिका–१४ नयाँगाउँ–आरक्ष किनार सडक १ करोड १२ लाख २ हजार ९ सय ८१ रुपैयाँमा १ हजार ६ सय २७ मिटर, भीमदत्त नगरपालिका–१० र ८ तिलकपुर–जिमूवा सडक १ करोड १८ लाख ९५ हजार १ सय २७ रुपैयाँमा १ हजार ७ सय मिटर र भीमदत्त नगरपालिका–१० पशुपति टोल सडक १ करोड २१ लाख ७० हजार ९ सय ९५ रुपैयाँमा १ हजार ९ सय मिटर सडक कालोपत्रे गर्ने काम पनि पूरा हुन सकेको छैन ।

जोशी निर्माण सेवाले बेदकोट नगरपालिका–८ भाँसी–गैलनदी सडक १ करोड ९९ लाख ४१ हजार ४ सय ५५ रुपैयाँमा ३ हजार मिटर सडक कालोपत्रे, भीमदत्त नगरपालिका–११, १२ र १३ हात्तिसार मार्ग १ करोड ७२ लाख ३१ हजार २ सय ११ रुपैयाँमा २ हजार मिटर सडक कालोपत्रे, भीमदत्त नगरपालिका–७ खैरेनी चोक–राम मन्दिर मार्ग १ करोड ६२ लाख ६४ हजार ३ सय ९४ रुपैयाँमा १ हजार ६ सय ५० मिटर सडक कालोपत्रे गर्न ढिलाइ गरेको छ ।

महरा निर्माण सेवाले भीमदत्त नगरपालिका–१७ र १३ जोड्ने मूल नहर सडक १ करोड ७८ लाख १४ हजार ४ सय ६८ रुपैयाँमा ३ हजार ८ सय ७ मिटर सडक कालोपत्रे कार्य समयमै पूरा गर्न सकेन । कालोपत्रे गर्न १० वटै सडकको बेस हाल्ने काम सकिएको र कालोपत्रेको काम मात्र बाँकी रहेको सडक डिभिजन कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी खगेन्द्रबहादुर शाहीले बताए । ‘ठेकेदार कम्पनीले म्याद थपको लागि निवेदन दिएका छन्, म्याद थप गर्ने कार्य भइरहेको छ । ६ महिना म्याद थप दिइने छ,’ उनले भने ।

सित्तडी निर्माण सेवाका सञ्चालक लोकराज जोशीले सबै सडकको ७५ प्रतिशत काम सकिएको बताए । ‘कालोपत्रे सडक निर्माण गर्ने सामग्री नपाइएकाले निर्माण कार्यमा ढिलाइ भएको हो, नाली, कल्भर्ट, ढलान र कालोपत्रेको काम मात्र बाँकी रहेको छ,’ उनले भने, ‘म्याद थप गर्न निवेदन दिएको छु, चाँडै निर्माण गरिन्छ ।’ जोशी निर्माण सेवाले पनि २५ प्रतिशत मात्र काम बाँकी रहेको जनाएको छ ।

निर्माण सेवाका सञ्चालक गणेशदत्त जोशीले अबको अढाई महिनमा सडक कालोपत्रेको काम सक्ने बताए । ‘सडक कालोपत्रे गर्न आवश्यक पर्ने गिट्टी, माटो लगायतका सामग्री नपाउँदा ढिलाइ भएको हो, अब कालोपत्रे गर्ने काम मात्र बाँकी रहेको छ,’ उनले भने ।


About Author
-होम योगी