१०९६ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण २५ , ०९:२८ बजे

विद्युत्का कर्मचारीमाथि नै विद्युत् चोरेको आरोप

Image

महेन्द्रनगर । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले नै विद्युत् चोरी गरेर प्रयोग गरेको आरोप लागेको छ ।

नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्र मातहतको दोधारा फ्युज सेवामा ज्यालादारीमा कार्यरत एक कर्मचारीले विद्युत् चोरी गरेर प्रयोग गरेको महाकाली नगरपालिकाका स्थानीयले आरोप लगाएका छन् । महाकाली नगरपालिकाका स्थानीय वासिन्दाले दोधारा फ्युँज सेवामा काम गर्ने कर्मचारी गणेश गिरीले लामो समयदेखि विद्युत् चोरेर प्रयोग गर्ने गरेको आरोप लगाएका हुन् । गिरीले कार्यालयका लागि विद्युत् लाइन काट्ने र विद्युत् लाइन मर्मत गर्ने काम गर्ने गरेपनि आफ्नो घरमा चोरेर विद्युत् जडान गर्ने गरेको आरोप छ ।

गिरीले १०/१२ वर्षदेखि विद्युत् चोरी गरेर प्रयोग गर्ने गरेको पाइएको महाकाली नगरपालिकाका स्थानीय तथा अनेरास्ववियू कञ्चनपुरका जिल्ला अध्यक्ष ओम बस्नेतले बताए । ‘गिरीले १०/१२ वर्ष पहिलेदेखि विद्युत् चोरी गरेर आफ्नो घरमा विद्युत् प्रयोग गरेका थिए, २/४ दिन अगाडि विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका कर्मचारी अनुगमनमा आएको थाँहा पाएपछि मिटर जडान गरेका छन्,’ उनले भने । गिरीले स्थानीयको घरमा लाइन जोड्दा सर्भिस चार्ज ५ सयदेखि १ हजार रुपैयाँसम्म लिने गरेको उनले बताए ।

‘गिरीले स्थानीयबाट लाइन जोड्दा सर्भिस चार्ज भनेर ५ सयदेखि १ हजार रुपैयाँसम्म लिने गरेका छन्, रसिद पनि दिँदैनन्, एक चोटी लाइन जोडेको घरमा दोस्रोपल्ट जडान गर्दा सर्भिस चार्ज नलाग्ने भएपनि सर्भिस चार्ज लिने गरेका छन्,’ उनले भने । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रको टोलीले मंगलबार अनुगमन गर्दा गिरीले जडान गरेको मिटरमा ६ युनिट मात्र प्रयोग गरेको पाइएको स्थानीय ओम बस्नेतले बताए ।

दोधारा फ्युज सेवामा ज्यालामा काम गर्ने कर्मचारी गणेश गिरीले आफूले विद्युत् चोरी नगरेको दावी गरेका छन् । ‘मैले भाउजुको घरबाट विद्युत् लाइन लिएर विद्युत् प्रयोग गरेको हुँ, मैले विद्युत् चोरी गरेर प्रयोग गरेको छैन,’ उनले भने, ‘पहिले हामी दाई–भाई एकै घरमा बस्थ्यौ, अलग बस्न थालेको २ वर्ष मात्र भएको छ । मैले १०–१२ वर्षदेखि विद्युत् चोरेर प्रयोग गर्ने आरोप झुठो छ, कसैले रिसइवीले मैले विद्युत् चोरर प्रयोग गरेको आरोप लगाएका हुन् ।’ दाई–भाई एकै भएकाले एकै घरको मिटर प्रयोग गरेर बिजुली प्रयोग गरेको उनले बताए । ‘२ वर्षदेखि हामी भाउजुको घरबाट विजुलीको लाइन लिएर प्रयोग गरेका थियौं, हाम्रो र दाईको घरायसी कुराले कुरा नमिलेपछि अलग्गै मिटर जोडेर विद्युत् प्रयोग गरेको छु, मिटर जोडेको ५ दिन जति भएकाले ६/७ युनिट विद्युत् प्रयोग गरेको देखिएको हो,’ उनले भने ।

नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख पुष्पराज पन्तले गिरीले विद्युत् चोरेर प्रयोग गरेको वा नगरे छानविन गर्न मंगलबार इन्जिनियर राकेश भट्टको नेतृत्वमा टोली पठाएको बताउँदै छानविन समितिको प्रतिवेदन नबुझाएकाले समितिले प्रतिवेदन बुझाएपछि दोषी भए कारबाही गरिने बताए । ‘सिधै लाइनबाट लाइन लिएर घरमा जोडेका भए कडा कारबाही गरिने छ, एक घरबाट अर्को घरमा त धेरैले प्रयोग गरेका हुन्छन्, उनीहरूलाई खासै हेरिँदैन,’ उनले भने । यसको बारेमा थप बुझ्न अनुगमनमा महाकाली नगरपालिका गएका इन्जिनियर राकेश भट्टको फोन गरेपनि उनको फोन उठेन ।