२३१० पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण २५ , ०९:१६ बजे

भीमदत्त नगरपालिकाको बजेट १ अर्ब बढी

Image

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ का लागि १ अर्ब बढी अनुमानित बजेट विनियोजन गरेको छ ।

नगरपालिकाको प्रथम नगर सभाबाट १ अर्ब ६२ लाख ९ हजार १ सय ६२ रुपैयाँको अनुमानित बजेट विनियोजन गरिएको छ । नगर सभामा नगरपालिकाका उपप्रमुख सुशिला चन्द सिंहले नगरपालिकाको नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् । नगरपालिकाले आन्तरिक आयतर्फ ४ करोड ६७ लाख २५ हजार रुपैयाँ, वित्तीय समानिकरणबाट ५८ करोड ३९ लाख ५३ हजार रुपैयाँ, सामाजिक सुरक्षा भत्ताबाट १८ करोड रुपैयाँ, नगर विकासको ऋणबाट ६ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ ।
सुदूरपश्चिम विकास आयोजनाबाट ३ करोड ५५ लाख रुपैयाँ, गत वर्ष मौज्दात सरिआएको ७ करोड ३१ हजार १ सय ६२ रुपैयाँ, राजस्व बाँडफाँडबाट १ करोड ५० लाख रुपैयाँ, सडक बोर्डबाट ७२ लाख रुपैयाँ तथा अन्यबाट २५ लाख रुपैयाँ गरेर १ अर्ब ६२ लाख ९ हजार १ सय ६२ रुपैयाँ बजेट अनुमान गरिएको नगर उपप्रमुख सिंहले बताइन् ।

खर्च अन्तर्गत चालू खर्चतर्फ ७ करोड रुपैयाँ, सामाजिक सुरक्षा भत्तातर्फ १८ करोड रुपैयाँ, सशर्त अनुदान खर्चतर्फ १७ करोड ७४ लाख ७४ हजार रुपैयाँ र अधुरा योजनातर्फ १ करोड २० लाख रुपैयाँ अनुमानित विनियोजन गरिएको छ । संघीय संरचना विकासका लागि ४८ लाख रुपैयाँ, एडीबी कार्यक्रमतर्फ ३ करोड ५५ लाख रुपैयाँ, नगरको फोहोर व्यवस्थापनतर्फ १ करोड २० लाख रुपैयाँ, बसपार्क निर्माणका लागि ७ करोड १५ लाख रुपैयाँ र अन्य विकास निर्माणका लागि पुँजीगत खर्च ५२ करोड ६६ लाख ३५ हजार १ सय ६२ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यस्तै, भीमदत्त नगरपालिकाको प्रथम नगर सभाले नगर क्षेत्रभित्र रहेका जनस्वास्थ्यलाई प्रतिकूल असर पर्ने खालका वस्तुको उपभोग तथा बेचबिखनमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार प्रस्तूत गरिएको आर्थिक वर्ष २०७३/७४ को नीति, कार्यक्रममा नगर क्षेत्रभित्र रहेका जनस्वास्थ्यलाई प्रतिकूल असर पर्ने खालका वस्तुको उपभोग तथा बेचबिखनमा रोक लगाउनुका साथै कालोबजारी नियन्त्रण गर्न सम्बद्ध सरकारी निकाय, उपभोक्ता हित संरक्षण मञ्च, उद्योग वाणिज्य संघसँग समन्वय गर्ने निर्णय नगरपालिकाले गरेको छ ।

नगरपालिकाले ग्रामीण क्षेत्रबाट फोहोर संकलन गर्दा चालू आर्थिक वर्षदेखि नै प्रतिघर २ सय रुपैयाँ मासिक सेवा शुल्क लिने, टनकपुर परियोजनाबाट प्राप्त हुने रोयल्टी बाफतको रकम नेपाल सरकारसँग माग गर्ने निर्णयसहितका विभिन्न महत्वपूर्ण निर्णय नगर सभाबाट पारित गरिएका छन् ।

यसैगरी, नगरपालिकाको स्वामित्वमा रहेका पसल कोठाको नामसारी गर्दा सोही व्यक्तिको ३ पुस्ताभित्र नामसारी गर्ने तथा अन्य व्यक्तिको नाममा नामसारी नगरी नियमानुसार पसल कबुल बढाबढी प्रक्रियाद्वारा पसल कबुल भाडामा दिने, नगरपालिकाभित्रका विद्यालयमा शिक्षकको दरबन्दी विद्यार्थी र विषयगत आधारमा व्यवस्थापन गर्ने निर्णय सभाले पारित भएको छ ।

नगर चक्रपथ, नविकरणीय उर्जा, सडक यातायात गुरुयोजना, नगरपालिका परिसरको गुरुयोजना, फोहोरमैला व्यवस्थापन गुरुयोजना तयार गरेर लागू गर्ने, नगरपालिकाभित्रका सामुदायिक वनसँगको साझेदारीमा स्थानीय रैथाने प्रजातिका वनस्पति तथा जडिबुटीको प्रवद्र्धन तथा संरक्षणका लागि नमूना परियोजना सञ्चालन गर्ने विषयलाई पनि प्राथमिकता दिएको छ ।

 


About Author
-मानसखण्ड