९७६ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण २५ , ०९:०५ बजे

विमानस्थल सञ्चालन गर्न सरकारलाई ज्ञापनपत्र

Image

बझाङ । झण्डै ९ वर्षदेखि बन्द रहेको बझाङको देवल विमानस्थल पिच गरेर सञ्चालन गर्न सरकारसँग माग गरिएको छ ।

पर्यटन अभियन्ता तथा सुदूरपश्चिम समृद्धि मार्ग (चैनपुर–ताक्लाकोट सडक खण्ड) दबाब समूहका संयोजक किशोर खड्काको नेतृत्वमा जिल्लाका सांसद तथा पत्रकारसहितको टोलीले पर्यटन मन्त्री जितेन्द्र देवलाई विमानस्थल पिच गरी जहाज सञ्चालनमा ल्याउन लिखित माग गरेका हुन् ।

मागपत्रमा हवाई मैदान ‘खेल मैदान’मा परिणत भएको, जिल्ला जोड्ने एक मात्र सडक यसै महिनामा मात्र १० पटक अवरुद्ध भएको, बिरामी तथा आमसर्वसाधारण यात्रु मर्कामा परेको र सुदूरपश्चिमका अन्य जिल्लाका विमानस्थल पिच भएर जहाज सञ्चालनको तयारीमा रहेपनि बझाङ जिल्लाको विमानस्थल सञ्चालन गर्न राज्यले कुनै ध्यान नदिएको गुनासो गरिएको छ ।

हिन्दूको महान तीर्थस्थल कैलाश मानसरोवर जान नेपालबाट सबैभन्दा छोटो बाटो पनि बझाङ जिल्ला भएरै जाने मागपत्रमा उल्लेख गरिएको छ । यो बाटो सञ्चालनमा आउँदा विमानस्थल पिच गर्न र जहाज सञ्चालनमा ल्याउन अनिवार्य हुने पनि माग पत्रमा उल्लेख गरिएको छ ।

मागपत्र बुझ्दै पर्यटनमन्त्री जितेन्द्र देवले आफूले विमानस्थल सञ्चालनका लागि तत्कालै पहलकदमी थाल्ने बताएका छन् । टोलीले मन्त्री स्वयम्लाई बझाङ पुगेर विमानस्थल पिचको सुरुवात गर्ने कार्यको उद्घाटन गर्न आग्रह गरेका छन् ।


सम्बन्धित