७१८ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण २५ , ०७:३९ बजे

अमरगढी नगरपालिकाको बजेट साढे ३२ करोड बढी

Image

डडेल्धुरा। अमरगढी नगरपालिकाको पहिलो नगर सभाले आर्थिक वर्ष २०७४/७५ को लागि ३२ करोड ५१ लाख ५ हजार ७ सय ३४ रुपैयाँको अनुमानित बजेट विनियोजन गरेको छ ।

नगर प्रमुख विश्वेश्वरप्रसाद ओझाले अमरगढी नगरपालिकाको चालु आर्थिक वर्ष २०७४/७५ का लागि नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा नगरको सम्पूर्ण समृद्धिको कार्यक्रम समावेश गरिएको नगर प्रमुख ओझाले बताए । नगर सभाबाट नगरपालिकाको आर्थिक विकासका लागि कृषि तथा पशुपालन, उद्योग तथा वाणिज्य, पर्यटन, संस्कृति, सहकारी र वित्तीय क्षेत्रका लागि नीति तथा कार्यक्रम समावेश गरिएको छ ।

कृषि पेशालाई व्यवसायिक बनाउन आधुनिकीकरण गर्ने, शितभण्डारको व्यवस्था गर्ने, कृषकलाई बाली बीमा, पशु बीमातर्फ उन्मुख हुने नीति अबलम्वन गर्ने, कृषि विकासमा एकद्वार प्रणाली अपनाउने, औद्योगिक क्षेत्रको स्थापना, स्थानीय धार्मिक स्थलको संरक्षण र सम्वद्र्धन गर्ने, डोटेली भाषाको जगेर्नाका लागि भाषा संग्राहलय स्थापनाको लागि पहल गर्ने, खेलकुद पर्यटनमा जोड दिइने नीतिमा समावेश गरिएको छ । सहिद भीमदत्त पन्तको जन्मथलो अमरगढी–२ लाई आदर्श वडाको रुपमा विकास गर्दै ‘होमस्टे’ अवधारणाको विकास गर्ने, एक टोल एक सहकारीको नीति अवलम्वन गर्ने, वित्तीय संस्थामा सहज पहुँचको नीति अवलम्वन गर्ने, सामाजिक सुरक्षा भत्ता वितरण गर्न घुम्ती बैंक सञ्चालन गर्न पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नगर सभाबाट नगरपालिकाको सामाजिक विकासका लागि शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, खेलकुद, सामाजिक सुरक्षा आदिको लागि नीति तथा कार्यक्रम प्रस्तूत गरिएको छ । जसमा निजी विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गर्ने, यसै आर्थिक वर्षमा अमरगढी नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका घोषणा गर्ने, अपाङ्गतामैत्री भौतिक संरचना निर्माणमा जोड दिने, स्वास्थ्य बीमा कार्यक्रमलाई विशेष महत्व दिने, खाद्य सुरक्षामा जोड दिने, नगरपालिकाभित्र ‘एक घर एक स्वच्छ खानेपानी धारा’को नीति लिने, खेलकुदलाई जीवनको अभिन्न अंगको रुपमा विकास गर्ने, अपाङ्गता, दलित, असहायको सामाजिक जीवन सुरक्षाको सुनिश्चित गर्ने, रोजगार सूचना केन्द्रमार्फत् जब बैंकको स्थापना गर्ने बुँदा नीति तथा कार्यक्रममा समावेश गरिएको छ । पूर्वाधार विकासका लागि सडक, सिँचाइ, भवन तथा शहरीकरण विकास, सञ्चार, वैकल्पिक उर्जाको विकास गरिने भएको जनाइएको छ ।