४२० पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण २३ सोमबार, ०९:४३ बजे

मानसखण्ड प्रदेशमा बग्ने नदीको पौराणिक आख्यान

Image

वैकुण्ठ लोकमा विष्णुचरणमा रहने मन्दाकिनी गंगा शिवको शिर कैलासमा पुग्दा शिवजटामा नै अल्मलिएको प्रसंग पुराणमा प्रसिद्ध छ । त्यही मन्दाकिनी गंगा मानसभूमिलाई सिञ्चित गर्न कैलास पर्वतबाट प्रवाहित भएर सरोवरको रुप बन्न पुग्यो । जसलाई मानस सरोवर भनिन्छ । लोक लोकान्तरमा रहेका अनेक नदीहरूको संगमको रुपमा मानसखण्डलाई लिइन्छ । भारत वर्षमा बग्ने अधिकांश पवित्र नदीहरूको सम्बन्ध यससँग रहेको छ । नेपालका त सम्पूर्ण नदी, ताल, सरोवरको उद्गमस्थल मानससर नै हो । अनेक पुण्यशाली नदी यससँग संलग्न भएका हुनाले यस भूभागलाई ‘मानसखण्ड’ भनिएको हो ।

मानसखण्ड प्रदेशको मूल मानससरोवरबाट पूर्व, पश्चिम, उत्तर, दक्षिणतिर ब्रह्मपुत्र, शतलज, इन्दुज र कर्णाली गरी ४ ठूलाठूला नदीहरू बग्दछन्, यिनै नदीहरू यस क्षेत्रका अन्य नदी, सरोवर, ताल, कुण्ड आदिका मूलस्रोत हुन् । यस आलेखमा कर्णाली एवम् महाकाली नदीबीचका केही सानाठूला, नदीताल, सरोवर र कुण्डहरूको पौराणिक इतिहासको छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।
पवित्र मन्दाकिनी गंगाले मानव लोकमा प्रवाहित भएर भद्र अर्थात् लोककल्याणकारी काम गरेको हुनाले यसलाई भद्रा पनि भनिएको छ । गम्–गम् गरेर बग्ने हुनाले नदीलाई गंगा भनिन्छ । गर्त (खाल्टो) बाट निस्कने हुनाले ‘गाड’ पनि भनिन्छ ।

सरोवर, ताल अथवा दुलो मुलबाट निस्कने नदीलाई गाडका रुपमा लिइन्छ । त्यसैले मानस प्रदेशतिर नदीहरूलाई गंगा एवम् गाडजस्ता शब्दहरू प्रयोग गरेको पाइन्छ, गंगा, गाड, नदी, नाला, सरोवर, सर, तालाव, ताल, तलल्या, झरना, कुण्ड, न्वालो, भम्का, सिमार आदि जलाशय आदि पवित्र मानिन्छन् । पानी माथिबाट तल बग्दा हर–हर एवम् गम्–गम् र जमिनबाट माथि निस्कँदा बुम–बुम एवम् बुदबुद गरेर निस्कन्छ । त्यसैकारणले नुहाउँदा हर–हर अथवा बम–बम भन्ने गरिन्छ ।

मानस प्रदेशमा बग्ने नदीहरूको ठूलो माहात्म्य छ । मन्दाकिनीको जलको महत्वले पुस्तकहरू भरिएका छन् । भद्रा नामक अनेक नदी छन्, जस्तैः तुङ्गमद्रा, बेणुभद्रा, पुष्पभद्रा, काकभद्रा आदि नदीको पवित्रताको लामो आख्यान छ । वेणुपर्वतबाट निस्कने रथबाहिनी नदी राजा भगीरथको रथका पांग्राद्वारा बनेको खोल्टो भएर प्रवाहित हुने हुनाले रथबाहिनी नदी भनिन्छ । कुमाउँतिर बग्ने रामगंगालाई रथबाहनी नदी भनिन्छ । त्यस्तै, अल्मोडातिर बग्ने कोशी नदीको वर्णन वाल्मीकी रामायण मार्कण्येय पुराण एवम् मानसखण्ड संहितामा रहेको छ । पूर्वी नेपालमा बग्ने सप्तकोशीको सम्बन्ध पनि मानससरोवरसँग रहेको छ । टड्कण पर्वतबाट निस्कने गोमती नदी एवम् श्वेतपर्वतबाट निस्कने शालीनदी कालीकुमाउतिर स्वाली गाउँका नाम प्रसिद्ध छ ।

महर्षि वसिष्ठ एवम् अरुन्धतीको कारणले उत्पन्न सरयू नदीको सम्बन्ध श्रीरामसँग रहेको छ । सरयूको मूलका बारेमा भनिएको छ– सर प्रवक्ता सरयू पुण्या ब्रह्म सरच्युता । अर्थात् मानससरबाट उत्पन्न भएको हुनाले सरयू नाम रहन गएको हो । सरयूनदी, घाघारा, शारदा, काली (महाकाली) आदि नामले प्रसिद्ध छ । सरयूको महत्वका बारेमा गोस्वामी तुलसीदासले भनेका छन्– कोटीकल्प काशी बसे मथुराकल्प हजार । एक निमिस सरयू बसे तुलै न तुलसीदास ।। सरकै जलमा सुर्वण हंसको दर्शन वसिष्ठ दम्पत्ति गरेका थिए । शक्तिले युक्त ब्रह्मा, विष्णु र शिवलाई एउटै हंस रुपमा दर्शन भएको थियो । सरयूनदी पञ्चेश्वरमा महाकाली नदीमा संगमित हुने कुरा पुराणमा उल्लेख गरिएको छ । यस नदीको धेरै ठूलो महत्व रहेको छ । जागेश्वरबाट उत्पन्न जटागंगाको किनारमा सोमयज्ञको आयोजना गरिएको थियो । जयगंगाको शिवजटासँग सम्बन्ध रहेको छ ।

मानस प्रदेशका नदीमा रामगंगाको महत्वपूर्ण स्थान रहेको छ । महर्षि परशुरामद्वारा खोजी गरिएको हुनाले रामगंगा नाम पर्न गएको हो । कैलास मानसरोवरको यात्रा गर्दा रामगंगामा स्नान गर्नु अनिर्वाय मानिन्छ । श्रीराम साकेतधाम अर्थात् वैकुण्ठ भएपछि अयोध्यावासी नागरिक रामगंगाको रामेश्वर घाटमा स्नान गर्न आएका थिए । महाकाली नदीको उत्पत्तिको विषयमा पुराणमा धेरै आख्यान छन् । यसलाई काली, श्याम, वैयासिकी, सरयू, कालिन्दी, विपाशा, व्यासी, शारदा, कौशिकी आदि नामले पनि चिनाइन्छ ।

यसको उत्पत्तिको बारेमा एउटा कथा यस प्रकार छ । एक चोटी लिपिपर्वत (लिम्पियाको धुरो) मा देवताका कोषाध्यक्ष यक्षपति कुवेरले वाजपेय महायज्ञको आयोजना ग¥यो । यज्ञ सम्पन्न गर्न वेदव्यास, शुकदेव परंहंस, जैमिनी ऋषि, पौराणिक सूत लगायत अनेक ऋषिमुनिको आगमन भयो । यज्ञ सम्पन्न गर्न जलको अभाव खड्कियो । उक्त समस्या समाधान गर्न वेदव्यासलाई जिम्मा दिइयो । उनले मन्दाकिनी गंगाको आव्हान गरेर मानससरोवरको जल गुप्तमार्गबाट त्यहाँ प्रकट गरेका थिए ।

हाकालस्य शिरसि पपात मुनिसेविता, महाकालस्य श्यामा मन्दाकिनी ह्यभूत् । अर्थात्, मन्दाकिनी गंगाको कञ्चनजल महाकालको शिरमा पर्नाले श्यामा (कालो) हुन गयो । कालो पानी भएकाले काली अथवा महाकाली नदी नाम पर्न गएको हो । श्यामा नदीमा पञ्चचुली हिमालबाट निस्कने गौरी नदी (गौरी गंगा) को संगम जोलजिवीमा रहेको छ । यस संगमको नाम जीवती आएको छ । गौरीगंगालाई गौरा धर्म प्रदशिनी भनेर भनेको मानस प्रदेशमा गौरा नामका अनेक नदीहरू छन् । यी सबैको मूल कैलास र मानससरको बीचमा पर्ने गौरीकुण्ड हो । गौरा व्रतको सुरुवात तथा पूजाको परम्परा पनि यहीबाट भएको हो । वेदमा समेत सितासिते संगते भनेर काली र गौरी गंगाको संकेत पाइन्छ ।

श्यामा–महाकाली नदीमा संगमित हुने अर्को प्रमुख नदीको नाम चर्मण्वती हो । काक–व्रन्दारक पहाडबाट निस्कने यो नदी अपि हिमालको हिम नदी हो । त्रेतायुगमा चर्मवास ऋषिले सुरमा सरोवरमा १० हजार वर्षसम्म तपस्या गरेका थिए । उनकै कारण उक्त सुरमा सरोवरको जल चमण्वती नदीका नामले प्रवाहित भएको हो । चौलानी नदीका नामले प्रसिद्ध चण्वतीको जल चामल धोएको चौलानी जस्तै छ । चौलानी र महाकालीको संगम राजततीर्थ सेरामा उक्त दुबै नदीको दृष्य स्पष्ट देख्न सकिन्छ । चमण्वती र श्यामाको बीचमा दिव्यतीर्थ मल्लिकार्जुनको स्थान रहेको छ । चौलानी नदीमा गन्नी (गण्डकी) नवा, नवमूला, धीवरी (ढीकगाड) जाह्नवी (जमाडी गाड) आदि अनेक नदीहरू संगमित हुन्छन् । महर्षि जमदग्नीले तपस्या गरेको स्थान जाह्नवी र चर्मण्वतीको संगममा रहेको चिता भस्मधारी जाह्नवीशको दर्शन दुर्लभ मानिएको छ ।

सेतीनदीका नामले प्रसिद्ध सीतागंगाको विशिष्ट स्थान छ । महर्षि पुलहले ब्रह्माजीको आराधाना गरेर यो नदी प्राप्त भएको हो । उरु अर्थात् उरेको लेक यसको मूल हो भने शैलपर्वत अर्थात् सैपाल हिमालबाट निस्कने शैलीवती नदी सहायक नदी हो । गौरीगंगाका रुपमा पनि सेती नदीलाई लिइन्छ । सेतीनदी अन्तमा कर्णाली नदीमा मिल्ने नदी हो ।

कर्णाली नदी महाभारतका प्रसिद्ध योद्धा कर्णले अलि पर्वतमा सूर्यको आराधना गरेर प्राप्त गरेको नदी हो । ‘कर्णेन प्रर्थितं दिव्यामलि पर्वत सम्भवात्, ततः सिद्धगणाः प्राहु कर्णाली ते सरिदूराम्’ भनिएको छ । यसलाई मानसी गंगा पनि भनिन्छ, मानसरोवर मूल भएको नदी हो । यसमा हुम्ली, मुगाली, ठूलो भेरी, सानो भेरी, तिला, वृद्धगंगा र सेती गरी ७ ठूला नदी संगमित हुने हुनाले यसलाई सप्त कर्णाली नदी पनि भनिन्छ । पुराणका अनुसार गौरी नदी, शारदा नदी, जटागंगा, मोदगलीय, सीतानदी पनि यसैमा समाहित हुन्छन् । कर्णालीको जलाधार क्षेत्रको वर्णन मानस पुराणमा गरिएको छ । मानस सरोवर एवम् लंकासर मूल भएको शारदा नदीको पनि यसैमा मिलन हुन्छ ।

वृद्धशर्माद्वारा शंख पर्वतमा आराधना गरेर प्राप्त नदी वृद्धागंगा हो । वृद्धाको किनारमा मालिका एवम् वैद्यनाथ ज्योतिर्लिङ्गको स्थान छ, यसैमा कैलास गंगाको मिलन हुन्छ । भृगपुत्रले मालिका देवीको पूजा एवम् कनकेश्वरको पूजा गरेको कुरा पुराण प्रसिद्ध छ । मानस प्रदेशका अन्य नदीहरू कलावती नदीलाई कल्याण खोलाका नामले चिनाइन्छ । रावल केदारबाट निस्कने सरोजा नदी सुरनयागाडका नामले प्रसिद्ध छ । त्यस्तै, फलाद्रि पर्वत फल्टुडेबाट निस्कने गोदावरी नदीको आफ्नै महात्म्य छ । रुपाली गाड रुद्रावती नामले पुराणमा पुकारिएको छ । मानस क्षेत्रमा गण्डकी नामका नदीहरू ठाउँठाउँमा रहेका छन् ।

लोहाघाटमा लेहावतीसँग मिल्ने, चौलानीमा मिल्ने गन्नी नदी गण्डकीकै नामले प्रसिद्ध छ । त्यस्तै, खप्तडबाट निस्कने गण्डकी नदी सेतीमा मिल्ने कुरा पुराणमा आएको छ । गौमती, शारदा, शाङ्कारी, गौरीजस्ता नामहरू अनेक पल्ट प्रयोग भएका छन् । यसका अतिरिक्त नन्दासर (बूढीनन्दा), संज्ञातीर्थ (घोडाघोडी), रामसर (राराताल), सुष्मासर (सुर्मासरोवर), बुद्वुद्सर (बुलबुल ताल), ब्रह्मसर (सिञ्जासरोवर), शंखदह (जुम्ला) लगायत अनेक सरोवरको वर्णन पनि छ ।

यसरी मानसखण्ड प्रदेशमा बग्ने नदीहरूको पौराणिक महत्व अत्यन्तै श्रद्धा गर्न लायक छ । मानसरोवर बराबर नै यिनको पनि स्थान रहेको छ । विशेष गरेर श्रावण भदौंको महिनामा मानस प्रदेशको निवास भ्रमण तथा दर्शन महत्वपूर्ण मानिन्छ । मानसका जलाशयहरू आदि पवित्र मानिन्छन् ।


About Author
-आचार्य घनश्याम लेखक

लेखक कञ्चनपुर निवासी हुन् । उनी शिक्षणपेशामा संलग्न छन् । धार्मिक तथा आध्यात्मिक प्रवक्ता समेत रहेका लेखक मानसखण्डको पौराणिकताका ज्ञाता पनि हुन् । उनका आधा दर्जन कृतिमध्ये मानसखण्ड संहिता पछिल्लो हो ।