८२५ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण २३ , ०८:५९ बजे

टोल–टोलबाटै योजनाको प्राथमिकीकरण

Image

महेन्द्रनगर । स्थानीय तहमा योजना तर्जुमा टोल–टोलबाटै आवश्यकता र योजनाको प्राथमिकीकरण भइरहेको छ । योजना प्राथमिकीकरण हुँदा गाउँपालिका वा नगरपालिकामा आएर अत्यावश्यक योजनामा बजेट नपर्ने समस्या हुने छैन ।

स्थानीय तहमा टोल भेला र वडा भेला गरेर योजनाको प्राथमिकीकरण भइरहेको छ । टोल भेलाले प्राथमिकीकरण गरेर छनौट गरेका योजना वडामा, वडा भेलाले प्राथमिकीकरणका आधारमा छनौट गरेका योजना नगरपालिकामा गठित सम्बन्धित विषयगत समितिमा छलफलका लागि जाने छन् । स्थानीय तहमा सार्वजनिक सेवा तथा क्षमता विकास समिति, आर्थिक विकास समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, वातावरण तथा विपद् व्यवस्थापन समिति र विधेयक विकास समिति रहेका छन् ।

टोलबाट प्राथमिकीकरण गरेर योजना वडा तहमा आएका भीमदत्त नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष आसेफ कुवँरले बताए । उनका अनुसार भीमदत्त नगरपालिका वडा नम्बर १ का टोलबाट नदी नियन्त्रण तथा तटबन्ध, पक्की सडक, कल्भर्ट, विद्युत्पोल र ट्रान्सफर्मरसहितको थ्री फेज लाइन विस्तार, सिँचाइ, सिँचाइका मुहान संरक्षण गर्न पर्खाल, ढलनिकास, ह्यूम पाइप लगायतका योजना माग भएका छन् ।

शुक्लाफाँटा नगरपालिकामा गाउँटोलबाट प्राथमिकीकरणको आधारमा योजना छनौट भएर वडामा पुगेको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हरिश विष्टले बताए । उनका अनुसार कल्भर्ट, ह्यूमपाइप, ग्राभेल, रिङ्गरोड, खानेपानी व्यवस्थापन, सिँचाइ, पक्की कालोपत्रे सडक, स्वास्थ्य चौकीमा ल्याब, बर्थिङ सेन्टर, शिक्षकको दरबन्दी व्यवस्थापन, शिक्षक व्यवस्थापन, स्कूलको भौतिक सुधार र प्राविधिक शिक्षाको माग लगायतका योजना गाउँटोलबाट छनौट भएर वडामा आएका छन् ।

गाउँटोलबाट छनौट भएका योजनालाई सार्वजनिक सेवा तथा क्षमता, आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन र विधेयक विकास शीर्षकमा वडा समितिले प्राथमिकताको आधारमा विषयगत क्षेत्रका विकास समितिमा पठाइने योजना छनौटको प्रवधान रहेको महाकाली नगरपालिकाका सूचना अधिकारी रघुनाथ भट्टले बताए । उनले भने, ‘पहिला योजना छनौट १४ चरणमा गरिन्थ्यो । तर, अहिले ७ चरणमा योजना छनौट गर्ने प्रावधान रहेको छ । टोल, वडा हुँदै सम्बन्धित क्षेत्रका समितिले प्राथमिकताको आधारमा छनौट पश्चात् नगरपालिकाको योजना तर्जुमा समिति जान्छ र समितिले नगरसभामा सिफारिस गरी सभाबाट पारित गर्ने व्यवस्था रहेको छ ।’

गाउँ टोलबाट योजना छनौट हुँदा वडाबाट सिफारिस भएका योजना नै नगरसभा र गाउँसभाबाट पास हुने स्थानीय विकास सम्बन्धी जानकार किसनदेव जोशीले बताए । ‘अब वडाबाट आएका योजना हट्ने सम्भावना कम छ, पहिला वडाबाट आएका योजना एकीकृत योजना समितिले हटाउने गथ्र्यो, अब त्यो हट्दैन,’ उनले भने ।  योजना छनौट गर्दा हुने विवाद समेत अब नहुने उनले बताए । विगतमा टोलबाटै योजनाको प्राथमिकीकरण नहुँदा राजनीतिक पहुँच भएका टोलका योजना बढी प्राथमिकतामा पर्ने र राजनीतिक पहुँच नभएका टोल र वडाका योजना कागजमै सीमित हुने समस्या देखिने गरेको थियो ।