४१६ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण २३ , ०७:४९ बजे

कार्यालय नहुँदा काम गर्न समस्या

Image

अछाम । अछाम जिल्लाका १० वटै स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको डेढ महिना पूरा हुँदा समेत अधिकांश स्थानीय तहमा कार्यालय व्यवस्थापन हुन सकेको छैन । कतिपय स्थानीय तहमा वडा कार्यालय नै छैनन् ।

वडा कार्यालय नहुँदा जनप्रतिनिधिलाई काम गर्न समस्या भइरहेको छ । अछाम जिल्लाका साविकका ७५ गाविस मिलेर अहिलेका ४ नगरपालिका र ६ गाउँपालिका ९१ वटा वडा बनेका छन् । विगतमा द्वन्द्वका कारण विस्थापित भएका गाविस कार्यालय समेत स्थापना नहुँदै स्थानीय तहको संरचना विस्तार हुँदा जिल्लाका अधिकांश स्थानीय तहका वडा कार्यालयविहीन बनेका हुन् । गाउँपालिकामा मात्र होइन, नगरपालिकाका कतिपय वडामा समेत वडा कार्यालय छैनन् ।

दुर्गमका स्थानीय तहमा वडा कार्यालय सामान्य भएपनि जिल्ला सदरमुकाम रहेको मंगलसेन नगरपालिकाका अधिकांश वडामा नै वडा कार्यालय छैनन् । यसमध्येको मंगलसेन नगरपालिकाको वडा नम्बर ६ पनि हो । त्यहाँ वडा कार्यालय मात्र होइन, वडामा कर्मचारी समेत छैनन् । कार्यालय नहुँदा आफूलाई काम गर्न निकै समस्या भइरहेको मंगलसेन नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जनकराज भण्डारीको गुनासो छ ।

‘जनताले काम गर्नका लागि जिताएका हुन्,’ उनले भने, ‘जनताको सेवाका लागि आतुर भएपनि कार्यालय र कर्मचारी नहुँदा समस्या छ । तत्काल वडा कार्यालय स्थापना हुनुपर्ने र कर्मचारी व्यवस्थापन हुनुपर्छ ।’ सरकारको चरम लापरवाहीका कारण वडा कार्यालय व्यवस्थापन हुन नसकेको उनको गुनासो छ । सरकारले निर्वाचन पूर्व नै वडा कार्यालय स्थापनाका लागि रकम पठाएको भएपनि त्यसको चरम दुरुपयोग भएका कारण अझैं वडा कार्यालय स्थापना हुन नसकेको उनले बताए ।

मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बोहराले वडा कार्यालय व्यवस्थापनका लागि आएको रकम खर्च नै हुन नसकेको बताए । ‘रकम नगरपालिकाको खातामा मौज्दात रहेको छ,’ उनले भने, ‘तत्काल रकम परिचालन गरेर वडा कार्यालय स्थापना गरिने छ ।’ हाल नगरपालिकामा कर्मचारी समेत पर्याप्त मात्रामा नभएकाले काम गर्न समस्या भएको उनले बताए । कर्मचारी आपूर्तिका लागि प्रमुख जिल्ला अधिकारीसँग समन्वय भइरहेको बताउँदै बोहराले तत्काल अपुग कर्मचारी मगाएर नगरपालिकामा गर्न बाँकी रहेका सबै काम असोजसम्म सक्ने आफ्नो योजना रहेको उनले बताए ।

जिल्लाको विकट तुर्माखाँद गाउँपालिकामा पनि अधिकांश वडामा वडा कार्यालय नभएको गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले बताए । उनका अनुसार धेरैजसो वडा कार्यालयविहीन छन् । अब आफूले थुप्रै समस्याको समाधानसहित गाउँको विकासका लागि काम गर्ने उनले बताए । ‘कानुन अभावमा स्थानीय तह अन्यौलमा रहेकाले सरकारले छिटो कानून निर्माण गर्नुपर्ने छ,’ उनले भने । यसबाहेक कुनै पनि नगरपालिका र गाउँपालिकामा सबै वडाका वडा कार्यालय छैनन् । कार्यालय नहुँदा सर्वसाधारणलाई सेवा लिन निकै असहज भइरहेको छ ।

वडाको कार्यालय नभएका कारण आफूले सामान्य कामका लागि पनि मंगलसेन नै धाउनुपर्ने बाध्यता रहेको मंगलसेन–६ का स्थानीयको गुनासो छ । सरकारले छिटो कार्यालय स्थापना गर्नतर्फ ध्यान दिनुपर्ने उनले बताए । वडाबाट लिनुपर्ने सिफारिस लगायत सामान्य कामका लगि पनि नगरपालिकाको कार्यालयमा पुग्नुपर्ने बाध्यता अझैं कायमै रहेको गुनासो छ ।