५५२ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण २२ आइतबार, १०:२० बजे

‘जनताका जनप्रतिनिधि आए है भनेर अनुभूति दिनुपर्छ’

Image

– ईश्वरीप्रसाद खरेल (निवर्तमान अध्यक्ष)
नेकपा एमाले कञ्चनपुर
अधिकांश राजनीतिक क्रियाकलाप राजधानी काठमाडौंमा मात्रै हुने अवस्था परिवर्तन हुँदै स्थानीय तह निर्वाचनसँगै राजनीतिक क्रियाकलाप र गतिविधि जिल्ला–जिल्ला र गाउँगाउँसम्म पुगेका छन् । गाउँ ,नगर र जिल्ला तहका नेता कार्यकर्ताको सक्रियता बढेको छ । स्थानीय तह निर्वाचनमा नेकपा एमाले कञ्चनपुरमा पहिलो पार्टी भएपछि एमाले नेताका दौडधुप बढेको छ । स्थानीय तह निर्वाचन सकिएको तथा प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको छलफल चलिरहेको छ । यसै सन्दर्भमा नेकपा एमालेको केन्द्रिय लेखा आयोगका सदस्य तथा कञ्चनपुर जिल्ला पार्टीका निवर्तमान अध्यक्ष ईश्वरीप्रसाद खरेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

स्थानीय तह निर्वाचनमा एमालेले कञ्चनपुरमा प्राप्त गरेको परिणामलाई कसरी लिनुभएको छ ?
– स्थानीय तह निर्वाचनको पहिलो चरणमा पनि हामी पहिलो र दोस्रो चरणमा पहिलो पार्टी भयौं । तर, हामी दोस्रो चरणमा अझ बढी १ सय ५० को हाराहारीमा पुग्छौं भन्ने अनुमान थियो । जनताले नेकपा एमालेलाई दोस्रो चरणमा पनि पहिलो शक्तिको रुपमा खास गरेर ७ नम्बर प्रदेशमा पहिलो रुपमा स्थापित गरेका छन् । हामी जनतालाई हार्दिक धन्यवाद पनि दिन चाहान्छौं ।

जिल्लाको पहिलो नगरपालिका भीमदत्तमा एमाले प्राप्त गरेको उपलब्धीलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
– भीमदत्तमा स्वाभाविक रुपमा नेकपा एमालेले हिजो २०५४ सालमा गरेका काम पनि जनताको बिचमा ताजै थिए । त्यसपछि २०५९ यता स्थानीय तहको चुनाव भएन, विभिन्न कालखण्डमा अरु प्रतिनिधि सभाका चुनाव तथा संविधान सभाका चुनावहरू भए । ती चुनावमा जित्ने पार्टीले जनताका मुलभूत समस्यालाई अलि ध्यान दिन सकेनन् र त्यो उठान गर्न सकेनन् । एउटा त राजनीतिक तहमा पनि सम्पूर्ण विकासको कुरामा समझदारी बन्न सकेन । नेकपा एमालेले अगाडि सारेको राष्ट्रिय नीति, एमालेको अडान, विकासमा देखाएको चासोका कारणले भीमदत्त नगरपालिकाका जनताले एमालेका जनप्रतिनिधिलाई चुनेर बहुमतसहित पठाएका छन् । काम गर्ने पार्टीलाई जिम्मेवारी दिएका छन् ।

अब कञ्चनपुरमा एमालेले कस्तो रणनीतिका साथ अगाडि बढ्छ ?
– हामीले जो हाम्रा जनप्रतिनिध भएर जानुभएको छ, उहाँहरूले विकास निर्माण र जनताका समस्यालाई पहिलो प्राथमिकतामा राखेर त्यसलाई समाधान गर्ने दिशामा कसरी नेकपा एमाले सहयोग गर्न कार्ययोजना बनाउन सक्छ हामी त्यसतर्फ लागेका छौं । कञ्चनपुरमा पनि स्थानीय तहमा हाम्रो बहुमत छ, अब जिल्ला समन्वय समितिमा पनि नेकपा एमालेले आफ्नो प्रतिनिधि पठाएको छ । हामी यहाँको समग्र विकासलाई कसरी गर्न सकिन्छ, यसलाई कुन दृष्टिकोणले अगाडि लैजाँदा उत्तम हुन सक्छ, एउटा राजनीतिक तहमा पनि हामी छलफल गर्छाैं र जनप्रतिनिधिलाई त्यो राजनीतिक तहबाट आएको सुझाव लागू गर्ने अनि त्यसलाई समग्र सुदूरपश्चिम, भीमदत्त नगरपालिका र कञ्चनपुर जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकामा विकास निर्माणका ध्यान केन्द्रित गर्छाैं ।

जिल्ला समन्वय समिति, प्रदेश सभा तथा प्रतिनिधिसभा चुनावको तयारी के छ ?
– हामी प्रदेश कमिटी बैठकमा गहन छलफल गर्छाैं । अहिले क्षेत्र निर्धारण आयोग पनि गठन भएको त्यसले पनि क्षेत्रहरू निर्धारण गर्ला । एमाले जहिले पनि जनतामा भएको पार्टी भएको कारणले हामी जुनसुकै बेला पनि चुनाव भए चुनावमा जान तयार छौं । जतिबेला पनि मिति घोषणा गरिए हामी चुनावमा जाने रणनीतिका साथ बसेका छौं ।

तपाईले २०५४ सालमा भीमदत्त नगरपालिकाको उपप्रमुख भएर काम गरिसक्नुभएको छ । त्यसपछि अहिले झन्डै २० वर्षपछि भएको चुनावबाट सरकारले स्थानीय तहलाई अधिकार सम्पन्न बनाइदिएको छ भनिन्छ, त्यतिबेला र अहिलेको व्यवस्थामा के अन्तर पाउनुभएको छ ?
– स्थानीय तहमा स्वायत्त शासन ल्याउने र पूर्ण अधिकार दिने भन्ने कुरा त्यतिखेर पनि चलेको हो । त्यो अधिकार उतिबेला संविधानमा पनि लेखिएन, कानून पनि बनाइएन् । पछि २०५५ सालमा स्वायत्त शासन ऐन आयो । तर, त्यसले पनिस्थानीय स्वायित्व शासनसँग २७ वटा कानूनहरू बाँझिएका थिए । ती कानूनलाई संशोधन गर्नमा सरकारले चासो दिएन । त्यसकारण त्यतिखेरभन्दा अहिले धेरै फरक छ । अहिले स्थानीय तह स्वायत्त भएर काम गर्न सक्ने अधिकार सम्पन्न छन् ।

काम गर्ने कुरामा त्यो भएपनि केही कानुनहरू नबनाएको, विभिन्न कार्यालयलाई समायोजन गरी नसकेको कारणले गर्दा सरकारले पनि तलतिर गिद्देदृष्टि लगाएर विभिन्न मन्त्रालयका शाखा नगरपालिकामा गाँभिदिने विपक्षीको बहुमत छ । त्यसले काम गर्न अप्ठ्यारो हुन्छ भन्ने सोच बनायो भने यो फेरि लामो जान सक्छ । तर, स्वभाविक रुपमा अब जनप्रतिनिधि आइसकेका छन् र संविधानले त्यो अधिकार दिइसकेका कारणले स्थानीय तहलाई अधिकार सम्पन्न कानून बनाइदिएर काम गर्न सक्ने सहज वातावरण सरकारले बनाइदिनुपर्छ । त्यसतर्फ सरकारको ध्यान जानु जरुरी छ ।

भीमदत्तको उपप्रमुख भएर काम गरेको अनुभव तपाईसँग छ । भीमदत्तमा नवनिर्वाचित जनप्रतिनिधिलाई काम गर्न कतिको चुनौतिपूर्ण छ ?
– काम चुनौतिपूर्ण नै छन् । विगतमा पनि काम गर्न चुनौतिपूर्ण नै थियो । विगतमा बजेटको कमी हुने, व्यवस्थापन गर्न नसकिने, स्थानीय तहले उठाएको बजेट कर्मचारीमा खर्च हुने स्थिति थियो । अहिले त्यो भिन्न छ । अहिले नेपाल सरकारबाट आउने अनुदान, स्थानीय तहमै विभिन्न सरकारी राजस्व उठ्ने कुराले अलि सहज छ । विकास निर्माणका चुनौतिहरू छन् । यहाँ जनताका समस्या सम्बोधन गर्नुपर्ने चुनौति छ । यी सबै चुनौतिलाई समाधान गर्न नेकपा एमालेका नेता कार्यकताहरू तयार छन् ।

हिजो काम गर्दा विभिन्न बाधा अड्चन आउने गर्थे, त्यो अहिले पनि छ । विभिन्न सरकारी निकाय जस्तो विद्युत्को काम हुँदैछ, नगरपालिकालाई जानकारी हुँदैन । सडक नगरपालिकाले आज बनाएर भ्यायो, भोलि टेलिकमले खनेर तार गाड्न लैजान्छ । अनि हामीले सडक बनाउँछौं अर्को निकाय आउँछ त्यसलाई खाल्डो बनाउँछ, त्यहाँ आफ्ना काम गर्न थाल्छ । विकास निर्माणमा यो परिस्थिति हिजो पनि थियो र आज त्यो नियन्त्रण हुन्छ भन्ने हामीले विश्वास गरेका छौं । किनभने, अब जनप्रतिनिधि तथा नगरपालिकालाई त्यो नभनिकन हुँदैन । अर्को कुरा के थियो भने हिजो नगरपालिकाभित्र कसले के–के काम गर्दैछ । अर्थात्, सरकारले माथिबाट सञ्चालन गर्ने काम नगरपालिकालाई जानकारी नै नहुने, समन्वय पनि गर्न नपर्ने जो स्थिति थियो त्यसको अन्त हुँदैछ । त्यो अन्त हुनु नै विकास निर्माणमा टेवा पुग्नु र विकास निर्माण चाडो हुन्छ भन्नेमा हामीले विश्वास लिनु हो ।
चुनावी अभियानका बेला मतदातालाई ५ वर्षभित्र भमिदत्तलाई समृद्ध नगर बनाउँछौं भनेर तपाईले आश्वासन बाड्नुभयो ।

नगरपालिकालाई समृद्ध बनाउनु भनेको के हो नि ?
– नगरलाई समृद्ध बनाउनु भनेको नगरभित्रका जनता सबै आर्थिक रुपमा सम्पन्न हुनुपर्‍यो, सबैलाई रोजगारीको व्यवस्था हुनुपर्‍यो, औषधी सहज रुपमा पाउनुपर्‍यो, पढाइबाट कोही वञ्चित हुनुभएन, सबै मान्छे सभ्य बनाउने कुरा र एउटा पढेलेखेको नागरिक बनाउने कुरादेखि लिएर विकास निर्माणको जुन कुरा हामी गर्छौं त्यसले नै यसलाई राम्रो नगरको रुपमा अगाडि बढाउन सक्छौं । यहाँ किसानहरू छन् उनीहरूलाई हामीले सहज रुपमा खाद्यान्नका बिउबिजन सुलभ कसरी हुन सक्छ त्यो हामीले बनाउनुपर्छ ।

त्यस्तै, व्यापार उद्योगको कुरा छ त्यसलाई कसरी सहज गर्न सक्छौं, रोजगारीका अवसर कसरी सिर्जना हुन सक्छन् । ब्रह्मदेवदेखि दार्चुला जाने जुन महाकाली करिडोर छ त्यसको निर्माण चाडोभन्दा चाडो हामी कसरी गर्न सक्छौं, त्यतातिर ध्यान दिन्छौं । विश्वविद्यालय यहाँ छ, यहाँका सबै विद्यार्थी कसरी सहज रुपमा यो विश्वविद्यालयमा पढ्न सक्छन्, त्यसको व्यवस्थापन गर्ने कुरादेखि लिएर जनतालाई समृद्ध बनाउनमा ध्यान दिन्छौं हामीले ।

भीमदत्तमा सबैभन्दा पहिले गर्नुपर्ने काम के हो ? जसले नगरलाई समृद्ध बनाउन सहयोग पुर्‍याउँछ ?
– सबैभन्दा पहिले जनताका जनप्रतिनिधि आए है भनेर अनुभूति दिने कुरा हामीले जनतालाई गराउन सक्यौं भने उनीहरूको आशा बढ्छ । हामीले यहाँ विकास निर्माणको कार्यदेखि लिएर नगरलाई समृद्ध बनाउने सवालमा यहाँ बाढी नियन्त्रण, ढलनिकास यी कुरालाई पहिलो प्राथमिकतामा राखेर हामी काम गछौं । छाडाचौपाया अहिले खास गरेर फोहोरमैला व्यवस्थापनको कुरा छ । फोहोरमैला व्यस्थापनलाई पनि प्राथमिकता राख्नुपर्छ यसतर्फ पनि हामीले ध्यान दिएका छौं ।

तपाईले माथि उल्लेख गर्नुभएका समस्याको समाधान र व्यवस्थापनको लागि दीर्घकालीन योजनाको पनि आवश्यकता पर्छ होला, त्यसको तयारी के छ ?
– एकदम हामीले ढल निकासको पनि गुरुयोजना बनाउने कुराहरू गरिरहेका छौं । चुरे संरक्षण गरी खहरे खोला नियन्त्रण गर्न लागू भएको राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई कसरी क्रियाशील गर्न सकिन्छ र त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कुरातर्फ हामीले ध्यान दिएका छौं । वन व्यवस्थापन तथा ढल निकासको विषयलाई पनि हामीले प्राथमिकतामा राखेर गुरुयोजनाका साथ अगाडि बढाएका छौं ।

यहाँको बजार क्षेत्रमा अव्यवस्थित बसोबासीहरू रहेका छन् । घर जग्गा नभएका, टहरामा बसिरहेका जनतालाई पनि जग्गाको मालिका बनाउनुपर्छ उहाँहरूलाई बस्ने ठाउँ राज्यले दिनुपर्छ त्यो राज्य अहिले नगरपालिका भएको हुनाले उहाँहरूको पनि बस्ने व्यवस्थापन गर्ने विषयलाई पनि गुरुयोजनाका साथ अगाडि बढाउँछौं । सुकुम्बासी र घरवारविहीन भएका मान्छेलाई मेरो आफ्नो घर छ भन्ने कुरालाई पनि अनुभूति दिलाउँछौं ।


About Author
-जनकसिंह विष्ट