३६७ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण २२ , ०९:४८ बजे

बिकराल बन्दै आत्महत्या

Image

आफ्नो ज्यान आफैं लिने कार्य आत्महत्या हो । यो नेपालमा मात्र नभइकन विश्वमै एक जटिल स्वास्थ्य तथा सामाजिक समस्याको रुपमा देखिन थालेको छ । आत्महत्या एक किसिमको मानसिक रोग हो, यो मानिसको मस्तिष्ककोे अवस्थासँग जोडिएको विषय हो ।

जब मानिस समस्यामा पर्दछ अथवा आफूलाई असहजताको स्थितिमा देख्दछ, तब उसको दिमागमा उठेका कयौं विकल्पहरूमध्ये कुनै पनि विकल्प उपयुक्त ठान्दैन र आफ्नो अस्तित्व आफैं समाप्त गरेर तनावबाट मुक्त हुन चाहन्छ ।
आत्महत्या मानवीय मष्तिष्कमा हुने चिन्ता र तनावको अतिनिकृष्ट तथा कायर मानसिकताको उपज हो ।

मानव मष्तिष्कमा अनेक खालका संवेगहरू रहेका हुन्छन्, ती संवेगहरू दिमागमा आउना साथ शरीरमा सोही अनुसारका हार्माेनहरू उत्पादन हुन्छन् । निराशापन तथा तनावले गर्दा मानिसमा नकारात्मक सोच पैदा हुन्छ, फलस्वरुप आत्महत्याको बाटो रोज्न पुग्दछ ।

आत्महत्याका कारणहरू
कसैले किन आफ्नो ज्यान आफैं लिन्छ भन्ने कुरामा कुनै एउटा मात्र कारण हुँदैन । तर, केही निश्चित तत्वले आत्महत्याको जोखिमलाई बढाई दिन्छ । लगभग ९० प्रतिशतभन्दा बढी व्यक्ति जसले आत्महत्या गर्छन्, उनीहरू मृत्यृको समयमा मानसिक रोग पनि लागेको देखिन्छ । डिप्रेसन पनि आत्महत्याको प्रमुख कारक तत्वको रुपमा रहेको छ । यी कारणभन्दा बाहेक आत्महत्याको सोच ल्याउने, आत्महत्याको प्रयास गर्ने तथा आत्महत्या नै गर्नमा उत्प्रेरक तत्वमा विभिन्न हुन सक्छन् ।

जुन व्यक्तिमा आत्महत्या गर्ने विचार आउँछ, ती व्यक्तिहरू दुःखी र निराशाले ग्रसित भएका हुन्छन् र अर्काे कुनै पनि विकल्प नभएको सोच्दछन् । खासगरी मानिस जब आशाविहीन हुन्छ, जालोमा परेको अनुभव हुन्छ र एक्लोपना महसुस हुन्छ, तबदेखि नै उसमा आत्महत्या गर्ने विचार आउन थाल्दछ । मानिस बाँच्नको कुनै अर्थ नभएकोजस्तो लाग्नु र आत्महत्या मात्र समस्याको समाधान ठान्नु पनि आत्महत्याको लक्षण हुन् । लागू पदार्थ तथा मादक पदार्थ सेवनकर्ताले पनि आत्महत्या गर्ने सम्भावना बढी हुन्छ ।

यदि कसैले निराशावादी भएको कुरा गर्ने, बाँच्नुको कुनै कारण छैन भन्ने, आफूले गरिरहेको पेशा व्यवसाय छाड्छु भन्ने जस्ता व्यक्तिहरू आत्महत्याको जोखिममा हुन्छन् । आफूलाई हानी पुर्‍याउने हातहतियार तथा विषको खोजी गर्न, धेरै बढी अथवा धेरै कम सुत्ने व्यक्तिमा पनि आत्महत्या गर्ने विचार निहीत भएको हुन्छ र अत्यधिक मात्रामा अल्कोहल सेवन तथा खतरामूलक कार्यमा संलग्न हुनु पनि आत्महत्याको लक्षण अन्तर्गत पर्दछ । अरु व्यक्तिसँगको सामाजिक अन्तक्र्रिया नगर्ने कसैलाई बदलाको भावनाले हेर्ने तथा उदास मुद्र्रामा देखिने व्यक्तिहरू पनि आत्महत्याको जोखिममा रहेका हुन्छन् ।

आत्महत्याको प्रवृति
नेपामा आत्महत्याको इतिहासलाई हेर्ने हो भने प्राचीनकालदेखि नै उच्चकोटीका व्यक्तिले समेत आत्महत्या गरेका दृष्टान्त छन् । नेपालको इतिहासमा पहिलो प्रधानमन्त्री भिमसेन थापा, सर्वाेच्च अदालतका न्यायाधीश भरतराज उप्र्रेति तथा पछिल्लो समयमा युवामाझ प्रसिद्ध र्‍यापर यम वुद्ध भनेर परिचित अनिल अधिकारी लगायतका व्यक्तिले समेत आत्महत्या गरेको पाइन्छ । आत्महत्याको सोच धनी, गरीब, उमेर ,लिङ्ग वा ठाउँको व्यक्तिमा जुनसुकै बेला आउन सक्छ । यो समस्याले नेपाली समाज ग्रसित रहेको देखिन्छ ।

सन् २००९ मा स्वास्थ्य सेवा विभागको परिवार स्वास्थ्य महाशाखाले मातृ मृत्यु सम्बन्धी अध्ययनले प्रजनन् उमेर (१५–४५) वर्षका महिलाको मृत्युको प्रमुख कारण आत्महत्या भएको देखाएको छ । उक्त अध्ययनले मानसिक स्वास्थ्य समस्या, खराब सम्बन्ध, विवाह तथा पारिवारिक मुद्दाहरू आत्महत्याको प्रमुख कारण भएको देखाएको हो । यसबाट नेपाली समाजमा पुरुषको तुलनामा प्रजनन् उमेरका महिला आत्महत्याको उच्च जोखिममा रहेको देखिन्छ ।

नेपालमा आत्महत्या सम्बन्धी तथ्याङ्क राख्ने प्रमुख निकायमा अस्पताल र नेपाल प्रहरी हुन् । यद्यपि प्रहरी र अस्पातालको कमजोर अभिलेख र प्रतिवेदनको कारणले यथार्थ तथ्याङ्क बाहिर आउन नसकेपनि वार्षिक रुपमा नेपालमा आत्महत्याको दर उच्च रहेको देखिएको छ । नेपाल प्रहरीकै तथ्याङ्क हेर्ने हो भने पनि नेपालमा वर्षेनि लगभग ५ हजारको संख्यामा आत्महत्या हुने गरेको देखिन्छ भने सुदूरपश्चिमाञ्चलमा झण्डै ५ सयले वार्षिक रुपमा आत्महत्या गर्ने गरेको देखिन्छ ।

नेपालमा आत्महत्या तथ्याङ्कको प्रवृतिलाई हेर्ने हो भने आर्थिक वर्ष २०७२÷७३ मा सबैभन्दा बढी झुन्डिएर(७५.३%) र त्यसपछि विष सेवन गरेर (२५.४%) आत्महत्या गरेको पाइएको छ । त्यसपछि क्रमशः हाम फालेर (१.२%), आगो लगाएर (०.७%), हातहतियार औजारबाट (०.३%), पानीमा हाम फाली डुबेर (०.१%) र करेन्ट लगाएर (०.१%) आत्महत्या गर्ने गरेको देखिएको छ ।

आत्महत्या न्यूनिकरणका उपाय
आत्महत्याको प्रमुख कारण भनेका निराशापन (डिप्रेसन) र तनाव (टेन्सन) नै हुन् । यी कुराहरूलाई मानव जीवनमा व्यवस्थित गर्न सकियो भने आत्महत्या गरिहाल्नेसम्मको स्थिति आउँदैन, मानव मस्तिष्कमा सयौं खाले संवेगहरू निहीत हुन्छन् । तर, संवेगको सही व्यवस्थापन तथा सन्तुलन कायम गर्न सकिएन भने दिमागमा निराशापन आउँदै जान्छ र आत्महत्याको वातावरण बन्दै जान्छ ।

आजभोलि किशोरकिशारी सानो तनाव वा आफ्नो मानोकांक्षा पूरा हुन नसकेमा आत्महत्याको बाटो रोज्ने खराव प्रवृति देखिएको छ । यसले गर्दा देशले युवा जनशक्ति गुमाउँदै जान्छ भने अर्कातर्फ समाजमा असन्तुलन पैदा हुन्छ । किशोरकिशोरीमा निराशापन आउन नदिनु तथा उनीहरूको संवेग नियन्त्रणमा अभिवाभकको पनि महत्वपूर्ण भूमिका रहन्छ ।

छोराछोरीसँग खुलेर कुरा गर्नेदेखि लिएर उनीहरूमा आउन संवेगात्मक परिवर्तनलाई समेत अवलोकन गरी बेलैमा उनीहरूलाई सचेत गराउनु पर्दछ र कुनै अस्वभाविक लक्षण जस्तो एक्लोपना महसुस गर्ने, बाँच्नुको अर्थ नभएको जस्तो महसुुस गरेको पाइएमा चिकित्सकको सल्लाह लिन ढिला गर्नु हुँदैन । बालबालिकालाई तनावरहित बनाउनको लागि पारिवारिक वातावरण पनि शाान्त र आत्मीय बनाउनु उत्तिकै अपरिहार्य छ ।

हाम्रो समाजमा विशेषगरी किशोरीहरू तथा महिला खराब सम्बन्धका कारण आत्महत्याको उच्च जोखिममा छन् । बृद्धबुद्धामा पनि बुढेसकालमा उचित हेरचाह तथा माया ममता नपाएको कारण पनि आत्महत्याको शिकार भएका छन् । युवामा पनि विभिन्न संवेग नियन्त्रणको कमी, बेराजगारी, निराशापन तथा तनावका कारण आत्महत्या गर्ने प्रवृति रहेको देखिन्छ ।
आत्महत्या एक जटिल स्वास्थ्य तथा सामाजिक समस्याको रुपमा देखिन थालेका वर्तमान परिप्रेक्ष्यमा सरकारको पनि यस विषयमा ध्यान केन्द्रित गर्नु जरुरी छ ।

यसका लागि आत्महत्या न्यूनिकरण सम्बन्धी जनचेतना फैलाउने र जीवनोपयोगी सीपलाई प्रवद्र्धन गर्नु जरुरी छ । सानै उमेरदेखि बालबालिकामा असल व्यवहारको विकास गर्न विद्यायलको पाठ्यक्रममा पनि यस्ता विषयवस्तुलाई स्थान दिइनु पर्दछ । शिक्षकका लागि पनि आत्महत्या न्यूनिकरणका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनु आवश्यक छ । शारीरिक तथा मानसिक रुपमा स्वस्थ भई दीर्घजीवन जीउन सक्नु पनि सफल जीवनको उदाहरण हो । जीवन प्रकृतिको एक अमूल्य र अनुपम उपहार हो । यस्तो अमूल्य जीवनलाई अकालमै गुमाउनबाट रोक्नु प्रत्येक नागरिकको कर्तव्य र राष्ट्रको दायित्व हो ।