८७७ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण २२ , ०९:०४ बजे

कञ्चनपुरमा कर्तव्य पूरा नगर्ने उम्मेदवार २०%

Image

महेन्द्रनगर । स्थानीय तह चुनावमा उम्मेदवार भएको १ महिनाभित्र हरेक उम्मेदवारले निर्वाचन कार्यालयमा खर्चको विवरण बुझाउनुपर्ने अनिवार्य कर्तव्यलाई कञ्चनपुरका २० प्रतिशत उम्मेदवारले पूरा गरेका छैनन् ।

कञ्चनपुरमा चुनावी प्रतिस्पर्धामा रहेका ८० प्रतिशत उम्मेदवारले जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरमा खर्च विवरण बुझाएका छन् । स्थानीय तहको चुनावको मतगणना सकिएको १ महिनाभित्र खर्च विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था भएपनि कञ्चनपुरका २० प्रतिशत उम्मेदवारले अझैैं पनि खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लिला जोशीले बताए ।

जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार गत असार १४ गते भएको स्थानीय तह दोस्रो चरणको चुनावमा कञ्चनपुरमा २ हजार २ सय ९० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । जसमध्ये १ हजार ८ सय ३२ उम्मेदवारले हालसम्म खर्च विवरण बुझाएका हुन् । ४ सय ५८ जनाले अझैं पनि खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लिला जोशीले बताए ।

कञ्चनपुरमा १ हजार ३ सय ३१ पुरुष र ९ सय ५९ महिला चुनावी प्रतिस्पर्धामा थिए । निर्वाचन खर्चको विवरण राजनीतिक दल, उम्मेदवार अथवा तिनका प्रतिनिधिले निर्वाचन परिणाम सार्वजनिक भएको मितिले ३० दिनभित्र बुझाउनुपर्ने कानूनी व्यवस्था निर्वाचन आयोग ऐन २०७३ को दफा २५ मा र स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४ मा रहेको छ ।