२४७ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण १९ , १८:०८ बजे

सिंहदरबारमा हरेक पार्टीका दलाल छन् : विजयसुन्दर

Image

नयाँ मन्त्री नियुक्त हुनेबित्तिकै हरेक मन्त्रालय पुगेर बधाई दिनेहरूको ताँती देखिन्छ सिंहदरबारमा । तर, आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री हुँदा समेत सिंहदरबार छिरेनछन् उनी । ‘जिल्लामैं व्यस्त भइयो, संगठन निर्माण, जनताको काम । यहाँ धाएर पनि के गर्नु, केही परे उतैबाट पहल गरियो बरु,’ उनले भने । स्थानीय निकायको चुनावमा पार्टीलाई सम्मानजनक मत दिलाउन सफल भएपछि भने उनी आए काठमाडौं पार्टी बैठकमा भाग लिन । ‘अझै संसदवादी हुन सकिएनछ,’ कुराकै क्रममा उनले भने, ‘चाकरी, पैसा कमाउन दलाली र नेताको वरिपरि घुम्न जानिएन ।’

उनी हुन् विजयसुन्दर अर्थात् नरेन्द्र कुँवर । पहिलो संविधानसभामा बैतडीको क्षेत्र नम्बर १ बाट अत्यधिक बहुमतले विजयी नेता । दोस्रो निर्वाचनमा थोरै मतान्तरले पराजित । त्यो पनि पार्टीभित्रकै बागीका कारण । अहिले नेकपा माओवादी केन्द्रको बैतडी जिल्ला इन्चार्ज । ३ वर्षअघि जिल्ला इन्चार्ज भए उनी । भन्छन्, ‘संगठन लथालिङ्ग थियो, साथीहरूबीच नै समन्वय थिएन, नयाँ मानिसहरू जोडिन सकेका थिएनन्, पुराना निष्क्रिय । चुनौती थियो । तर, अहिले आएर सम्मानजनक अवस्था हासिल गरेका छौं । स्थानीय निर्वाचनमा तुलनात्मकरुपमा ७ नम्बर प्रदेशका अन्य जिल्लाभन्दा राम्रो मत पाएको छ पार्टीले ।’ उनको आफ्नो क्षेत्र पुर्चौंडी नगरपालिकामा भने माओवादी केन्द्रले विजय हासिल गरेको छ ।

पारिवारिक दृष्टिले पञ्चायतकालिन प्रधानपञ्चका छोरा हुन विजयसुन्दर । राजनीतिक संस्कार उनले घरबाटै पाए । देशमा पञ्चायती शासनको अन्त्यसँगै व्यक्तिगत प्रतिशोध सुरु भयो उनको परिवारविरुद्ध । यसले उनीभित्र समेत विद्रोही चेत पैदा गर्‍यो । र, उनी होमिए प्रत्यक्ष राजनीतिमा । बैतडीमा छँदा नै उनी तत्कालीन मालेसँग जोडिइसकेका थिए । मोरङका गंगा पौडेल बैतडी पुगेका थिए मालेको संगठन निर्माण गर्न । संगठन गर्न खप्पीस पौडेल । बैतडीका हरेक गाउँ पुग्थे उनी । पौडेलबाट प्रभावित भएर विजयसुन्दरले समेत सदस्यता लिए मालेको । २०४९ मा एमाले विजयी भयो उनको क्षेत्रबाट ।

डिलाशैनी माविबाट हाइस्कूल पढेपछि उनी काठमाडौं गए पढ्न । ताहाचल भर्ना भए । ताहाचल वाम राजनीतिको एउटा केन्द्र थियो त्यो बेला । यहाँ पढ्ने बेला उनले राजनीति अलि बढी बुझ्ने मौका पाए । तर, उनी एमालेमा बढी टिक्न सकेनन् । ‘म एमालेमा सक्रिय, यता बुवाविरुद्ध भने एमाले नै खनियो । कारण केही थिएन, मात्र पुरानो पूर्वाग्रह,’ उनी भन्छन् । पार्टीभित्र समेत मदन भण्डारी र सिपीको विवाद थियो । उनी भन्छन्, ‘सानैदेखि विद्रोही स्वभाव, त्यति बढी नबुझेपनि नयाँ जनवाद नै राम्रो भन्ने मनमा छाप पर्‍यो । विस्तारै एमालेबाट मोहभंग भयो । विकल्प खोज्नतर्फ लाग्यौं । यता माओवादी दृश्यमा आइसकेको थियो ।’

माओवादी खोज्न भारततर्फ
वामपन्थतर्फ आकर्षण थियो, आस्था थियो र एमालेसँग मोहभंग भएको अवस्था थियो । विजयसुन्दर भन्छन्, ‘मेरो स्वभाव नै समाजका हरेक कुरामा फरक धारणा राख्ने थियो । २०५२–५३ मा म काठमाडौंमा नै थिए । एमाले छोडिसकेको थिएँ मैले । माओवादीमा जानुपर्‍यो भन्ने साथीहरूबीच सल्लाह हुन्थ्यो । तर, भेटाउन सकिरहेका थिएनौं । केही समय यस्तै बित्यो । रोल्पा रुकुम गए माओवादी भेटिन्छन् भन्ने थियो । तर यता प्रहरीको समेत निगरानी बढ्दै थियो । भारतमा बरु भेट्न सकिएला कि ? भन्ने सल्लाह भएपछि अहिले पुर्चौंडीका मेयर रणबहादुर कुँवर र म भारत गयौं ।

हामीलाई पहिला २/३ कक्षामा पढाउने कुवाकोटका १ जना नरेन्द्र जाग्री ‘सरोज’ भन्ने सर माओवादी छन् भन्ने सुनिन्थ्यो । उनलाई भेट्न हामी २०५६ मा भारत पुग्यौं । तर, हामीले उहाँलाई भेटाउन सकेनौं । त्यही क्रममा हाम्रो भेट भयो कुवाकोटकै अमरसिंह बोहरासँग । उहाँपछि सहिद हुनुभयो । तर, उहाँले हामीलाई विश्वास गरेनन् । हामीले कसम नै खाएपछि २०५७ को अन्त्यतिर हामी पार्टी च्यानलसँग जोडियौं । त्यसपछि भूमिगत जीवन सुरु भयो ।

लामो प्रयासपछि माओवादी र भूमिगत
पार्टीसँग आधिकारिकरुपमा जोडिएपछि भने संगठित जीवन सुरु भयो विजयसुन्दरको । पार्टीको प्रभाव खासै थिएन बैतडीमा । तर, सुरक्षाकर्मीको निगरानी भने व्यापक थियो । को माओवादी भयो, को समर्थक हो भन्ने कुरा उनीहरूलाई छिट्टै थाहा हुने । त्यसैले खुला राजनीति सम्भव थिएन । पार्टीसँग जोडिएसँगै उनी एरिया सेक्रेटरी बने, ४ महिनापछि जिल्ला समितिमा र पछि जिल्ला जनसरकार प्रमुखका रुपमा सक्रिय भए । २०६० सालदेखि शान्ति प्रक्रियामा आउँदासम्म उनी जिल्ला कमिटीको सेक्रेटरी थिए । त्यही बेला एकीकृत जनप्रतिरोध अभियानमा उनी गण्डक पुगेको बताउँछन् । संगठन विस्तार र गण्डक क्षेत्रमा पार्टीको प्रभाव विस्तार गर्न सेताी महाकालीबाट उनीहरूलाई त्यहाँ खटाइएको थियो ।

जनयुद्धकालमा जिल्ला र पार्टीले खटाएका सबै जिम्मेवारीमा कुशलतापूर्वक खटिए उनी । कतिपय अवस्थामा सेना र प्रहरीको घेराबन्दीमा समेत परे । भन्छन्, ‘एउटा सपना थियो क्रान्तिको, केही गर्नुपर्छ, देशमा आमूल परिवर्तन ल्याउनुपर्छ । जनताको दैलोमा बिहानीको सूर्यका किरण छाउनुपर्छ भन्ने थियो । व्यक्तिगत केही बाँकी थिएन, पार्टीले जहाँ जसरी भन्यो, त्यसरी हिँडियो ।’

शान्ति प्रक्रियाको अप्ठ्यारो दशक
मुक्ति र परिवर्तनका सपना सँगाल्दै सम्पन्न परिवारको सुख छोडेर सशस्त्र संघर्षमा होमिएका नरेन्द्र कुँवरका लागि युद्धकालभन्दा पनि शान्ति प्रक्रियामा असहजता थपियो । कारण थियो, सशस्त्र संघर्ष र खुला पार्टी राजनीतिबीचको बिरोधाभाषा अवस्था । हिजो त्याग थियो, समर्पण थियो तर खुला राजनीतिमा सबै कुरा फरक । ‘युद्धकालमा हाम्रो क्रान्तिकारीपना हामीले कायम राख्न सक्यौं, तर खुला राजनीतिमा त्यो अनुरुपको कार्यदिशा, कार्यनीति, कार्यशैली र संगठनको विकास सोही किसिमले गर्न नसक्दा यसले समस्या निम्त्यायो ।’ उनको ठहर छ, ‘जुन कुरा समात्नुपर्ने थियो, त्यो समात्न सकेनौं । यसले हामीले ल्याएका उपलब्धि पनि जोगाउन नसक्ने चुनौती हाम्रा अगाडि देखियो ।’

माओवादीले यति ठूलो उपलब्धि चाहिँ ल्याउन सक्ने, तर आफ्नै कारणले त्यसलाई रक्षा गर्न समस्या पर्ने र यथास्थितिवादीहरू बलियो हुने अवस्था आउनुका पछाडि गम्भीर समीक्षाको खाँचो रहेको उनको निक्र्यौल छ । भन्छन्, ‘त्यति बेला मर्न तयार हुने अवस्था थियो, एउटा भरुवा बन्दूक र लाठीबाट त्यत्रो विश्व नै थर्काउन सक्यौं, त्यस्तो सत्तालाई विघटन गर्न सफल भयौं । त्यति ठूलो जिम्मेवारी चाहिँ पुरा गर्न सक्यौं । तर शान्ति प्रक्रियामा आएपछि यही उपलब्धि पनि जोगाउन चुनौती ? कहाँ के भयो ? किन यस्तो भयो भन्ने कुरा पार्टीभित्र पनि समीक्षाको विषय छ । यो प्रश्नको उत्तर खोज्न सकेमा हामी त्यही क्रान्तिकारी हुन्छौं ।’ स्थानीय तहको युगीन निर्वाचनबाट सरकारको चुनाव गर्न र राज्यसत्तामा सबैलाई ल्याउन सफल भएपनि त्यसको स्वामित्व लिन भने नसकेको उनी बताउँछन् ।

बिग्रेको छैन, सपार्ने ठाउँ प्रसस्तै
माओवादीभित्र शान्तिकालमा आएपछिको पार्टी विघटन, सांस्कृतिक विचलन, वैचारिक अलमलको बीचमा निराशाजनक अभिव्यक्तिहरू चुलिएका छन् । अधिकांश नेता कार्यकर्ताहरुले निराशाजनक टिप्पणी गरेका देखिन्छ पनि । तर, विजयसुन्दर भने आशावादी छन् । यो अवस्था देखिएपनि आत्तिनु नै पर्ने या सबै कुरा समाप्त भएको सोच्नु गलत भएको उनी बताउँछन् । ‘हामीले स्वामित्व किन लिन सकेनौं त भन्ने मुख्य हो । पार्टीभित्र कार्यकर्ताहरूको व्यवस्थापन, सोही अनुरुपको विचार, कार्यदिशा, कार्यक्रम र नेतृत्व आवश्यक थियो । युद्धकालमा पनि हामीभित्र अन्तरविरोधहरू थिए । तर, त्यो परिस्थितिमा त्यसलाई हल गर्ने केही विधि पद्दती थिए । यता शान्तिकालमा नयाँ ढंगले देखा परेका अन्तरविरोध हल गर्ने नयाँ कार्यविधि र पद्दती विकास गर्न सकेन । त्यसैले संगठनात्मक कार्यविधिमा घोत्लिने हो भने कतिपय समस्या आफैं ठीक हुन्छन् ।’

प्रतिस्पर्धी खेलमा माओवादी झन् कुशलतापूर्वक जित्न सक्नेमा उनी आशावादी छन् । युद्धकालको जटिल अवस्थामा समेत सत्तालाई धक्का दिन सकेको अवस्थामा शान्तिकालमा विचारको संश्लेषण र सोही अनुरुपको पार्टी पद्दतीको विकास गर्न सके नजितिने कारण नै नरहेको उनको जिकिर छ । उनी भन्छन्, ‘हामी सही छौं, हाम्रो विचार ठीक छ, एजेण्डा ठीक छन्, चिन्तन वैज्ञानिक छ भन्ने कुरा १० वर्षबाट समेत साबित गरेको अवस्थामा खुला परिवेशमा पनि मुद्दाका हिसाबले माओवादी नै अहिले पनि प्रभावी रहेको आधार हामीकहाँ छ । यही आधारको जगमा टेकेर आन्तरिक कुराहरु हल गर्ने हो भने हामी पहिलो हुन सक्छौं ।’

सबै दलका दलाल सिंहदरबारमा
जिल्ला नेताहरू सिंहदरबार धाउने प्रवृत्ति पनि प्रणालीको विकास नहुँदा विकास भएको गलत प्रवृत्ति रहेको उनको ठहर छ । ‘व्यक्ति–व्यक्तिका पार्टी छन्, त्यसैले जनताको विकासभन्दा पनि आफ्नो वृत्तिविकास हुनेतर्फ कतिपयले हेर्न थालेका छन् । वास्तवमा सिंहदरबारभित्र सबै दलका दलालहरू छन् । विचौलिया छन् । यी विचौलियाले मन्त्रीलाई समेत घेराबन्दी गरेका हुन्छन् । यो घेरा चिरेर पार्टी र प्रणाली स्थापित गर्न मन्त्रीहरूको समेत भूमिका हुन्छ ।

मुख्य कुरा जनता र पार्टी हो । यो तरिकाले २–४ दिन राम्रो होला, तर यसले दीर्घकालसम्म राम्रो गर्दैन । हरेक निर्णय र पहल पार्टी प्रणालीबाट भएर जाने र मन्त्रीहरूले त्यही अनुरुपको निर्णय गरेर जनतासम्म पुग्ने विधि विकास आवश्यक छ । अब चाहिँ जनमुखी र कार्यकर्तामुखी नभएसम्म अगाडि बढ्न सकिन्न । अब आन्तरिक प्रतिष्पर्धाको प्रणाली समेत विकास हुनुपर्छ । यो कुरा हरेक क्षेत्रमा लागू हुन्छ । ७ नम्बर प्रदेशदेखि अन्य सबै प्रदेशमा पार्टीभित्र पद्दतीको विकास आवश्यक छ ।’


सम्बन्धित