१७५ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण १९ बिहीबार, ११:३८ बजे

शुक्लाफाँटा उत्कृष्ट पर्यटन गन्तव्य

Image

२०७३ फागुन २० गते औपचारिक कार्यक्रमबीच आरक्षबाट राष्ट्रिय निकुञ्जका रुपमा घोषणा गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई विभिन्न दृष्टिकोणबाट एउटा उत्कृष्ट पर्यटन गन्तव्यका रुपमा लैजान सकिने देखिन्छ । आरक्ष हुँदा नै पनि आन्तरिक र बाह्य पर्यटकहरू आइरहने यस ठाउँमा अब निकुञ्ज घोषणा पश्चात् अझैं राम्रोसँग यसलाई पर्यटन उद्योगमा जोड्न सकिने हो भने मलाई लाग्छ ।

सुन्दर सुदूरपश्चिम भन्ने नाराको बजनलाई बढाउन ‘हाम्रो शुक्लाफाँटा, राम्रो शुक्लाफाँटा’ नाराले महत्वपूर्ण भूमिका खेल्ने छ । शुक्लाफाँटा पर्यापर्यटनका हिसाबले भरिपूर्ण विविधतामा एकता भएको पर्यटकीय गन्तव्य हो । जहाँ विशाल घासे मैदान छ, जहाँ विश्वकै सबैभन्दा ठूलो बाह्रसिङ्गेको बथान रहेको छ र आगन्तुक पाहुनालाई त्यो बथानले स्वागत गर्दछ ।

जैविक विविधताको लागि यो राष्ट्रिय निकुञ्ज परिचित भएको छ । जहाँ रानीताल किनारा छेउँको मुचाङ्गमा चढी रमणीय तालको सौन्दर्यतासँग हामी आफ्ना भावना साट्न सक्छौं भने विश्वमै दुर्लभ मानिएको एकसिङ्गे गैडाको दर्शन गर्न पनि भ्याउने छौं । त्यसै प्रकारले बाउन्ने नदीको पुलमा उभिई घडियाल गोही, विभिन्न प्रजातिका माछाको झुण्डको अवलोकन गर्न सकिन्छ भने बाबातालतिर पुग्दा विभिन्न दुर्लभ प्रजातिका चराको अवलोकन गर्न सकिन्छ । त्यसै प्रकारले विश्वमै दुर्लभ मानिने बाघ हेर्न सक्छौं भने राजाकालीन शिलालेख भएको स्तम्भको अवलोकन गर्न सकिन्छ ।

शुक्लाफाँटा अवलोकन गर्न हात्ती सफारी गर्न सकिन्छ । शुक्लाफाँटा घुम्न हामी जीप र बसलाई पनि प्रयोग गर्न सक्छौं, जसलाई भित्र प्रवेशका लागि तोकिएको राजश्व तिरेर जान सकिन्छ । शुक्लाफाँटा भम्रणका साथसाथै निकुञ्जको मुल गेटबाट करिव ६ किलोमिटर पश्चिममा रहेको एसियाकै नमूना मानिने झोलुङ्गे पुलको अवलोकन गर्न सकिन्छ भने महाकाली नदीको बहावको अवलोकन गर्न सकिन्छ । यस क्षेत्रलाई पर्यटकसम्म जोड्न हाललाई सडक सञ्जाल मात्रै छ भने राष्ट्रिय निकुञ्जको मूलगेट अगाडि रहेको विमानस्थललाई सुचारु गर्नुपर्ने देखिन्छ । विमानस्थल सञ्चालनमा आउन सके मात्रै पनि पर्यटन उद्योगले फड्को मार्ने देखिन्छ ।

छिमेकी राष्ट्र भारतको राजधानी दिल्लीबाट करिब ३ सय ३५ किलोमिटरको दुरीमा रहेको यस निकुञ्जले भारतका विभिन्न शहरहरू लखनऊ, नैनिताल, देहरादुन आदि ठाउँबाट समेत पर्यटन भित्र्याउन सकिने छ । यस निकुञ्जको अवलोकन गर्न आउने बाह्य पर्यटकलाई मझगाउँ विमानस्थलबाट हवाईजहाजको माध्यमबाट हामी देशका विभिन्न धार्मिक, प्राकृतिक पर्यटन गन्तव्यसम्म लैजान सक्ने छौं ।

जसकारणले हामी आर्थिक हिसाबले सम्पन्न हुने बाटोतिर विकासका लागि पर्यटन उद्योग मात्रै एउटा भरपर्दो उद्योगका रुपमा फस्टाउन सकिने देखिन्छ भने पर्यटन उद्योगका लागि सडकका स्तरोन्नति हुनुपर्ने जरुरी छ । मझगाउँमा रहेको विमानस्थल अविलम्ब सञ्चालन गर्नुको अर्को विकल्प नरहेको कुरा सबैलाई थाहा छ । तर, यसलाई सञ्चालन गराउनमा सरकार खुट्टा किन कमाउँछ ? कसैलाई थाहा छैन ।


About Author
-राजेन्द्रबहादुर चन्द

सम्बन्धित