२५९० पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण १९ , १०:३६ बजे

कता बेपत्ता भए कलुवापुर–बेलौरी सडक बनाउनुपर्ने ठेकेदार ?

Image

महेन्द्रनगर  । रणनैतिक महत्वको कलुवापुर–बेलौरी सडकखण्डमा कालोपत्रे गर्ने ठेक्का लिएका निर्माण व्यवसायी विगत १ वर्षदेखि बेपत्ता भएका छन् ।

ठेकेदारले जिम्मेवारी छाडेर बेपत्ता भएपछि कालोपत्रेको काम अलपत्र परेको छ । सडक कालोपत्रेको ठेक्का स्वीकृत भएको १ वर्ष बितिसक्दा पनि सडक कालोपत्रे हुने कुनै सुरसार देखिएको छैन । डिभिजन सडक कार्यालय महेन्द्रनगरको रणनैतिक सडक योजना अन्तर्गत २ प्याकेजमा काम सञ्चालन गरेर २०७५ असार मसान्त कालोपत्रे सम्पन्न गरिसक्ने सम्झौता भएको थियो ।

डिभिजन सडक कार्यालय महेन्द्रनगरका इन्जिनियर तथा सूचना अधिकारी खगेन्द्रबहादुर शाहीले २० करोड रुपैयाँ बढी लागत रहेको सडक कालोपत्रेका लागि पहिलो २०७३ असार १७ गते र दोस्रो २०७३ भदौं १७ गरेर २ प्याकेजमा सन्तोषी थेगिम जेभीसँग सम्झौता भएको बताए । ‘१० करोड १७ लाख रुपैयाँ लागत रहेको पहिलो प्याकेजमा गत वर्ष ५ करोड रुपैयाँ बजेट निकासा गरिएको भएपनि त्यसको १२ प्रतिशत मात्र खर्च भएको छ,’ उनले भने ।

दोस्रो प्याकेजमा १० करोडभन्दा बढी लागत रहेको जनाइएको छ । तर, सडकमा केही भौतिक प्रगति भएपनि कालोपत्रेको काम सुचारु भएको छैन । ‘१२ प्रतिशत बजेट पनि सडकको नाली, पर्खाल बनाउनमा खर्च भएको देखिएको छ,’ इन्जिनियर शाहीले भने । २८ दशमलव ८३ किलोमिटर लम्बाई रहेको उक्त सडकको ठाउँठाउँमा खाल्डाखुल्डी परेका छन् । वर्षात्मा यात्रुले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । ठेक्का सम्झौता भएको १ वर्षसम्म पनि कालोपत्रेको काम सुचारु नभएको सडकको निर्माण कार्य अढाई वर्षमा सम्पन्न हुनेमा आशंका गरिएको छ ।

डिभिजन सडक कार्यालयका इन्जिनियर खगेन्द्रबहादुर शाहीले बेला–बेला ठेकेदारलाई काम गर्न निर्देशन दिइएको दावी गरे । विस्तृत जानकारी ठेकेदारसँग नै लिन इन्जिनियरले आग्रह गरे । निर्माणको जिम्मा पाएको सन्तोषी थेगिम जेभीका सञ्चालक सुनिल थापालाई सम्पर्क गर्न खोज्दा उनको फोन उठेन । दैनिक मानसखण्डको कार्यालयबाट गरिएको फोन उनले काटिदिए । २०७५ असार १५ गतेभित्र सडक कालोपत्रेको काम सम्पन्न गर्ने गरी ठेकेदारसँग सम्झौता भएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

कलुवापुर–बेलौरी सडक कञ्चनपुरको दक्षिणी क्षेत्रका सर्वसाधारणको यात्रा गर्ने प्रमुख सडक हो । दक्षिणी क्षेत्रका सर्वसाधारणले उक्त सडकको कालोपत्रेका लागि सांसद र मन्त्रीलाई भेट्नेदेखि सिंहदरवारसम्म धाइसकेका छन् । समयमै सडक कालोपत्रे नभएका कारण सर्वसाधारणले हिलाम्य सडकमा यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।