४८५ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण १८ , १०:४० बजे

साउन २२ गते जिसस कञ्चनपुरको निर्वाचन

Image

महेन्द्रनगर । कञ्चनपुरको जिल्ला समन्वय समिति (जिसस) गठनका लागि साउन २२ गते निर्वाचन हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरले मंगलबार मतदाता नामावली प्रकाशन गरिएकाले निर्वाचन प्रक्रिया अगाडि बढेको जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका नायब सुब्बा अम्बादत्त भट्टले समन्वय समितिको निर्वाचनमा मतदान गर्ने कञ्चनपुरका ९ वटै तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षको मतदाता नामावली प्रकाशन गरिएको जानकारी दिँदै २२ गते बिहान १० देखि दिउँसो १ बजेसम्म मतदान तालिका तोकिएको बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले साउन १८ गते संशोधित मतदाता नामावली प्रकाशन गर्ने, मतदाताको विरोधमा उजुरी दिने र अन्तिम नामावली प्रकाशन गर्ने, १९ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने तथा मनोनयन दर्ता भएका उम्मेदवारको सूचि प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

२० गते उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्रको जाँच र उजुरी उपर निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेको भट्टले बताए । उनका अनुसार २१ गते उम्मेदवारले नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह प्रदान गर्ने तथा २२ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुनेछ ।

मतदान कार्य सम्पन्न भएपछि यथाशक्य छिटो मतगणना गरी परिणाम घोषणा गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 


About Author
-मानसखण्ड