३११ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण १८ , १०:२३ बजे

कांग्रेसको गोदावरी नगर कमिटीभित्र  आरोप–प्रत्यारोपको दोहोरी

Image

धनगढी । नेपाली कांग्रेस गोदावरी नगर कार्यसमितिले स्थानीय तह निवार्चनमा अन्तर्घात गरेको भन्दै सांसदलाई समेत पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गर्न सिफारिस गरेपछि नगर कमिटीमा दोहोरी चलेको छ ।

गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीभित्रै अन्तर्घात गरेर आफ्नै पार्टीका उम्मेदवारलाई हराएको आरोप लगाउँदै नेपाली कांग्रेसका गोदावरी नगर सभापति हेमप्रकाश उप्रेतिले कैलाली क्षेत्र नम्बर ५ का प्रत्यक्ष निर्वाचित सांसद दीर्घराज भाटसहित ६ जनालाई कारवाहीको लागि जिल्ला कार्यसमितिमा सिफारिस गरे । नगर सभापति उप्रेतिको अध्यक्षतामा साउन १३ गते बसेको पार्टीको नगर कमिटीकोे बैठकले पार्टी हित विपरीत काम गरेको भन्दै सांसद दीर्घराज भाटसहित ६ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिस गरेको थियोे ।

नगर कमिटीले जिल्ला कार्यसमितिलाई गरेको सिफारिसमा सांसद भाटसहित महाधिवेशन प्रतिनिधि उत्तम कठायत, जिल्ला कार्यसमिति सदस्य वसन्त रोकाय, पूर्वक्षेत्रीय सदस्य धनिराम पनेरु, किसान संघ जिल्ला अध्यक्ष टिकादत्त जोशी र महाधिवेशन प्रतिनिधि रामचन्द्र ओझालाई कारवाही गर्न भनेको थियो । नगर सभापति हेमप्रकाश उप्रेतिले हस्ताक्षर गरेको सिफारिस पत्रमा केन्द्रीय पार्टी सभापति र महामन्त्रीलाई बोधार्थ समेत पठाएर जिल्ला कार्यसमिति समक्ष कारवाहीको सिफारिसको लागि अनुरोध गरिएको थियो ।

त्यसविरुद्ध कारवाहीको लागि सिफारिसमा परेका व्यक्तिले मंगलबार विज्ञप्ति जारी गर्दै पदीय हैसियत गुमाएका गोदावरी नगर कमिटी सभापतिले आफूहरूलाई कारवाहीको माग गर्नु हाँस्यस्पद रहेको टिप्पणी गरेका छन् । मंगलबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै महाधिवेशन प्रतिनिधि उत्तम कठायत, जिल्ला कार्यसमिति सदस्य वसन्त रोकाय, पूर्वक्षेत्रीय सदस्य धनिराम पनेरु, किसान संघ जिल्ला अध्यक्ष टिकादत्त जोशी र महाधिवेशन प्रतिनिधि रामचन्द्र ओझाले उल्टै नगर सभापतिको जिम्मेवारीमा रहेका उप्रेतिले पार्टी विधान र हित विपरीत काम गरेको आरोप लगाएका छन् । ‘आफूहरूको मानमर्दन, प्रतिष्ठा तथा पार्टीको गरिमामा आँच आउने काम गरिएकाले नगर सभापति उप्रेतिको सिफारिसप्रति खेद प्रकट गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेसको तर्फबाट गोदावरी नगरपालिकामा उम्मेदवार रहेका व्यक्ति तथा वडा अध्यक्षले गोदावरी नगर सभापति हेमप्रकाश उप्रेति लगायत ७० जनाले निर्वाचनमा अन्तर्घात गरेकाले गोदावरी नगरपालिकामा पार्टीले पराजय भोग्नुपरेको भन्दै कारवाहीको माग गरेर सिफारिसको लागि कैलाली क्षेत्र नम्बर ५ को क्षेत्रीय समितिलाई पत्र लेखेको थिए ।