६७६ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण १८ बुधबार, ०९:५९ बजे

जिसस अछामको अध्यक्षमा कांग्रेस नेता कुँवर निर्विरोध

Image

अछाम । जिल्ला समन्वय समिति (जिसस) अछामको अध्यक्षमा नेपाली कांग्रेसका नेता नरबहादुर कुँवर निर्विरोध निर्वाचित भएका छन् ।

नेकपा एमाले लगायत अन्य कुनै पनि दलले मनोनयन दर्ता नगरेपछि नेपाली कांग्रेस–माओवादी गठबन्धनको ९ सदस्यीय समिति निर्विरोध चयन भएको हो । अध्यक्षमा निर्विरोध भएका कुँवर साँफेबगर नगरपालिका–३ का निर्वाचित वडा सदस्य हुन् । नेपाली कांग्रेसबाट वडा सदस्य निर्वाचित टोपबहादुर रावल स्वतन्त्रबाट निर्विरोध उपाध्यक्षमा चयन भएका छन् । सदस्यमा नेपाली कांग्रेसबाट लक्ष्मी शाह, तुलसी चलाउने, शिव तिरुवा, तुलाराम साँउद र सुरत बुढथापा रहेका छन् भने माओवादी केन्द्रबाट खगेन्द्र साउँद र लक्ष्मीकुमारी सुनार रहेका छन् ।

जिल्ला समन्वय समिति अछाममा अध्यक्ष, उपाध्यक्ष र सदस्य चयन भएका व्यक्तिको वडा सदस्य पद रिक्त रहने भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले जिल्ला समन्वय समिति अध्यक्ष बनाउने विषयमा निर्णय गर्न नसक्दा नरबहादुर कुँवर, टोपबहादुर रावल र वेदप्रकाश तिमिल्सिनाको नाम केन्द्रमा पठाइएको थियो ।  मंगलबार बिहान कुँवरलाई संयोजक बनाउन पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको हस्ताक्षरसहितको पत्र फ्याक्स आएपछि अध्यक्षको उम्मेदवार कुँवर बनेका हुन् ।

अछाममा स्थानीय निर्वाचन अन्तर्गत जिसस गठनमा २० मध्ये ११ भोट कांग्रेससँगै रहेका थिए । जिसस गठनका लागि नेपाली कांग्रेसका ११, नेकपा एमालेका ५, माओवादी केन्द्रका ४ भोट थियो । नेपाली कांग्रेसले कमलबजार र पञ्चदेवल–विनायक नगरपालिका तथा तुर्माखाँद र ढकारी गाउँपालिकामा प्रमुख र उपप्रमुख दुबै जितेको छ ।

उसले माओवादी केन्द्रसँगको गठबन्धनमा बान्नीगढी–जयगढ गाउँपालिकामा प्रमुख र मेल्लेख गाउँपालिकामा उपप्रमुख जितेको छ । उता, चौरपाटी गाउँपालिकामा कांग्रेसकै उपाध्यक्षले चुनाव जितेका छन् । नेकपा एमालेले भने सदरमुकाम मंगलसेन, प्रमुख व्यापारिक केन्द्र साँफेबगरमा प्रमुख र उपप्रमुख दुबै जितेको छ भने चौरपाटी गाउँपालिकामा प्रमुख मात्र एमालेसँग छ ।  

नेकपा माओवादी केन्द्रले रामारोशन गाउँपालिकामा प्रमुख र उपप्रमुख दुबै जितेको छ भने नेपाली कांग्रेससँगको गठबन्धनमा मेल्लेख गाउँपालिकामा प्रमुख र बान्नीगढी जयगढ गाउँपालिकामा उपप्रमुख जितेको छ । दोस्रो संविधानसभा निर्वाचनमा दुबै क्षेत्र जितेको नेकपा एमालेले जिससमा उम्मेदवारी नै दिएन ।

नेपाली कांग्रेसको स्पष्ट बहुमत र माओवादी केन्द्रको गठबन्धन भएपछि उसले उम्मेदवारी नै दर्ता नगरेको एमाले अछामले जानकारी दिएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच जिल्ला समन्वय समितिमा सहकार्य गरेर जाने अघिल्लो महिनामा नै हस्ताक्षर भइसकेको छ ।

 


About Author
-विष्णुप्रसाद भण्डारी