४८९ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण १७ , १८:०१ बजे

‘मुक्त कमैयालाई सीपअनुसारको रोजगारी’

Image

भीमदत्तनगर । किचाही मुक्तकमैया शिविरका ३० वर्षीया रमिता राना (बडायक) कञ्चनपुरको कृष्णपुर नगरपालिकाको उपप्रमुखमा निर्वाचित भइन् । उनी विगतमा कृष्णपुर नगरपालिका– ४ किचाही मुक्तकमैया शिविरमा श्रीमान् वीरबहादुर रानासँगै पसल सञ्चालन गरी गुजारा चलाउँदै आएकी थिइन् । तर अब रमिताको परिचय फेरिएको छ ।

रमिता कृष्णपुर नगरपालिकाको उपप्रमुख बनिन् । उनी राना थारु समुदायबाट उपप्रमुख पदमा पुग्ने मुलुककै पहिलो महिला बनेकी छिन् । उपप्रमुख रानाले नगरपालिकाको विकाससँगै आफ्नो समुदाय र मुक्तकमैया, बाढीपीडितलगायत निम्नआयस्तर भएका समुदायका लागि रोजगारको पहल थाल्ने बताइन् ।

मुक्तकमैया बस्तीको पीडा र अभावका विषयमा स्वयम् जानकार रहेकाले उनले मुक्तकमैयालाई सीपमूलक तालिम दिई रोजगारका लागि पहल थाल्ने बताइन् । मुक्तकमैया शिविरमा सडक निर्माण र सुधार कार्य थाल्ने राना बताउछिन् ।

सात वर्षअघि वीरबहादुरसँग विवाह गरेर मुक्तकमैया शिविर पुगेकी उपप्रमुख रानाले राना थारु समुदायको हकहित संरक्षण तथा सामाजिक, शैक्षिकलगायत सुधारका लागि विशेष पहल गर्ने योजना बनाएकी छिन् । आर्थिक अभाव र बेरोजगारीका कारण राना र चौधरी समुदायका विद्यार्थी बीचमै पढाइ छाड्छन् । उनले कृष्णपुरमा थारु संग्रहालय बनाउन पहल थाल्ने बताइन् ।

आदिवासी जनजाति संघ/संस्था हुँदै नेकपा एमालेको राजनीतिमा प्रवेश गरेकी रानाले प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेकी छिन् । “मुक्तकमैयालाई सरकारले उपलब्ध गराएको पाँच कट्ठा जग्गाले खान पुग्दैन,” उनले भनिन् । थारु संस्कृती जगेर्ना गर्न भकुण्डामा थारु संग्रहालय निर्माण भइरहेको बताउँदै रानाले थारु संस्कृति लोप हुँदै गइरहेकोप्रति चिन्ता व्यक्त गरिन् ।

स्थानीय तहको निर्वाचनमा सात हजार १८ मतसहित उपप्रमुखमा विजयी रानाका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार भुवनेश्वरी जोशीले पाँच हजार ९२८ मत पाएकी थिइन् ।


About Author
-रासस

राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार एजेन्सी हो । यो नेपाल सरकारको पूर्ण स्वामित्व रहेको संस्थान हो ।