५३८ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण १७ , १०:५४ बजे

आयोगले काम नथाल्दै अछाममा विरोध

Image

अछाम । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्धारण आयोगले जिल्ला–जिल्लामा काम नथाल्दै अछाममा विरोध सुरु भएको छ ।

कमलजबार नगरपालिकाको बैठकले जिल्लाको कमलजबार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकालाई एउटै निर्वाचन क्षेत्र बनाउन माग गर्दै माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । बैठकले आगामी प्रदेश सभा चुनावका लागि कमलजबार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकालाई एक निर्वाचन क्षेत्र कायम गरिनुपर्ने माग गरेको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत रमणप्रसाद भण्डारी जानकारी दिए ।

‘कडा कदम चाल्न बाध्य नपार्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ,’ उनले भने, ‘यदि निर्वाचन क्षेत्र निर्धारण आयोगले १ निर्वाचन क्षेत्र कायम नगरे त्यसविरुद्ध कडाभन्दा कडा आन्दोलन थाल्ने चेतावनी समेत नगरपालिकाको कार्यकारिणी समिति बैठकले दिएको छ ।’

नगर प्रमुख ओमप्रकाश विष्टको अध्यक्षतमा भएको बैठकमा उपप्रमुख भुमिसरा बजगाईसहित १० वटै वडाका वडाध्यक्ष र प्रमुख राजनीतिक दलका प्रमुख एवम् प्रनिनिधिको उपस्थिति रहेको थियो । सरकारले आफ्नो मागको सुनुवाई नगरे आन्दोलन थाल्ने नगर प्रमुख बिष्टले बताए ।