६२७ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण १७ , १०:३६ बजे

वसन्ता करिडोरको २१ हेक्टर अतिक्रमित वन क्षेत्र खाली

Image

धनगढी । कैलालीको रतनपुरमा पर्ने अन्तर्राष्ट्रिय महत्व बोकेको वसन्ता जैविक करिडोर क्षेत्रको २१ हेक्टर अतिक्रमित वन क्षेत्र खाली गराइएको छ ।

जिल्ला वन कार्यालय कैलालीको सहकार्य र वसन्ता सामुदायिक वनको सक्रियतामा उक्त अतिक्रमित वन क्षेत्रको जग्गा खाली गराइएको हो । खाली गराइएको २१ हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातिका करिब १२ सय विरुवा वृक्षारोपण गरिएको वसन्ता सामुदायिक वनका अध्यक्ष बाबुराम चौधरीले बताए ।

‘खुला चरिचरण, मानव अतिक्रमण, चोरी तस्करीजस्ता कारण अन्तर्राष्ट्रिय महत्वको जैविक करिडोर संकटमा पर्दै गएपछि क्षेत्रको संरक्षण गर्ने कोसिस भइरहेको छ,’ उनले भने, ‘अहिले धेरै लामो प्रयासपछि करिब २१ हेक्टर अतिक्रमित वन क्षेत्र खाली गराइएतापनि अझैं ७० हेक्टर बढी अन्तर्राष्ट्रिय महत्व बोकेको वसन्ता जैविक करिडोरको वन क्षेत्र अतिक्रमित अवस्थामा छ ।’

अतिक्रमित क्षेत्रमा रहेको सबै अतिक्रमित वन क्षेत्र खाली गराएर पर्यटकीय स्थलमा विकास गर्ने लक्ष्य रहेका वसन्ता सामुदायिक वनको कोषाध्यक्ष जनकलाल चौधरीले बताए । ‘वसन्ता जैविक करिडोर क्षेत्रको नजिकै रहेको भारतको दुधुवा राष्ट्रिय निकुञ्ज, स्थानीय मोहना नदी क्षेत्र र वसन्ता जैविक करिडोरको करिब ४५ हेक्टर घाँसे मैदानमा देखिने विभिन्न प्रजातिका जनावर हेर्ने भ्यू टावर निर्माणको योजना रहेको छ,’ उनले भने, ‘पर्यटकलाई आकर्षण गर्न सबै अतिक्रमित वन क्षेत्र खाली गराएर वृक्षारोपण गरी हराभरा बनाउने र होमस्टे समेत सञ्चालन गर्ने तयारी छ ।’

वन अतिक्रमणले कैलालीमा वन्यजन्तुले ओहोरदोहोरका लागि प्रयोग गर्ने जैविक मार्ग पनि नासिँदै गएको छ । तीब्र वन अतिक्रमण र मानववस्ती वन जंगल छेउछाउमा सर्दै जानुले जैविक मार्ग नासिँदै गएकोे हो । भारतको दुधुवा नेसनल पार्क र कैलालीकै ठूलो वन वसन्ता वनको जैविक सम्बन्ध अतिक्रमणकै कारण विच्छेद हुने अवस्थामा पुगेको छ । वसन्ता वनले दुधुवा र नेपालको बर्दिया, बाँके राष्ट्रिय निकुञ्जलाई समेत जोड्ने काम गर्दछ । वसन्तालाई अन्तर्राष्ट्रिय महत्वको जैविक मार्गको रुपमा चिन्ने गरिन्छ ।

नेपाल–भारत दुबै देशमा मानव वस्ती वनजंगल छेउछाउमा सर्दै गएपछि जैविक मार्ग संकटमा पर्न थालेको हो । मानव बसोबासले दुधुवा–वसन्ताबीच ओहोरदोहोर हुने जंगली जनावरको बाटो छेकिएको छ । कैलालीमा केही सीमित ठाउँबाहेक अब दुधुवा नेसनल पार्कबाट स्वतन्त्र रुपमा नेपालको जंगलमा वन्यजन्तु आउन सक्ने अवस्था छैन । पश्चिम क्षेत्र धनगढीदेखि पूर्व कैलारी गाउँपालिकासम्म घना मानव वस्ती रहेको छ ।

कैलारी गाउँपालिकाको रतपुरदेखि पूर्व क्षेत्र भजनीत्रिशक्ति नगरपालिकाको लालबोझीसम्म नेपालतिर बाटो खुला रहेपनि भारतमा मानव वस्तीले जनावरको बाटो छेकिएको छ । हिजोआज वसन्ता वनमा आउनका लागि जंगली जनावरले बढीजसो रतनपुर र केही मात्रामा पवेरा क्षेत्रको बाटो प्रयोग गर्ने गरेका जिल्ला वन कार्यालय कैलालीमा कार्यरत रेञ्जर रामऔतार चौधरीले बताए ।

‘नेपालको वसन्ता वनभन्दा भारतको दुधुवा नेशनल पार्कमा वन्यजन्तुको राम्रो उपस्थिति रहेको छ । उता संरक्षणमा कडाइ गरिएकाले वन्यजन्तुको उपस्थिति राम्रो भएको हो । दुधुवामा वन्यजन्तुको संख्या राम्रो रहेकाले तुलनात्मक रुपमा उतैबाट बढी मात्रामा जंगली हात्ती, बाघ र बंदेल लगायतका वन्यजन्तु वसन्ता वनमा आउने गरेका छन्,’ उनले भने ।

जंगली जनावरले रतनपुरको छटकपुर, वसन्ता र भुइयाँफाँटाबीचमा रहेको सिसम नर्सरी बाटो र रामपुर तथा विपतपुर मुक्त कमैंया बस्ती आसपासको बाटो प्रयोग गर्ने गरेका छन् । बीचबीचमा बाटो छेकिएकाले जंगली हात्तीले सोही क्षेत्रमा भौतिक संरचना तथा खेतमा बढी क्षति पु¥याउने गरेको स्थानीयवासी बताउँछन् ।

२०६४ र ०६५ सालमा आएको ठूलो बाढीले प्रभावित मानव वस्ती वसन्ता वन छेउछाउमा पुगेको छ । केही स्थानमा वन क्षेत्रमै मानव बसोबास भएको छ । स्थानीय वस्तीहरु बाढी पूर्व वसन्ता र दुधुवाबीचमा रहेको मोहना नदी आसपासमा रहेको थियो । जिल्ला वन कार्यालय कैलालीका अनुसार कैलालीमा २ लाख ५ हजार ९ सय ३९ हेक्टर वनक्षेत्र रहेकोमा हाल करिब २२ हजार हेक्टर वनक्षेत्र अतिक्रमण भएको छ । जसमध्ये सबैभन्दा बढी अतिक्रमण वसन्ता क्षेत्रमा रहेको छ ।

वन्यजन्तुको जैविक मार्ग छेकिएमा दुधुवा–वसन्ता र बर्दिया निकुञ्जमा ठूला वन्यजन्तुको ओहोरदोहोर हुन नसक्ने कैलालीका जिल्ला वन अधिकृत डा. राजेन्द्र केसीले बताए । आवतजावतको अवरोधले नेपालमा रहेका जनावर र दुधुवाका जनावरबीच जैविक मिलन हुन नसक्ने उनले बताए । ‘यताउताका जन्तुको ओहोरदोहोरले जैविक अन्तक्र्रिया हुने गरेको छ,’ उनले भने, ‘ओहोरदोहोर हुन सकेन भने त्यो कार्य हुँदैन ।’ जैविक मार्ग संरक्षणका लागि सबै जुर्मुराउनुपर्ने औल्याउँदै वातावरणमैत्री संरचनाको निर्माण गर्न आवश्यक रहेको उनले बताए ।