२१४ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण १६ , ०८:०० बजे

असार सकिएपनि बैंकको भीडभाड कायमै

Image

अछाम । सरकारी बैंक एक मात्रै भएका कारण अछामममा रहेको राष्ट्रिय वाणिज्य बैंकमा असार सकिएपनि भीडभाड कायमै रहेको छ ।

असार मसान्तमा बढी आर्थिक कारोबार हुने भएकाले भीडभाडलाई सामान्य मानिएपनि साउन तेस्रो हप्ता सुरु भइसक्दा समेत बैंकको भीड हटेको छैन । एउटै बैंकले असारमै सेवा दिन नसकेका कारण भीडभाड कायमै रहेको सेवाग्राहीले बताएका छन् । बैंकले आधुनिक प्रविधि अवलम्बन गर्न नसक्दा सामान्य कामका लागि पनि सेवाग्राहीको बैंकमै भीड लाग्ने गरेको अछामको पञ्चदेवल विनायक नगरपालिका निवासी नमराज न्यौपानेले बताए । ‘बैंकिङ सेवा छिटोछरितो ढंगले प्रवाह गर्नका बैंकले एटीएम सञ्चालन गर्नुपर्ने र टोक्न प्रणाली लागू गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘जिल्लाको विनायक, कमलबजार, मुजाबगर लगायत स्थानमा बैंकको शाखा विस्तार हुनुपर्छ ।’

अछाममा वाणिज्य बैंकको एक मात्र शाखा भएकाले पनि सेवाग्राहीलाई समस्या भइरहेको बताउँदै जिल्ला नापी कार्यालय अछामका लेखापाल दिपकप्रसाद भण्डारीले जिल्लाका विभिन्न ठाउँमा बैंकले शाखा विस्तार गर्नुपर्नेमा जोड दिए । जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा वाणिज्य बैंकका शाखा हुनुपर्ने उनको माग छ ।

कर्मचारी अभावका कारण बैंकमा सेवाग्राहीको भीडभाड व्यवस्थापनमा कठिनाइ हुने गरेको राष्ट्रिय वाणिज्य बैंक अछाम शाखाका निमित्त शाखा प्रबन्धक पूर्णबहादुर कुँवरले बताए । ‘बैंकमा बेलाबेलामा हुने मौसमी भीडभाड व्यवस्थापनका लागि अन्य शाखाबाट काजमा समेत कर्मचारी मगाउने गरिन्छ,’ उनले भने ।

बयलपाटामा तत्कालै वाणिज्य बैंकको शाखा सञ्चालनमा आउन लागेको बताउँदै उनले शाखा विस्तार भएमा वाणिज्य बैंकको मंगलसेन शाखामा हाल दिनहुँ जसो हुने भीडभाड कम हुने विश्वास व्यक्त गरे । वाणिज्य बैंक केन्द्रले बयलापटामा शाखा सञ्चालन गर्ने निर्णय गरिसकेकाले छिट्टै उक्त शाखा सञ्चालनमा आउने उनले बताए । साँफेबगर, कमलबजार र विनायक लगायत अन्य स्थानमा भने तत्काल बैंकको शाखा विस्तार गर्ने कुनै पनि योजना नरहेको उनले बताए । हाल अछाम जिल्लामा सदरमुकाम मंगलसेनस्थित राष्ट्रिय वाणिज्य बैंकको १ मात्र शाखा सञ्चालनमा रहेको छ ।

प्रमुख व्यापारिक केन्द्र साँफेबगर, व्यापारिक केन्द्रहरू कमलबजार, विनायक, जयगढ, बयलपाटा, मुजाबगर, गैरीटाँड, ढकारी लगायतका स्थानमा राष्ट्रिय वाणिज्य बैंकको शाखा आवश्यक रहेको स्थानीयको भनाई छ । सरकारी बैंक भएकाले पनि अधिकांश बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकबाटै हुन्छन् ।

 


About Author
-मानसखण्ड