८५१ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण १५ , १०:३७ बजे

ऐतिहासिक पुराण मानसखण्ड संहिताको अभिनव प्रयोग

Image

‘इतिहास पुराणां तु पञ्चमो वेदमुच्यते’ अर्थात् इतिहास तथा पुराणलाई पाँचौ वेद भनिन्छ । ऋग्वेद, यज्ञुर्वेद, सामवेद र अथर्ववेद गरी ४ वटा वेद प्रसिद्ध छन् । वेद भनेको जान्नु हो, चिन्नु हो, जीव जगत् र ईश्वरको पहिचान गराउने शास्त्र नै वेद हो । रामायण तथा महाभारत इतिहासभित्र पर्दछन् भने विभिन्न देवी–देवता एवम् अन्य आचार विचारका उपदेश रहेका १८ प्रकारका आख्यानात्मक ग्रन्थहरू पुराण अन्तर्गत पर्दछन् ।

महर्षि वाल्मीकिद्वारा लेखिएको रामायण एवम् महर्षि वेद व्यास रचित महाभारत ५ हजार वर्ष पहिलेको विश्वको इतिहास हो । प्राचीन कालीन राजा महाराजा, राज्य, क्षेत्र, देश, देशान्तरको स्पष्ट वर्णन गरिएको छ । रामायण आर्षग्रन्थ हो । रामायण कथा मात्र होइन, तत्कालीन समाज र संस्कृतिको दर्पण हो । महाभारत ५ हजार वर्ष पहिलेको विज्ञानको पराकाष्ठा हो । पुराणहरू पनि कथानक रुपमा लेखिएका इतिहास हुन्, जसले मानव समाजको यथार्थलाई परिभाषित गरेको छ । पुराना हुँदा हुँदै पनि सधै नौला रहिरहने हुनाले पुराण भनिएको हो । रामायण, महाभारत तथा पुराणले वैदिक ज्ञानलाई नै समयसापेक्ष हस्तान्तरण गर्ने हुनाले वेदकै बराबर मान्यता दिइएको छ । पाँचौ वेदका रुपमा यिनलाई लिइएको छ ।

पुराणको संख्या १८ रहेको छ । १८ पूर्णाङ्क हो । जसको योग ९ हुन्छ, ९ अंक मानव जीवनसँग जोडिएको छ । मानिसको शरीरमा ९ वटा प्वाल हुन्छन्, प्राचीन वास्तु विज्ञानका अनुसार ८ इँटाको जगमा भवन निर्माणको कुरा आएको छ । त्यसैले पुराना घरहरू १८÷१५ हात÷फिटका हुने गर्दथे । यस आधारमा १८ अंकको सम्बन्ध मानव जीवन तथा वास्तु विज्ञानसँग जोडिएको छ । त्यसैले पुराणको संख्या १८, महाभारत १८ दिन चल्यो, भगवत गीताका १८ अध्याय आदिले १८ अंकको आध्यात्मिक अर्थलाई दर्शाउँछ, पुराणमा पौराणिकता हुनुका साथै सामाजिक वर्णन पनि रहेको छ । त्यसैले सनातन परम्परामा पुराण सुन्ने सुनाउने प्राचीन परम्परा रहिआएको छ । भगवान विष्णुले ब्रह्माजीलाई सबैभन्दा पहिले पुराण सुनाएका हुन् भन्ने कुरा उल्लेख छ । यस आधारमा पुराण सुन्ने सुनाउने परम्पराको लामो इतिहास छ ।

१८ पुराणमा मत्स्य, मार्कण्येक, भागवत, भविष्य, ब्रह्म, ब्रह्माण्ड ब्रह्मवैवर्त, वामन, विष्णु, वायु (शिव), वराह, अग्नि, नारद, पद्म, लिङ्ग, गरुड, कूर्म, स्कन्द पुराण रहेका छन् । सबै पुराणको कुल संख्या ४ लाख रहेको छ, जसमध्ये सबैभन्दा बढी २ लोक रहेको पुराण स्कन्द हो । पुराणहरूमा अन्य विषयका अतिरिक्त ब्रह्मा, विष्णु, महेश, अग्नि र सूर्यको बारेमा वर्णन गरिएको छ । आधुनिक विद्वानले पुराणलाई विश्वकोष, तीर्थव्रत प्रतिपादक, सृष्टि, ऐतिहासिक, इष्टदेवता, प्रक्षितांश गरी ६ भागमा विभाजन गरेको छ ।

स्कन्दपुराण सबैभन्दा ठूलो हुनुका साथै सम्पूर्ण हिमालको वर्णन गरिएको ग्रन्थ हो । खण्डात्मक तथा संहितात्मक गरी स्कन्दपुराण २ प्रकारको छ । खण्डात्मकमा माहेश्वर, वैष्णव, ब्रह्म, काशी, आवन्त्य, प्रभास गरी ७ खण्ड रहेका छन् भने संहितात्मक स्कन्दपुराणमा सनत्कुमार, शंकर, ब्राह्म, सौर, वैष्णक र सूत गरी ६ प्रकारका रहेका छन् । यी ६ संहिताभित्र ५० खण्ड रहेका छन् । हाल प्रकाशित मानसखण्ड संहिता पनि सूत संहिताभित्र रहेका संकेत पाइन्छ । स्कन्द पुराण अन्तर्गतका धेरै संहिता तथा खण्डहरू हालसम्म पनि उपलब्ध छैनन् । यसैमध्ये केही संहिताहरू खण्डित रुपमा एक हो, यद्यपि प्रकाशित स्कन्दपुराणमा यो संहिता समावेश छैन । तर, श्रीमद् देवीभागवतको माहात्म्य मानसखण्ड संहिताकै रहेको हुनाले यसको प्राचीनता तथा सर्वस्वीर्यता प्रष्ट हुन्छ । वैंकटेश प्रेस तथा गीता प्रेसजस्ता प्रसिद्ध प्रकाशक संस्थाद्वारा मानसखण्डको केही भाग प्रकाशित गरिएको छ ।

मानसखण्ड संहिता प्रकाशनमा नआउने धेरै कारणहरू छन् । यो खण्ड विशेष गरेर काली–कर्णाली नदी वरपरको भूभागसँग सम्बन्धित तीर्थहरूको वर्णनले भरिएको छ । यो क्षेत्र पर्वतीय इलाकामा पर्दछ । अन्य क्षेत्रको तुलनामा यो भाग पिछडिएको छ । विकास सञ्चार तथा अन्य माध्यमले समेत पछि परेको हुनाले कसैको पनि मानसखण्ड संहिता अध्ययन अनुसन्धानतिर ध्यान गएन ।

प्राचीन हस्तलिखित प्रतिहरू सीमिति व्यक्तिसँग रहेकाले त्यसको प्रचारप्रसारमा कमी आयो । कतिपय संग्रहकर्ताले ‘मानसखण्ड’को प्रति देखाउन नखोज्नुजस्ता कारणले पनि प्रकाशनमा आएन । स्वदेशी विदेशी इतिहासकारको पहुँचभन्दा पर रह्यो, कुमाउँका इतिहासकार बद्रीदत्त पाण्डेय, अटकिसनजस्ता पाश्चात्य इतिहासकारहरूले मानसखण्डको बारेमा धेरथोर लेखेका छन् । तर, नेपाली इतिहासकारहरू योगी नरहरि नाथको समेत मानसखण्डमा दृष्टि नपर्नु बिडम्बनाको विषय हो ।

अन्य इतिहासकार तथा विद्वानले त्यति कलमै चलाएको पाइँदैन । डोटी शैलेश्वरी तथा अछाम बैद्यनाथ क्षेत्रका कतिपय विद्वानहरू मानसखण्डसँग परिचित थिए । जबकि मानसखण्डभित्र सम्पूर्ण ७ नम्बर प्रदेशको वर्णन गरिएको छ । कर्णाली प्रदेशलाई पनि छोएको छ । कुमाउको वर्णन पनि छ । कैलास मानससरोवरको वर्णनले त मानसखण्ड भरिएको छ । मानसरोवरकै नामले यस क्षेत्रको नाम मानसखण्ड पर्न गएको हो । श्रावणमा गरिने कैलास मानससरोवरको यात्रा महाकाली पश्चिम किनार हुँदै कर्णालीको पूर्व किनार भएर गरिन्छ । यस आधारमा मानसखण्ड संहिताले गरेको छ ।

अन्य पुराणको पाठजस्तै मानसखण्ड संहिता पाठ गर्ने सुन्ने सुनाउने प्राचीन परम्परा रहेपनि प्रचलनमा थिएन । लोप हुन लागेको परम्परालाई पुनः स्थापित र प्रचारप्रसार गर्न मानस प्रज्ञापीठको स्थापना भयो । हाल मानसखण्ड विकास समाज नेपालका नामले उक्त संस्था सेवा दिइरहेको छ । ऐतिहासिक पुराण मानसखण्ड संहिताको अभिनव प्रयोग श्रावणमा पर्ने मानसव्रतको अवसरमा हालै गौरा मन्दिर कटान महेन्द्रनगर कञ्चनपुरद्वारा गरियो । श्रावण ५ देखि ७ गतेसम्म आयोजना गरिएको उक्त त्रिदिवसीय कार्यक्रममा हजारौ श्रद्धालुको उपस्थिति रहेको थियो । विभिन्न सञ्चारका माध्यमबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।

मानस पुराणलाई संगीतमय रुपमा प्रवचन गरिएको यो पहिलो अवसर हो । यस प्रकारको सफल कार्यक्रमले समाज एउटा नयाँ विचार दिएको छ । अब ठाउँठाउँमा मानसखण्ड संहिताको पाठ प्रवचन हुनुपर्छ । जसले समाजलाई स्थानीय धार्मिक क्षेत्रको पौराणिक वर्णनको महात्म्य बताउन सकियोस् । प्रचारप्रसार तथा प्रकाशनको कमीले मानसखण्ड प्रदेशका धार्मिक स्थलहरू ओझेलमा परेका छन् । साथै, शोधखोज गर्नेहरूले पनि यिनको पौराणिकताको चर्चा गर्दैनथे ।

सञ्चारमाध्यममा समेत पौराणिकताको चर्चा हुँदैनथ्यो । तर, यो मानसखण्ड संहिताको अभिनव प्रयोगले एउटा नयाँ उर्जा थपेको छ । राष्ट्रियता, मौलिकता, प्राचीनता र पौराणिकतामा समाजलाई डो¥याउने काम गरेको छ । म को हुँ ? हामी को हौ ? हाम्रो क्षेत्र के हो ? भनेर चिनाउन खोजेको छ । 


About Author
-आचार्य घनश्याम लेखक

लेखक कञ्चनपुर निवासी हुन् । उनी शिक्षणपेशामा संलग्न छन् । धार्मिक तथा आध्यात्मिक प्रवक्ता समेत रहेका लेखक मानसखण्डको पौराणिकताका ज्ञाता पनि हुन् । उनका आधा दर्जन कृतिमध्ये मानसखण्ड संहिता पछिल्लो हो ।