१४०६ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण १५ , १०:१९ बजे

 छाडा पशुचौपायाका कारण सडक यात्रुलाई सास्ती

Image

सुखड । पूर्वपश्चिम राजमार्गको पूर्व कर्णाली पुलदेखि पश्चिम गड्डचौकीसम्म ठाउँठाउँमा छाडा पशुचौपायाका हुल देखिन्छन् । महिनौंदेखि सडकमा पशुचौपायाका हुल हिडुडुल गर्ने गरेपनि दीर्घकालीन व्यवस्थापनका लागि कुनै निकायले ध्यान दिएका छैनन् ।

स्थानीय तह निर्वाचनमा छाडा पशुचौपाया व्यवस्थापन कार्य चुनावी मुद्दा बनेपनि निर्वाचित जनप्रतिनिधिले पशुचौपाया व्यवस्थापनमा ढिलाइ गरिरहेका छन् । जनप्रतिनिधि निर्वाचित भएको १ महिना हुनै लाग्दासम्म जनप्रतिनिधिले छाडा पशुचौपाया व्यवस्थापनमा कुनै ठोस निर्णय र कार्य गर्न सकेका छैनन् । कैलाली र कञ्चनपुरका विभिन्न सडक खण्डमा छाडा चौपायका कारण सडकमा हिँड्ने यात्रुलाई सास्ती थपिँदै गएको छ । दिनप्रतिदिन सडकमा छाडा चौपायाको संख्या बढ्दै गएसँगै सडकमा सवारी चालक तथा पैदल यात्रुलाई समस्या हुन थालेको छ ।

कैलालीका धनगढी, अत्तरिया, चौमाला, मसुरिया, सुखड, बौनिया, लम्की, चिसापानी, टीकापुर लगायका बजारमा रहेका मुख्य सडकमै सयौं छाडा पशुचौपाया सुतेका र हिडडुल गरिरहेका देखिन्छन् । कञ्चनपुरका गड्डाचौकी, सुकासाल, महेन्द्रनगर, सुडा, लालपुर, सिसैया, दैजी, झलारी, वाणी लगायतका बजार क्षेत्रमा समेत पशुचौपाया छाडा छाडिएका छन् । कैलालीको सुखड बजारमा सयौं छाडा पशुचौपाया रहेपनि व्यवस्थापनतर्फ घोडाघोडी नगरपालिकाले कुनै चासो नदिएको स्थानीय बिर्ख देउवाले बताए । छाडा पशुचौपाया नियन्त्रणको लागि कान्जी हाउस निर्माण गरेर जरिवाना गर्नेसम्मको अधिकार स्थानीय तहलाई छ ।

बजार क्षेत्रमा दिनभर डुल्ने छाडा चौपायाका कारण एकातिर दुर्घटनाको जोखिम भएको छ भने अर्कोतिर किसानले खेतबारीमा लगाएको तरकारी तथा अन्नबाली नोक्सानी भएको छ । ‘घोडाघोडी नगरपालिकाको मुख्य क्षेत्र सुखड बजार साडेपानी, डोकेबजार लगायतका क्षेत्रको व्यवस्थापनमा नगरपालिकाले कुनै ध्यान दिएको छैन,’ देउवाले भने । छाडा चौपायाले सखाप पारेपछि खेतमा लगाएको अन्नवाली मात्रै नभएर घरमा लगाएको तरकारी पनि खान नपाएको घोडाघोडी नगरपालिका–१ सुखडमा हरिलाल सापकोटाले गुनासो गरे । ‘बजारमा तरकारी पसल गरेर बसेका व्यापारीको तरकारी पनि खाएर दुःख दिने गरेका छन्,’ उनले भने, ‘छाडा चौपायाले दिउँसो बजार क्षेत्रमा आतंक मच्याउने र राति किसानको बाली नष्ट गर्ने गरेका छन् ।’

‘गाईले दुध दिने बेलासम्म गोठमा बाध्ने र दुध दिन छोड्ने बित्तिकै छाडा छोड्ने प्रवृतिले छाडा चौपायको संख्या वृद्धि भएको छ,’ सुखडका स्थानीय नरभुपाल काफ्लेले भने । सडकबीचबाट छाडा चौपाया आवतजावत गर्ने र बिच सडकैमै बस्ने गरेकाले दुर्घटना र जाम बढाएको छ । ‘साँघुरो सडक र छाडा चौपायाको विगविगीले हामीलाई सवारीसाधन चलाउन निकै समस्या पर्ने गरेको छ,’ धनगढीबाट काठमाडौं चल्ने बसका चालक नरसिंह रानाले भने ।

सडकसँगै जोडिएको क्षेत्रीय ट्राफिक कार्यालय अत्तरिया र विभिन्न स्थानमा रहेका इलाका प्रहरी कार्यालयले सडक यात्रालाई सहज बनाउन कुनै चासो दिएका छैनन् । सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय रहेको अत्तरिया, इलाका प्रहरी कार्यालय रहेका सुखड, बौनिया, लम्की, चिसापानी बजार क्षेत्रमै छाडा चौपायाको संख्या समेत धेरै रहेको छ । ‘सडकपेटीमा बस्न, खान र हिँड्ने गरेका गाईगोरुले आवतजावतमा अवरोध र सडक दुर्घटना बढाएका छन्,’ रानाले भने ।

बृद्ध पशुचौपाया सडकमा ल्याएर छोड्ने र गाडीको ठक्करबाट मार्ने संस्कार बढेको लम्कीका बुद्धिजीवी भूमबहादुर भण्डारी बताउँछन् । ‘साघुरो सडकमा गाडीमा ठोक्किएर पशुचौपाया मरेका र गन्ध आइरहन्छ,’ उनले भने, ‘यसरी आँखै अगाडि दुर्घटना देख्दा प्रहरी र नगरपालिकाले केही गरेन ।’ सडक छेउ र बिचको डिभाइडरमा दुबो पलाएकाले पशुले चरन क्षेत्र बनाएको उनले बताए । विगत १ हप्ताभित्र लम्की बजारको सडकमा गरी ४ वटा पशु गाडीको ठक्करबाट मरेका छन् । नगरवासीले घरका बूढा र रोगी गाईगोरु सडकमा छोड्ने चलन बढेको छ । तर, छाडा पशुचौपाया हटाउने उपाय र कान्जी हाउस नगरपालिकामा छैन । कतिपय पशुचौपायाले सडक जाम गर्ने, साइकल, मोटरसाइकल र रिक्साजस्ता सवारीसाधन पल्टाउने र ठोकेरै हिँड्ने गरेका छन् ।
घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले कान्जी हाउस र पर्याप्त स्रोतसाधन नहुँदा छाडा पशुचौपाया व्यवस्थित गर्न नसकिएको बताए । ‘छाडा चौपाया व्यवस्थित गर्ने विषयमा छलफल भएको छ,’ उनले भने,’ यस वर्षसम्म कान्जी हाउस बनाउने योजना रहकोे यसै वर्षबाट काम अगाडि बढाइन्छ ।’ सडक दुर्घटनामा मरेका पशुचौपाया फाल्दिन र हटाई दिन नगरवासीको खबर आउने गरेपनि स्रोतसाधनको अभावमा नगरपालिकाले काम गर्न सकेको नसकेको उनले बताए ।

ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक नैनसिंह साउँदले छाडा चौपायाले सडक व्यवस्थापन र ट्राफिक सहजतामा बाधा पुर्‍याउने गरेको बताए । ‘यो विषयमा हामी गम्भीर छौं,’ उनले भने, ‘नगरपालिकासँग समन्वय र सहकार्य गरेर नियन्त्रणको प्रयास थाल्छौं ।’ कान्जी हाउस लम्कीबाट नजिकै निर्माण हुने क्रममा रहेको र तत्कालका लागि नगर क्षेत्रमा माइकिङ गरेर पशुधनीलाई सचेत पार्ने उनले बताए । स्थानीय स्वायत्त शासन ऐन २०५५ को नियम (९६) मा छाडा पशु पक्राउ गरी लिलाम गर्ने व्यवस्था छ । छाडा पशुलाई पूर्ण रूपमा सडकबाट मुक्त पार्न सकिएको छैन । स्थानीय स्वायत्त शासन ऐनले छाडा पशु पक्राउ गरी लिलाम गर्ने अधिकार दिएपनि स्थानीय तहले प्रयास गरेका छैनन् ।